फापर छाडेर तरकारी

मुगु — छायानाथ–रारा नगरपालिका–३, हेन्निकाँधका महिलाहरू व्यावसायिक तरकारी खेतीमा आकर्षित भएका छन् । राम्रो आम्दानी हुन थालेपछि अन्नबाली छोडेर तरकारी खेतीमा आकर्षित भएका महिलाको जीवनस्तरमा पनि सुधार आएको छ ।

फापर छाडेर तरकारी

हेन्निकाँधकी रामदेवी बुढाले तीन वर्षअघि अन्नबाली छोडेर तरकारी खेती सुरु गरेकी हुन् । उनको बारीमा नियमित मौसमी तथा बेमौसमी जातका तरकारी फलिरहेका छन् । आलु, फर्सी, मुला, खुर्सानी, भ्यान्टा, लौका, सिमी, टमाटरलगायत तरकारी खेतीबाट राम्रो आम्दानी हुन थालेपछि उनले कोदो, कागुनो, फापरलगायत खाद्यबालीको खेती छोडेकी हुन् ।

तरकारीबाटै मासिक ३५ हजारसम्म कमाइ गर्ने गरेको उनको भनाइ छ । ‘तीन वर्ष अघिसम्म बालबच्चा पढाउन र दैनिक गुजारा टार्न मुस्किल हुने गरेको थियो,’ उनले भनिन्, ‘अहिले घरखर्च राम्ररी टरेको छ । नियमित रूपमा बचतसमेत गरिरहेकी छु ।’ छोराछोरीलाई बोर्डिङमा पढाएर सहकारीमार्फत ऋण परिचालन गरिरहेको उनले जनाइन् ।

स्थानीय चल्लिसरा बुढाले पनि तरकारीबाट आफूहरूको जीवनस्तर सुधँ्रदै गएको बताइन् । उनले मासिक रूपमा ३० हजारसम्म कमाइ गर्छिन् । उनले तरकारी खेती भएको आम्दानीबाटै सदरमुकाममा एक कट्ठा घडेरी किन्न सफल भएको बताइन् । ‘बाह्रै महिना तरकारी फलाएर बिक्री गर्दा हाम्रो जीवनशैलीमा सुधार भयो,’ उनले भनिन्, ‘नियमित रूपमा रकम बचतसेमत गर्न थालेका छौं ।’ उनले २३ जना महिलाले समूह बनाएर तरकारी खेती गर्दै आइरहेको जनाइन् ।

तरकारी खेतीका कारण बालबालिकामा कुपोषणको समस्या घट्दै गएको शिक्षक रंगबहादुर कार्कीले बताए । हेन्निकाँधका महिला बिहानदेखि बेलुकासम्मै तरकारी बारीमै व्यस्त हुने गरेका छन् । बिहानै डोकोमा बोकेर गमगढी बजार पुर्‍याएर बिक्री गर्ने गरेको महिलाको भनाइ छ । स्थानीयवासी तरकारी खेतीमा लागेपछि गाउँ नै तरकारीमय भएको छ ।

तरकारीले स्थानीयवासीको जीवनस्तर बदलिएको कृषि विकास कार्यालयका योजना अधिकृत रामसुरत पालले बताए । उनका अनुसार जिल्लामै उत्पादित तरकारीले यहाँको माग धानेको छ । तरकारी खेतीबाट भएको कमाइ सार्वजनिक काममा पनि खर्चिने गरेको बुढाले बताइन् । गाउँमा सार्वजनिक चौतारी, पानी, विद्युतलगायतका विकास निर्माणका काममा पनि तरकारी खेतीको रकम सहयोग गर्न थालिएको स्थानीय सत्यरूपा कार्कीले बताइन् ।

छायानाथ रारा नगरपालिकाको कार्कीबाडा, कालापाल्त, ताल्चा, तलितुम, माथितुमका महिलाले हेन्निकाँधको तरकारी उत्पादनको सिको गर्न थालेका छन् । कार्यालयका अनुसार हेन्निकाँध, निगाले, ताल्चा, कालापाल्तलगायत गाउँको करिब ३० हेक्टर जमिनमा तरकारी खेती गरिएको छ । ती गाउँबाट वार्षिक ३० मेट्रिक टन तरकारी उत्पादन हुने गरेको कार्यालयले जनाएको छ ।

प्रकाशित : आश्विन ५, २०७५ १०:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?