२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

सामुदायिक विद्यालयमा अंग्रेजी पढाइ

विप्लव महर्जन

सल्यान — जिल्लाका सामुदायिक विद्यालयले अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गरेपछि शैक्षिक गुणस्तर बढ्दै गएको छ । अंग्रेजी माध्यमबाट पठनपाठन सुरु भएपछि सामुदायिक विद्यालयमा विद्यार्थी संख्या बढेको छ ।

सामुदायिक विद्यालयमा अंग्रेजी पढाइ

अधिकांश स्थानमा निजी विद्यालय छोडेर बालबालिका सामुदायिक विद्यालयमा फर्किएका छन् ।

सामुदायिकको गुणस्तर बढेपछि अहिले जिल्लामा धमाधम निजी विद्यालय बन्द हुने क्रम बढेको छ । मूलडाँडास्थित शिव माध्यमिक विद्यालयले अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गरेपछि विद्यार्थी संख्या ८० बाट बढेर दुई सय ८० पुगेको छ । ढोडचौर गाउँपालिकाको कालालेखस्थित देउराली माविले अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गरेपछि शैक्षिक गुणस्तर बढ्दै गएको जनाएको छ ।

चालु शैक्षिक सत्रदेखि सदरमुकामस्थित शारदा नगरपालिकाका ५७ मध्ये ५३ विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन सुरु भएको छ । शारदाका अधिकांश विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन सुरु भएपछि जिल्लाका अन्य ९ स्थानीय तहले पनि अंग्रेजीमै जोड दिन थालेका छन् । विद्यार्थी अभावमा बन्द हुने र समायोजन गर्नुपर्ने अवस्थामा पुगेका विद्यालयमा समेत अंग्रेजी माध्यम सुरु भएपछि निजीबाट विद्यार्थी सामुदायिकमा फर्किएका छन् ।

यहाँका डेढ दर्जन विद्यालयले निजी स्रोतमै शिक्षक भर्ना गरेर अंग्रेजीमार्फत पठनपाठन गराइरहेको जनाएका छन् । केही विद्यालयले आफ्नै स्रोतमा अंग्रेजी माध्यमका पाठ्य पुस्तक र निजीसरह टाइ–बेल्टको व्यवस्था गरेका छन् ।

शारदा नगरपालिकाका शिक्षा संयोजक वीरबहादुर सेजुवालले विद्यालयमा नर्सरीदेखि कक्षा ५ सम्म अंग्रेजी माध्यमबाट पठनपाठन भइरहेको बताए । उनले क्रमश: कक्षा वृद्धि गर्दै लगिने जनाए । उनका अनुसार नगरपालिकाले अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गरेका विद्यालयलाई नि:शुल्क पाठ्य पुस्तक वितरण गरेको थियो । अहिले बालबालिकाको पढाइका लागि अभिभावकको चासो बढ्दै गएको उनले बताए ।

अंग्रेजीका कारण विद्यार्थीको नियमितता बढ्दै गएको त्रिजमावि लुहापिङका प्रधानाध्यापक माधब जिसीले बताए । ‘अंग्रेजी सुरु गरेपछि यो वर्ष विद्यार्थी तीन सय बढेका छन्,’ उनले भने, ‘त्यसमध्ये दुई सय विद्यार्थी निजीबाट फर्किएका हुन् ।’ उनका अनुसार विद्यालयमा ६ सय विद्यार्थी अध्ययनरत छन् । पढाइमा सुधार आएपछि बाह्य सहयोग जुटेको उनको भनाइ छ ।

शिव मावि मूलडाँडाका प्रधानाध्यापक डिल्ली हमालले अभिभावकको चाहनाले विद्यालयकै स्रोतमा अंग्रेजी सुरु गरिएको जनाए । ‘पहिले तीन सयमात्र विद्यार्थी थिए, अहिले झन्डै ६ सय विद्यार्थीले अध्ययन गरिरहेका छन्,’ उनले भने, ‘अहिले विद्यार्थीको शैक्षिक गुणस्तर, नियमितता र गृहकार्य गर्ने क्रम बढेको छ ।’ उनले विद्यार्थीको चाप बढेपछि कोटा लागू गरेर पठनपाठन भइरहेको बताए ।

पछिल्लो समय सामुदायिक विद्यालयको एसईई नतिजा सुध्रँदै गएको शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख लिलाधर बबालले बताए । ‘अंग्रेजीकै कारण शिक्षण सिकाई प्रभावकारी हुन थालेको छ,’ उनले भने, ‘विद्यार्थीको पठनसीपको विकास भइरहेको छ ।’ उनका अनुसार अधिकांश स्थानीय तहले अंग्रेजी माध्यमको पठनपाठनलाई महत्त्व दिएका छन् । स्थानीय तह गठन हुनुअघि जिल्लाका १८ विद्यालयले मात्र अंग्रेजीमा पठनपाठन गराएको इकाईले जनाएको छ । इकाईका अनुसार जिल्लाभर चार सय ५८ विद्यालय छन् । सबै विद्यालयले अंग्रेजी माध्यमप्रति चासो देखाएको बबालले जनाए ।

जिल्लाका १० स्थानीय तहमध्ये शारदा नगरपालिकाका ५३, बाग्चौर नगरपालिकाका ६ र कपुरकोटका तीन विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन भइरहेको छ । कालीमाटीले एक, ढोडचौरले दुई, दार्माले एक र त्रिबेणीले ६ विद्यालयमा अंग्रेजी माध्यम सुरु गरेका छन् ।

अन्य स्थानीय तहले पनि सामुदायिकको गुणस्तर बढाउन पहल गरिरहेका छन् । कालीमाटी गाउँपालिकाले प्रत्येक वडाका तीन विद्यालयमध्ये एकमा अंग्रेजी माध्यमबाट पठनपाठन गराउने तयारी सुरु गरेको जनाएको छ । अधिकांश स्थानीय तहले गुणस्तरीय पठनपाठनका लागि विभिन्न शीर्षकमा बजेट विनियोजन गरेको जनाएका छन् ।

प्रकाशित : आश्विन ४, २०७५ १०:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?