इलाका प्रशासनको काम ठप्प

मुगु — सोरु गाउँपालिकास्थित सोरुकोटमा स्थापना गरिएको इलाका प्रशासन कार्यालय डेढ वर्षदेखि सुनसान छ । स्थापनाको समयमा गृह मन्त्रालयले कामु अधिकृत रूपमा दिलबहादुर पौडेललाई पठाएको थियो ।

इलाका प्रशासनको काम ठप्प

उनी तीन महिना नबित्दै सरुवा भएर अन्यत्र गएपछि कार्यालय प्रमुखविहीन हुँदै आएको छ । प्रमुख अभावमा कार्यालयको कामकाज डेढ वर्षदेखि ठप्प भएको हो ।

नार्थपु, भिई, जिमा, धैनकोट, फोतु, कालै, धैनकोटलगायत गाउँका स्थानीयलाई सरकारी सुविधा दिन कार्यालय स्थापना गरिएको थियो । अहिले कार्यालय सहायक जनक कार्की र गोर्ख मल्लले कार्यालयको कामकाज गर्दै आइरहेका छन् ।

इलाका प्रशासन प्रमुखविहीन हुँदा स्थानीयवासीले सास्ती पाइरहेको जडेपानीका धीरेन्द्र शाहीले बताए । ‘कर्मचारी अभावले कामकाज भन्द भएपछि स्थानीयलाई नागरिकता बनाउन दुई दिन हिँडेर सदरमुकाम पुग्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘नागरिकता बनाउनकै लागि स्थानीयवासी न्यूनतम पाँच हजार खर्च गर्न बाध्य छन् ।’

सदरमुकाम आउजाउ गर्दा र गमगढीका होटलमा बास बस्दा पाँच हजार बढी रकम खर्च गर्नुपर्ने बाध्यता भएको उनले जनाए । सदरमुकाम आउजाउ गर्न समस्या भएपछि गाउँपालिकाका ११ वटै वडाका बासिन्दा विभिन्न सरकारी सुविधाबाट वञ्चित हुँदै आएका छन् ।

इलाका प्रशासनमा कर्मचारीको व्यवस्था गर्न विभिन्न निकायमा पटकपटक आग्रह गरिए पनि बेवास्ता भएको सोरु गाउँपालिका अध्यक्ष लोकबहादुर शाहीले बताए । ‘सरकारले कार्यालय स्थापना त गर्‍यो तर कर्मचारी पठाउन सकेन,’ उनले भने, ‘स्थानीय महँगो रकम खर्च गरेर सदरमुकाम गई सेवा लिन बाध्य छन् ।’

उनका अनुसार सदरमुकाम गएर सरकारी सुविधा लिन धैनकोट, फोतु, नार्थपु र भिईका बासिन्दालाई बढी समस्या छ । उनले सिफारिस बोकेर स्थानीयवासी विभिन्न सरकारी सेवा लिन जिल्ला प्रशासन पुग्न बाध्य भएको बताए । इलाका प्रशासन कार्यालयमा कर्मचारी व्यवस्थापनका लागि पटकपटक माथिल्ला निकायमा आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताए ।

‘त्यसका लागि धेरै पटक लेखापढी गरिसकिएको छ,’ उनले भने, ‘तर बेवास्ता भइरहेको छ ।’ उनका अनुसार कर्मचारी समस्याका कारण स्थानीयवासी सास्ती भोग्न बाध्य छन् ।

प्रकाशित : आश्विन ७, २०७५ ०९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?