२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

सदरमुकाममै लेखापरीक्षण

हरि गौतम

रुकुम पश्चिम — जिल्लाका सबै स्थानीय तहको लेखापरीक्षण सदरमुकामबाटै भइरहेको छ । लेखा परीक्षणका लागि सदरमुकाम पुगेका महालेखा नियन्त्रकको कार्यालयका प्रतिनिधिले कोष तथा लेखा नियन्त्रकको कार्यालयमा डोरमुकाम स्थापना गरेर लेखापरीक्षण गरिरहेका हुन् ।

सदरमुकाममै लेखापरीक्षण

जिल्लामा रहेका बिभिन्न कार्यालयको लेखा परीक्षण गरेको उक्त टोलीले स्थानीय तहका कर्मचारीलाई सदमुकाम डाकेको हो । स्थानीय तहका कर्मचारी लेखाका सबै स्रेस्ता बोकेर सदरमुकाम आएका छन् । बाहिर रहेका कार्यालय तथा स्थानीय तहलाई लेखा परीक्षण गर्न सदरमुकाम आउनुपर्ने बाध्यता सहितको पत्र पठाइएको थियो ।

कार्यालयका स्रेस्ता लामो समय हिडाउँदा हराउने र पानीमा भिज्ने जोखिम रहेको जनप्रतिनिधिको भनाइ छ । सबै अधिकार गाउँमा गइसके पनि महालेखा नियन्त्रकको कार्यालयले स्थानीय सरकारलाई बेवास्ता गरेको स्थानीय तहका प्रमुखले जनाएका छन् ।

चौरजहारी नगरपालिका प्रमुख विशाल शर्माले महालेखा नियन्त्रकको कार्यालयका प्रतिनिधिलाई नगरपालिकामै आएर लेखा परीक्षण गर्न आग्रह गर्दा सुनुवाई नभएको बताए । ‘सबै अधिकार स्थानीय सरकारमा छ भनिएको छ,’ प्रमुख शर्माले भने, ‘हामी त्यसको अभ्यासमा पनि छौं, तर एउटा सरकारको भएभरका स्रेस्ता बोकेर जिल्ला धाउनुपर्ने बाध्यता आइपरेको छ ।’ लामो समयसम्म लेखा परीक्षण नगरमै गराउने अडान राखिए पनि सफल नभएको उनले गुनासो गरे ।

कोष तथा लेखा नियन्त्रण कार्यालयका कोष नियन्त्रक ईश्वरीप्रसाद ढकालले महालेखा नियन्त्रक कार्यालयको नीति स्थानीय तहमा गएर लेखा परीक्षण नगर्ने रहेको बताए । महालेखा नियन्त्रकको कार्यालयले लेखा परीक्षणका लागि सदरमुकाममै बोलाइदिन भनेपछि चिठी लेखेरै जिल्लामा आउन भनिएको ढकालले जनाए । जिल्ला समन्वय समिति, जिल्ला प्रशासनसँग छलफल गरेर जिल्लामा डोरमुकाम कार्यालय राख्ने निर्णय भएको उनले जानकारी दिए ।

लेखा परीक्षणका लागि टोलीको नेतृत्व गरेर जिल्ला पुगेका महालेखा नियन्त्रक कार्यालयका निर्देशक प्रमोद खत्री भने काठमाडौं फर्किसकेका छन् । आफू बिरामी भएपछि काठमाडौं फर्किएको र अन्य कर्मचारीले लेखा परीक्षणको काम गरिरहेको उनले टेलिफोनमा बताए ।

लेखा परीक्षण गर्नुपर्ने समय छोटो भएकाले र अधिकांश स्थानीय तहमा यातायात सुविधा नपुगेका कारण सदरमुकाममै काम भइरहेको उनको दाबी छ । ‘स्थानीय तहमा नजाने भन्ने त होइन, यातायात समस्याका कारण टोलीले सदरमुकामबाटै काम गरेको हो,’ खत्रीले भने । उनले जिल्लाका सबै निकाय तथा स्थानीय तहसँग समन्वय गरेर लेखा परीक्षण गरिएको दाबी गरे ।

प्रकाशित : आश्विन ५, २०७५ १०:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?