१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

खेतबारी जोत्न आधुनिक मेसिन

विप्लव महर्जन

सल्यान — जिल्लामा खेतबारी जोत्न आधुनिक मेसिनको प्रयोग बढ्दै गएको छ । व्यावसायिक खेतीका लागि मेसिनको प्रयोग सस्तो र भरपर्दो हुन थालेपछि किसानको माग बढेको छ ।

खेतबारी जोत्न आधुनिक मेसिन

गतवर्ष जिल्ला कृषि विकास कार्यालयले किसानलाई अनुदानमा करिब दुई सय मेसिन उपलब्ध गराएको थियो । अन्नबाली भित्र्याउँदा समेत किसानले मेसिन प्रयोग गर्ने क्रम बढ्दै गएको हो । व्यापारिक केन्द्र आसपासका किसानले व्यक्तिगत लगानीमै मेसिन ल्याएर खेतबारी जोत्ने गरेका छन् ।

कपुरकोट, लुहाम, कालीमाटी, भोटेचौर, बरला, श्रीनगर, लान्ती र थारमारेलगायत खेतीयोग्य जमिन धेरै भएका ठाउँमा मेसिनको प्रयोग बढिरहेको छ । जिल्लामा व्यावसायिक तरकारी खेती गर्नेले बढी मेसिनको प्रयोग गरिरहेका छन् ।

बन्गाड कुपिण्डे नगरपालिका–१ आमखोलीका कृषक टोपबहादुर बुढाक्षत्रीले दुई वर्षदेखि खेतबारी जोत्न मेसिनको प्रयोग गर्दै आइरहेको बताए । ‘पाँच वर्ष अघिसम्म घरमा गोरु पाल्नैपर्ने बाध्यता थियो, गोरु नभए खेतबारी बाँझै रहन्थ्यो,’ उनले भने, ‘मेसिनमार्फत जोत्दा समय र खर्चको बचत भएको छ ।’ उनले उत्पादन समेत राम्रो भएपछि समूहमार्फत ल्याएको मेसिनको सहायताले खेती गर्दै आइरहेको बताए ।

उनका अनुसार गाउँमा अधिकांशले गोरु पाल्न छोडेका छन् । पाँच रोपनी जग्गामा व्यावसायिक तरकारी खेती गरिरहेका उनले अन्नबाली लगाउने जग्गा पनि मेसिनले जोत्दै आएको जनाए । उनका अनुसार मेसिनले जोत्दा जनशक्ति पनि कम चाहिने भएकाले सजिलो भएको छ । आधुनिक मिनिट्ेरलरको प्रयोग गरी खेतबारी जोत्न थालेपछि खेतीयोग्य जमिन थप उब्जाउ हुन थालेको बुढाक्षत्रीको भनाइ छ ।

छत्रेश्वरीका किसान घनश्याम भण्डारीले गाउँमा अधिकांश युवा कामका लागि विदेशमा जाने गरेकाले पनि मेसिनको प्रयोग बढिरहेको बताए । ‘गाउँमा खेतबारीमा काम गर्ने मानिस पाउने गाह्रो छ,’ उनले भने, ‘पशुपालन पनि करिब–करिब हराइसक्यो, त्यसैले गाउँमा पनि खेत जोत्ने मेसिन भित्रिएका छन् ।’ उनका अनुसार गोरुले तीन/ चार दिनमा जोत्ने खेत मेसिनको प्रयोगले दुई/तीन घण्टामै जोत्न सकिन्छ । विभिन्न निकायले कृषक समूहलाई अनुदानमा वितरण गरेका मेसिन किसानले भाडामा प्रयोग गर्ने गरेका छन् ।

वर्षैभरि स्याहारसुसार गर्नुपर्ने भएपछि किसानले गोरुपालन छोड्दै गएका छन् । ‘वर्षभरि गोरु पाले पनि खेती लगाउँदा मात्र काम हुन्छ,’ उनले भने, ‘त्यसैले गोरुपालनमा किसानको रुचि कम छ ।’ गाईगोरु नपाल्दा मलको अभाव भने देखिएको उनी बताउँछन् ।

धेरै भिरालो जमिन गोरुले जोत्न समस्या थियो । मेसिन जता पनि पुग्ने र वर्षौंदेखिको बाँझो जग्गा पनि जोत्न सकिने भएकाले सजिलो भएको उनले बताए । मेसिनको प्रयोग भएपछि किसानले बाँझो जग्गालाई बारी बनाउन थालेको उनले जानकारी दिए । ‘मेसिनका कारण किसानको दु:ख कम भएको छ,’ उनले भने ।

प्रकाशित : आश्विन ५, २०७५ १०:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?