१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

संविधान दिवस : कहीँ मर्यादा विवाद, कहीँ रौनक

कालिकाेट/सुर्खेत — संंविधान दिवस मनाउने क्रममा मर्यादामा विवाद भएपछि कालीकोटमा कांग्रेस, राप्रपा र नेमकिपाले मञ्च बहिष्कार गरेर छुट्टै कार्यक्रम गरेका छन् । जिल्ला समन्वय समितिले आयोजना गरेको कार्यक्रम बहिष्कार गरेपछि उनीहरूले प्रतिमाचोकमा छुट्टै कोणसभा गरे ।

संविधान दिवस : कहीँ मर्यादा विवाद, कहीँ रौनक

दिवसका अवसरमा जिसस अगाडिको खुलामञ्चमा कार्यक्रम आयोजना गरिएको थियो । सरकारी कार्यालयका प्रमुखपछि आफूहरूलाई आसनग्रहण गराइएको भन्दै दलका नेताले कार्यक्रम बहिष्कार गरेका हुन् । कांग्रेस सभापति हर्षबहादुर बम, नेताहरू दमन शाही, नन्द शाही, नेमकिपाका केन्द्रीय सदस्य नन्दबहादुर शाही, राप्रपाका उपाध्यक्ष लालबहादुर मल्ल, सत्यबहादुर शाहीलगायत मञ्चमै पुगेर विरोध गर्दै मञ्चबाट बाहिरिएका थिए ।

मञ्चमै प्रमुख अतिथिका लागि पनि विवाद भएको थियो । पूर्वसभासद तुलाराज विष्टले आफूलाई प्रमुख अतिथि नबनाए बहिष्कार गर्ने चेतावनी दिएपछि उनलाई नै बनाइएको थियो । जिसस प्रमुख अनिपाल शाहीले मर्यादाक्रमको १५ औं नम्बरमा आफू पर्ने भएकाले प्रमुख अतिथिको दाबी गरेका थिए । विवाद हुन थालेपछि उनी चुप लागेका थिए ।

आसन ग्रहणका क्रममा तलमाथि भएको भन्दै आयोजकले माफी मागे पनि असन्तुष्टले छुट्टै कार्यक्रम गरेका हुन् । दिवसका अवसरमा सरसफाइ, र्‍याली, दीपावली र अतिरिक्त गरी तीन दिनसम्म मनाउने जिससले निर्णय गरेको थियो । बुधबार खाँडाचक्रस्थित जिरोप्वाइन्टबाट सुरु भएको र्‍यालीले बाजागाजा र हुड्के नाचसहित बजार परिक्रमा गरेको थियो ।

असन्तुष्ट दलका नेता पहिले र्‍यालीमा बाजा बजाएका व्यक्तिलाई नै पञ्चेबाजा बजाउन लगाएर राष्ट्रिय झण्डासहित प्रतिमाचोकमा पुगेका थिए । उनीहरूले जिससको विरोध गर्दै त्यही कोणसभा गरेका हुन् ।

जिल्ला बार अध्यक्ष हिक्मतबहादुर विष्ट, बार सचिव दमनराज बमले मूल समारोह समितिले आयोजना गरेको मञ्चमा मन्तव्य व्यक्त गरे । बमले बहिष्कार गरेर आएका पक्षले आयोजना गरेको सभामा पुन: भाषण गरे । जनप्रतिनिधिले मनपरी गरेकाले छुट्टै सभा गरेको कांग्रेस सभापति बमले बताए । पूर्वजिविस सभापति सत्यबहादुर शाहीले जिससले अधिकारको दुरुपयोग गरेको आरोप लगाए ।

नेमकिपा केन्द्रीय सदस्य शाहीले राष्ट्रिय दिवसमा जिससको मनपरी नचल्ने बताए । यसैबीच, जिल्लाका स्थानीय तहले गाउँमा संविधान दिवस मनाएका छन् । तिलागुफा नगरपलिकाले नगरस्तरीय सभा गरेर दिवस मनाएको प्रमुख रतनबहादुर शाहीले बताए । रास्कोट नगरपालिका र नरहरिनाथ गाउँपालिकाले पनि संविधान दिवसका अवसरमा औपचारिक कार्यक्रमको आयोजना गरे ।

राउटेको रौनक
सुर्खेतमा कर्णाली प्रदेश सरकारले पहिलोपटक आयोजना गरेको संविधान दिवसमा फिरन्ते राउटे समुदायसमेत सहभागी भएका छन् । मुखिया वीरबहादुर शाहीको नेतृत्वमा वीरेन्द्रनगर आएका १५ जना राउटेको समूहले परम्परागत नृत्य देखाए ।परिचयपत्र लिएर दैलेखको गुराँस गाउँपालिका–८ बस्दै आएका राउटेहरू संविधान दिवस मनाउनकै लागि सुर्खेत झरेका हुन् । उनीहरूलाई गुराँस गाउँपालिका र स्थानीय गैसस सामाजिक सेवा केन्द्रले समारोहमा सहभागी गराएको हो ।

राजनीतिक माहोलदेखि टाढै बस्न रुचाउने राउटे समुदाय बुधबार संविधान दिवसमा सबैको नजरमा परे । राउटे मुखिया वीरबहादुरले आफूहरूलाई प्रदेश सरकारले कपडा र चामलको व्यवस्था गर्न माग गरे । ‘मन्त्रीज्यूलाई भेटेर कुरा गर्छौं, परिचयपत्र र भत्ता दिएर मात्र पुग्दैन,’ उनले भने, ‘जंगलमा चामल पाइँदैन, सरकारले नै बस्तीसम्मै पुर्‍याइदेओस् ।’ प्रदेश सरकारका मन्त्रीहरूलाई भेटेरमात्रै बस्तीमा फर्कने उनले बताए ।

समारोहमा दक्षिण एसियाकै लोपोन्मुख राउटेसँगै कर्णालीका अल्पसंख्यक थारू समुदायले मौलिक संस्कृति झल्किने झाँकी प्रदर्शन गरेका थिए । कर्णाली प्रदेशको सुर्खेत उपत्यकामा मात्रै थारू समुदायको बसोबास छ ।

संविधान दिवसमा अवसरमा आयोजित समारोहमा प्रदेश प्रमुख दुर्गाकेशर खनाल, कार्यवाहक मुख्यमन्त्री एवं आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीलगायत प्रदेश सरकारका मन्त्रीहरू, प्रदेश सांसद, स्थानीय जनप्रतिनिधि, कर्मचारी, शिक्षक तथा विद्यार्थीको सहभागिता थियो । समारोहमा प्रदेश आन्दोलनका सहिदका परिवारलाई दोसल्ला ओढाएर सम्मान गरियो ।

कार्यवाहक मुख्यमन्त्री भण्डारीले संविधानको पूर्ण कार्यान्वयनबिना ‘सुखी नेपाली, समृद्ध नेपाल’ बन्न नसक्ने बताए । संविधान दिवसकै अवसरमा प्रदेश प्रमुख दुर्गाकेशर खनाल र मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शुभकामना वक्तव्य जारी गरेका थिए ।

प्रकाशित : आश्विन ४, २०७५ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?