जथाभावी सडक खन्दा पहिरो

हरि गौतम

रुकुम पश्चिम — साउन ३० गते मुसीकोट नगरपालिका–१२ मा पर्ने राप्ती लोकमार्गमा पहिरो खस्दा एक एम्बुलेन्स र एक हाइस गाडी पुरिए । बैरागीठाँटीबाट भलाक्चाको गाउँ उक्लिन बनाइएको उक्त सडकमा अहिले पनि पहिरोले उत्तिकै सास्ती दिइरहेको छ ।

जथाभावी सडक खन्दा पहिरो

आठबीसकोट नगरपालिका–११, धुर्सेनीमा पहिरोले घरबारी बगाएपछि दर्जन घरपरिवार विस्थापित जीवन बिताइरहेका छन् ।

यी दुई ठाउँमा पहिरो आउनुको प्रमुख कारण भनेकै जथाभावी रूपमा खनिएको सडक हो । सडक निर्माणमा डोजर र एक्साभेटरको मनलाग्दी प्रयोगबाट जिल्लाका अन्य स्थानमा पनि यसरी नै पहिरो पीडा दिइरहेको छ । सबै ठाउँमा सडक सञ्जाल पुर्‍याउने नाउँमा वातावरणीय प्रभाव मूल्यांकन, सर्भेलगायत मापदण्डको बेवास्ता गरेर बनाइएको सडकबाट सर्वसाधारण जोखिममा परेका छन् ।

यसरी खनिएका सडक बर्खामा चल्दैनन्, बरु पहिरोको स्रोत बन्छन् । पहिरोले यस वर्षको बर्खामा मात्रै जिल्लाभर झन्डै ३० करोडको क्षति भएको जिल्ला विपद व्यवस्थापन समितिको अनुमान छ । त्योमध्ये आधा क्षति जथाभावी सडक निर्माणले भएको समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले बताए ।

मुसीकोट नगरपालिका–९ मा दुईवटा स्थानीय सडक छन् । ती सडककै कारण १३ घर पहिरोको उच्च जोखिममा परेका वडाध्यक्ष नवीन ओली बताउँछन् । उनका अनुसार २२ घर परिवारको मकैसहितको जग्गा पुरिएको छ । ‘सडक निर्माणले विकास त भएको छ, विनाशलीला पनि निम्त्याइरहेको छ,’ उनले भने, ‘गाउँ–गाउँमा सडक पुर्‍याउँदा भिरालो क्षेत्रमा बढी क्षति हुने गरेको छ ।’ डोजर र एक्साभेटरले सडक बनाउँदा त्यसको कम्पनले समेत बस्तीलाई असर पार्ने गरेको उनले बताए ।

यही कारण चौरजहारी नगरपालिकाले अत्यावश्यकबाहेक डोजर प्रयोग गर्न नपाइने निर्णय गरेको छ ।

नगरपालिका क्षेत्रमा यस वर्ष जथाभावी खनिएका सडककै कारण पहिरो जाँदा करिब चार करोड रुपैयाँ बराबरको क्षति भएको छ । ‘पहिरो र त्यसले गरेको क्षति हेर्दा सबैमा डोजर र एक्साभेटर कारक देखिए,’ नगर प्रमुख विशाल शर्माले भने, ‘त्यसैले डोजर र एक्साभेटरमार्फत सडक, घर तथा भवनका घडेरी निर्माणमा कडाइ गरिएको छ ।’

मुसीकोट नगरपालिकाले पनि आवश्यकताको आधारमा मात्रै सडक निर्माण गर्ने र क्षति न्यूनीकरणमा जोड दिएको छ । ‘हामी यसप्रति निकै सचेत छौं,’ नगर प्रमुख देवीलाल गौतमले भने, ‘विकास निर्माण गर्दा त्यसबाट हुने विनाशलाई कम गर्ने गरी काम गर्ने मान्यता कायम गर्न खोजिएको छ ।’

प्रकाशित : आश्विन ४, २०७५ १०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?