१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

रंगशाला बनाउन विदेशबाट सहयोग

रुकुम पश्चिम — बाँफिकोट गाउँपालिका–६, मग्मामा हरेक दसैंमा बृहत् खेलकुद तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिन्छ । स्थानीय युवा मिलेर वर्षैपिच्छे कार्यक्रम गर्छन् तर हरेक वर्ष कार्यक्रम गर्दा खेलमैदानको अभाव भइरहन्छ । खेलकुद कार्यक्रम गर्दैगर्दा महसुस हुने खेल मैदानको अभाव पूरा गर्न युवाहरूले आर्थिक संकलन थालेका छन् ।

रंगशाला बनाउन विदेशबाट सहयोग

जग्गा खरिद गरी रंगशाला बनाउन प्रगतिशील युवा क्लबले आर्थिक सहयोग संकलन सुरु गरेको हो । अहिलेसम्म ४० जना युवाले रंगशाला निर्माणका लागि नगद सहयोग गरेका छन् । अमेरिका, कोरिया र मलेसियामा रहेका युवाबाट १५ लाख एक सय २० रुपैयाँ संकलन भएको क्लबका अध्यक्ष देवराज खनालले बताए ।

रंगशाला बनाउने योजना अघि सारिएपछि स्थानीय तथा अन्य युवाले स्वतस्फूर्त सहयोग गरिरहेको उनले बताए । अमेरिकामा रहेका २६, कोरियाका १० र मलेसियाका चार युवाले सहयोग गरेका छन् । क्लबका अनुसार गोर्खबहादुर कुसारीले पाँच लाख २५ हजार पाँच सय ५५ रुपैयाँ सहयोग गरेका छन् । अन्य युवाले ७ लाखको प्रतिबद्धता गरेका छन् । अरू सहयोग पनि संकलन हुने क्रम जारी छ । २५ लाख रुपैयाँ संकलन हुने अपेक्षा गरिएको र त्यसबाट रंगशालाका लागि जग्गा खरिद गरी रंगशाला निर्माण अघि बढाइने तयारी गरिएको छ ।

वडा कार्यालय, गाउँपालिकालाई पनि सहयोगका लागि आग्रह गरिएको छ । भलिबल र फुटबलका लागि रंगशाला बनाउने उद्देश्य क्लबको छ । दसैंलगत्तै रंगशाला निर्माण थालिने जनाइएको छ । एक वर्षभित्रै खेलमैदान बनाउने युवाको योजना छ । निर्माण सकिएपछि खेलमैदान नहुँदा भिरालो ठाउँमा खुलकुद गर्नुपर्ने बाध्यता हट्ने क्लबले जनाएको छ । वडा अध्यक्ष मनोजकुमार अधिकारीले युवाहरूले थालेको अभियान सह्रानिय भएको बताए । ‘गाउँको विकासका लागि युवाहरूले थालेको अभियान सकारात्मक छ,’ उनले भने, ‘वडा कार्यालयले त्यसका लागि अन्य निकायसँग पनि समन्वय गर्नेछ ।’

प्रकाशित : आश्विन ६, २०७५ १०:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?