घट्ट चलाउन ओडारको बास

विप्लव महर्जन

सल्यान — शारदा नगरपालिका–७, कजेरीका ५२ वर्षीय खौलु रेउलेको परिवारले जीविकोपार्जनका लागि ६ वर्षदेखि रतिमारेमा घट्ट सञ्चालन गरिरहेको छ । घट्ट र घर आउजाउ गर्न एक घण्टा बढी समय लाग्ने गरेकाले उनी ४५ वर्षीया पत्नी पठीसहित नजिकैको ओडारमा बस्दै आएका छन् ।

घट्ट चलाउन ओडारको बास

बिहानदेखि राति अबेरसम्म घट्ट सञ्चालन हुने गरेकाले आउजाउमा समस्या भएपछि रेउले दम्पतीको ओडारमै बास भएको हो । घट्टबाटै उनको परिवारको जीविका चलेको छ । घट्ट नजिकैको जमिनमा रेउले दम्पतीले तरकारी खेतीसमेत गरिरहेको छ ।

उनीहरू चाडपर्व र जरुरी कामका बेलामात्र घरमा जाने गरेका छन् । घट्ट र नजिकैको बारीमा लगाएको तरकारीको सुरक्षाका लागि आफूहरू ६ वर्षदेखि ओडारमा बसिरहेको रेउलेले बताए । ओडारको वरिपरि पर्खाल लगाएर कोठाको आकार दिइएको छ । ओडारमा दुई कोठा बनाएर बसिरहेको उनले जनाए । ‘वर्षाको समयमा पानी चुहिँदा समस्या छ,’ उनले भने, ‘घट्ट नजिकै लगाएको तरकारीबाली बाँदर र अन्य वन्यजन्तुले नष्ट गर्ने भएकाले पनि ओडारको बास भएको हो ।’

रेउलेको घरमा छोरा भुमबहादुर रेउलेको परिवार बस्दै आएको छ । उनीहरूबीच कुनै विवाद भने छैन । घरसल्लाह गरेरै आफूहरू ओडारमा बस्न आएको उनले जनाए । ओडारमा बस्दा घरमा बसेजस्तो नहुने पत्नी पठीले बताइन् । ‘केही समस्या छ नै,’ उनले भनिन्, ‘पूरै परिवारको जीविका चलाउन घट्ट र तरकारीको सुरक्षाका लागि ओडारमा बस्नुपरेको हो ।’

उनले दु:खजिलो गरेर आफूहरू ओडारमा बस्दै आएको बताइन् । गाउँभरका सबै घरधुरीले उनीहरूको घट्टमा मकै, गहुँ, जौलगायत खाद्यबाली पिस्ने गरेका छन् । परम्परागत घट्ट भए पनि बाह्रै महिना सञ्चालन हुने गरेको रेउलेले बताइन् । उनका अनुसार ओडारमा बस्दा जंगली जनावर र सर्पको खतरा हुने गरेको छ । लामो समदेखि ओडारमा बसेकाले बानी परिसकेको उनको भनाइ छ ।

ओडारमा बस्दा समेत आफूहरू सन्तुष्ट रहेको रेउलेले बताए । उनले आफन्त र छोराबुहारी बेला बेलामा भेटघाटका लागि ओडारमै आउने गरेको बताए ।

प्रकाशित : आश्विन २, २०७५ ०९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?