२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

बालुवा बेचेर पढाइ खर्च

विप्लव महर्जन

सल्यान — त्रिवेणी गाउँपालिका ३, गोरेज्युलाका दुई दर्जन बढी बालबालिका पढाइ खर्च जुटाउन त्रिवेणी खोलाको बालुवा संकलन गर्न बाध्य छन् । बालुवा संकलनका लागि विद्यालयबाहेकको समय र बिदाको दिन खोला किनारमा बालबालिकाको लर्को लाग्ने गरेको छ ।

बालुवा बेचेर पढाइ खर्च

उनीहरूले संकलन गरेको बालुवा दुई हजार रुपैयाँ प्रतिट्याक्टर बिक्री हुने गरेको छ । समूहमा बालुवा संकलन गरेर आएको रकम बराबर बाँड्ने गरेको उनीहरूको भनाइ छ ।

त्रिवेणी माविमा कक्षा ८ मा अध्ययनरत विनोद बोहराले घरको आर्थिक अवस्था राम्रो नभएकाले साँझ र बिहानको समयमा बालुवा संकलन गर्ने गरेको बताए । उनले बिदाको दिन दिनभर बालुवा संकलन गर्दै आएको जनाए । ‘यही कामले कहिलेकाहीँ विद्यालय छुट्ने गर्छ,’ उनले भने, ‘आमाबाबुको कमाइले घरखर्च चलाउन धौधौ छ, त्यसैले बालुवा संकलन
नगरी सुखै छैन ।’

बालुवा बिक्री गरेको रकमबाट पढाइ खर्च जुटाउन सजिलो भएको ढोरपिपलका लालबहादुर रानाले बताए । ‘घरमा आमासँग कहिल्यै पैसा हुँदैन,’ उनले भने, ‘बुबा मजदुरीका लागि भारत गएकाले बालुवा बेचेको रकमले पढाइ खर्च जुटाउने गरेको छु ।’

बालुवा बिक्रीको रकम कापीकलम किन्ने र खाजामा लगानी हुने गरेको छ । बालुवा संकलनको कामले पढाइ नछुटाएको उनीहरूको भनाइ छ । बालुवा संकलनको कामले कहिलेकाहीँ गृहकार्य गर्न समय नपुग्ने उनको गुनासो छ । शारदा नगरपालिका १ का ११ वर्षीय दिवस नेपालीले बालुवा संकलन गरेर मासिक एक हजार पाँच सयदेखि दुई हजारसम्म कमाइ गर्ने गरेको बताए । कक्षा ६ मा अध्ययनरत उनले यस वर्ष बालुवा संकलनको रकमले ड्रेस, कापीकलम, झोलालगायत शैक्षिक सामग्री आफंैले किनेको जनाए । ‘पोहोरसम्म सबै खर्च आमाबाबुलाई माग्नुपर्ने बाध्यता थियो,’ उनले भने, ‘अहिले दिउँसो खाजा खाने खर्चसमेत यसैबाट जुटाउँदै आएको छु ।’

सदरमुकामलगायत क्षेत्रमा पक्की घर बनाउने लहर चलेकाले बालुवाको माग बढ्दो छ । संकलित बालुवा लिन ट्याक्टर लिएरै व्यवसायी खोला किनारमा आउने गर्छन् । त्रिवेणी माविमा कक्षा ७ मा अध्ययनरत टिकुली पुनले विद्यालयले पाठ्यपुस्तक मात्र दिने भएकाले अन्य शैक्षिक सामग्री जुटाउन बालुवा संकलन गर्नुपर्ने बाध्यता भएको बताइन् । उनका बाबु रोजगारीका लागि भारतमा छन् भने आमाले खेतबारीमा मजदुरी गर्ने गरेकी छन् । जिल्ला समन्वय समितिका अनुसार जिल्लामा २० प्रतिशत घरधुरी विपन्नको सूचीमा छन् । विपन्नमध्ये सबैभन्दा बढी दलित र जनजाति छन् ।

प्रकाशित : आश्विन ६, २०७५ १०:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?