सदरमुकामको सम्पर्क कार्यालय बन्द

मुगु — सदरमुकाममा करिब एक वर्षअघि सञ्चालन गरिएको सोरु गाउँपालिकाको सम्पर्क कार्यालय बन्द भएको छ । सदरमुकामको सम्पर्क कार्यालय बन्द भएपछि सोमबारबाट सोरुकोटबाटै सेवा सञ्चालन भएको छ ।

सदरमुकामको सम्पर्क कार्यालय बन्द

गाउँपालिकाको कार्यालय कहाँ राख्ने भन्ने विवाद भएपछि जनप्रतिनिधिले निर्वाचित भएलगत्तै सदरमुकामबाट कामकाज गर्दै आएका थिए । बैंक अभावका कारण पनि कार्यालय सदरमुकाममै सञ्चालन गरिएको थियो । अहिले स्थानीयको घर भाडामा लिएर सोरुकोटबाट कामकाज सञ्चालन गर्न थालिएको गाउँपालिका अध्यक्ष लोकबहादुर शाहीले बताए ।

उनका अनुसार सोरुकोटमा राष्ट्रिय वाणिज्य बैंकको शाखा स्थापना भएपछि कार्यालय सारिएको हो । उनले अधिकांश जनप्रतिनिधि र कर्मचारी गाउँ फर्किएको जनाए । ११ वटै वडाबाट सेवा प्रवाहको तयारी भइरहेको छ । सबै विषयगत कार्यालयको काम गाउँबाटै गर्न तयारी थालिएको छ ।

एक वर्षपछि गाउँमा कार्यालय आएपछि स्थानीयवासी हर्षित भएका छन् । गाउँमै कार्यालय नहुँदा धैनकोट, फोतुनेर, भीई, नाथर्पुलगायत गाउँबस्तीका स्थानीयलाई सेवा लिन समस्या थियो । सोरुकोटमा प्रहरी चौकी, खाद्य डिपोलगायत कार्यालय यसअघि नै स्थापना भएकाले कार्यालय सारिएको अध्यक्ष शाहीले बताए ।

जिल्लाका सबै स्थानीय तहको काम सम्बन्धित क्षेत्रबाटै हुन थालेको छ । खत्याड गाउँपालिकाले गम्था, माझचौरमा र मुगमकार्मारोङ गाउँपालिकाले पुलुमा कार्यालय स्थापना गरेका छन् । जिल्लाका चार स्थानीय तहमध्ये मुगमकार्मारोङ गाउँपालिकामा अझै बैंक स्थापना हुन सकेको छैन ।

पुल नहुँदा सास्ती
सोरु गाउँपालिका जोड्ने कर्णाली नदीस्थित सिपमा पक्की पुल नहुँदा यातायात सेवा प्रभावित भएको छ । सदरमुकाम गमगढीदेखि रारा गिलाहसम्मको २१ किलोमिटर सडक निर्माण सम्पन्न भए पनि पुल नहुँदा समस्या भएको हो ।

पुलको समस्याले सवारीसाधनलाई सोरुकोट पुग्न समस्या भएको छ । गमगढीबाट गाडीहरू गिलाह, तारापानीसम्म मात्र जाने गरेका छन् । गाउँपालिकाको केन्द्रसम्म सडक विस्तार भए पनि पुलका कारण गाडी वारि नै रोकिने गरेको अध्यक्ष शाहीले बताए । उनले पुल निर्माणका लागि विभिन्न निकायमा माग गरिएको जनाए ।

प्रकाशित : आश्विन २, २०७५ ०९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?