१४.०६°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

पुल निर्माण अलपत्र

विप्लव महर्जन

सल्लीबजार — चौरजहारी सडक खण्डअन्तर्गत वन्गाडकुपिण्डे नगपालिकाको त्रिवेणीबजार नाथेखोलामा निर्माणाधीन पक्की पुल अलपत्र परेको छ । तीन वर्षअघि निर्माण सुरु भएको पुल २०७४ पुस मसान्तसम्म सम्पन्न गर्नुपर्ने सम्झौता थियो ।

पुल निर्माण अलपत्र

सडक डिभिजन कार्यालयले चार करोड १७ लाख रुपैयाँ लगानीमा हरिहरि कन्स्ट्रक्सनलाई निर्माणको जिम्मा दिएको थियो । डिभिजन कार्यालयले पटकपटक म्याद थप्दा पनि निर्माणको कामले अझै गति नलिएको हो । अहिलेसम्म ३० प्रतिशत मात्र काम सकिएको कार्यालयले जनाएको छ ।


पुल अलपत्र परेपछि सल्लीबजार–चौरजहारी सडकमा चल्ने यातायातका साधन सञ्चालनमा समस्या भएको छ । पुलकै कारण यातायात सेवा अवरुद्ध भएपछि यात्रुहरू सास्ती भोग्न बाध्य छन् । समयमै ठेकेदार कम्पनीले काम गर्न नसक्दा असारदेखि सडक अवरुद्ध भएको स्थानीय दलबहादुर परियारले बताए ।

उनका अनुसार सडक अवरुद्ध भएपछि स्थानीयवासी घन्टौं पैदलयात्रा गर्न बाध्य छन् । स्थानीयका अनुसार हरिहरि कन्स्ट्रक्सनका ठेकेदार हरिबहादुर रावतको लापरबाहीले पुल निर्माणको काम अलपत्र परेको हो । ठेकेदारले थोरै मजदुर लगाएर काम गर्दा पुलको सेटिङको कामले तीव्रता पाउन सकेको छैन ।
आवश्यक अधिकांश सामग्री निर्माणस्थलमा पुग्न सकेको छैन । वन्गाड खोलाकै कारण चौरजहारी सडक वर्षायाममा बर्सेनि अवरुद्ध हुने गरेको छ । स्थानीय नरबहादुर खड्काले पुल निर्माण समयमै नहुँदा स्थानीयले लामो समयदेखि सास्ती भोग्नुपरेको बताए । पुल निर्माणमा भएको ढिलाइका कारण सल्यान र रुकुमको पश्चिम र उत्तरी भेगका बासिन्दा बढी मर्कामा परेको उनको भनाइ छ ।

समयमै काम गर्न खोज्दा पनि जग्गाधनीले विवाद गरेका कारण समस्या भएको ठेकेदार रावतले दाबी गरे । उनका अनुसार केही महिनादेखि वर्षाका कारण काम रोकिएको हो । कामको लागि आवश्यक सामग्री खरिद गरेर पुल निर्माणस्थलमा छिट्टै लैजाने तयारी गरेको उनको भनाइ छ । ‘नजिकैको झोलुंगेपुल नहटाउँदा पनि पुल निर्माणमा केही समस्या भएको छ,’ उनले भने, ‘झोलुंगेपुल हटाउन जिल्ला समन्वय समितिमा निवेदन दिएको छु ।’ उनका अनुसार आसपासको माटो हटाउँदा झोलुंगेपुल खस्ने खतरा छ । ठेकेदार कम्पनीलाई बारम्बार ताकेता गर्दै आएको डिभिजन प्रमुख बद्रीप्रसाद शर्माले बताए । ठेकेदारले अहिलेसम्म ३० प्रतिशत मात्र काम सम्पन्न गरेको उनको भनाइ छ ।

कालोपत्रेमा ढिलाइ
पक्की पुलका साथै उक्त सडकको आमखोलीदेखि नाथेखोलासम्मको पाँच किलोमिटर कालोपत्रेको काममा ढिलाइ भएको छ । ठेक्का सम्झौता भएको एक वर्ष बित्दासमेत आधा काम हुन नसकेको स्थानीयको भनाइ छ । स्थानीयका अनुसार सडक चौडा पार्ने, नाली, जाली, हयुमपाइपलगायत काम अझै हुन सकेको छैन ।
११ करोडको लगानीमा सडक कालोपत्रेको जिम्मा सिग्मा गाल्वा कन्स्ट्रक्सनलाई दिइएको छ । सडक डिभिजन कार्यालय, दाङ र कन्स्ट्रक्सनका नरहरि थपलियाबीच ३३ महिनामा काम सम्पन्न गर्ने गरी २०७४ साउनमा सम्झौता भएको थियो । थपलियाले ४९ लाख पेस्की बुझेर कामको जिम्मा पेटी ठेकेदार रामबहादुर विष्टलाई दिएका छन् ।

प्रकाशित : आश्विन ३, २०७५ १०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?