कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मार्सी खोज्दै जुम्ला

एलपी देवकोटा

जुम्ला — यहाँको रैथाने बालीको माग बढ्दै गएको छ । जुम्ला आउने आगन्तुकले चिनोका रूपमा रैथाने बाली लैजान थालेपछि माग बढ्दै गएको हो । जिल्लामा विभिन्न कामले आएका आगन्तुकले रैथाने बाली स्याउ, ओखर, तिया, कागुनो, चिनो र फापरलगायत कोसेलीका रूपमा बाहिर जिल्लामा लैजाने गरेका छन् ।

मार्सी खोज्दै जुम्ला

जिल्लालाई अर्गानिक तथा विषादीमुक्त घोषणा गरिएपछि स्थानीय उत्पादनको माग बढेको हो । समुद्र सतहदेखि दुई हजार आठ सय ५० मिटरको उचाइमा फल्ने जुम्ली कालो मार्सी धानको चामल लोकप्रिय छ । चामलको माग बढेसँगै किसानलाई आपूर्ति गर्न धौ–धौ भइरहेको छ ।

यस वर्ष चामलको माग एक्कासि बढेको एमटी अर्गानिक हाउसका सञ्चालक मयालाल देवकोटाले वताए । एक वर्ष अघिसम्म प्रतिकिलो एक सय रुपैयाँमा बिक्री हुँदै आएको चामलको मूल्य बढेको उनले बताए । उनका अनुसार अहिले मार्सी चामलको मूल्य प्रतिकिलो दुई सय रुपैयाँसम्म पुगेको छ ।

स्याउ र ओखरको माग धेरै बढेको व्यावसायीले जनाएका छन् । काम विशेषका लागि जुम्ला आइपुगेका काठमाडौंका प्रदीपकुमार पोखरेलले जुम्लाको स्याउ, ओखर, मार्सी चामल कोसेलीका रूपमा लैजान लागेको बताए । ‘केही पुराना बाली लोप भइसकेका रहेछन्,’ उनले भने, ‘कागुनो, चिनो र पापर पनि कोसेली लैजान खोजेको पाइएन ।’

जुम्लामा उत्पादन हुने बालीमा कुनै पनि रासायनिक विषादी प्रयोग नहुने भएकाले रैथाने बालीको माग बढेको कृषि ज्ञान केन्द्रका अधिकृत बालकराम देवकोटाले बताए । ‘जुम्लाको रैथाने बालीको माग सुर्खेत, नेपालगन्ज, बुटवल, नारायणघाट, पोखरा, काठमाडौंलगायत सहरमा बढी छ,’ उनले भने, ‘जसको संरक्षण गर्न र उत्पादन बढाउन जरुरी छ ।’ जुम्लामा करिब तीन सय हेक्टरमा खेती हुने गरेको छ ।

त्यसमध्ये १० प्रतिशत रैथाने बाली उत्पादन हुने गरेको केन्द्रले जनाएको छ । तिला गाउँपालिकाले सिमीको ब्लक निर्माण गरेर किसानको आकर्षण बढाउन खोजेको जनाएको छ । गत वर्ष ब्लकबाट १० मेट्रिक टन सिमी उत्पादन भएको थियो । स्थानीय बजारमा सिमी एक सय २० रुपैयाँ प्रतिकिलो बिक्री हुँदै आएको छ ।

पोषणयुक्त भएकाले कालीमार्सी धानको चामल ठूला सहर धेरै रहेको स्थानीय व्यापारी टिकराज धितालले बताए । ‘धेरै जिल्लामा माग भएकाले अर्गानिक बालीको व्यापार सुरु गरेको छु,’ उनले भने,‘माग बढेसँगै व्यवसाय फस्टाउँदै गएको छ ।’ उनले फापरको पिठो सुगर फ्री भएकाले प्रतिकिलो तीन सय ५० रुपैयाँमा बिक्री भइरहेको बताए । उनका अनुसार सिमी, कागुनो, चिनो, उवा, आलु र जौको माग समेत बढेको छ ।

प्रकाशित : आश्विन ५, २०७५ १०:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?