सडक निर्माणले यात्रा सहज

विप्लव महर्जन

सल्यान — कुमाख गाउँपालिकाको चिसापानी–रागेचौर–स्यानीपिप्ली हुँदै रुकुम पश्चिमको चौरजहारी जोड्ने सडक निर्माण गरेको १० वर्ष पुग्यो । सडक निर्माण नहुँदा चिसापानीदेखि रागेचौरसम्म खोलामै गाडी सञ्चालन गर्नुपर्ने बाध्यता थियो ।

सडक निर्माणले यात्रा सहज

कुमाख गाउँपालिकाले नजिकैबाट तीन किलोमिटर सडक निर्माण गरेपछि १० वर्षपछि गाडी सडकबाटै आवतजावत गर्न थालेका छन् ।

सडकमा यातायात सेवा सुचारु भएदेखि नै स्थानीयवासी खोलाबाटै गाडीको यात्रा गर्न बाध्य थिए । खोलामा गाडी सञ्चालन गर्दा यात्रा जोखिमपूर्ण र कष्टकर बनेको थियो । सडक निर्माण भएपछि वर्षाका कारण थारमारे–चौरजहारी सडकखण्डको भल्चौरस्थित मौलहाल्नेसम्म मात्र नियमित सञ्चालन भएका गाडी अब चौरजहारीमै पुग्न थालेका छन् ।

सडक निर्माणले स्थानीयको यात्रा सहज बनेको छ । खोलामा गाडी सञ्चालन गर्दा पटकपटक गाडी बिग्रने समस्याबाट चालक र व्यवसायी आजित थिए । २०६४ सालदेखि सल्यान–चौरजहारी सडकमा गाडी सञ्चालन हुन थालेका हुन् । डिभिजन सडक कार्यालयले ठेक्कामार्फत सडकको निर्माण गरेको थियो । खोलामा पुल र खोला किनाराबाट सडक निर्माण गर्न धेरै रकम लाग्ने भन्दै निर्माण व्यवसायीले खोलामै सडक निर्माण गरेका थिए ।

सडक निर्माणमा संलग्न व्यवसायी र प्राविधिकका कारण लामो समयदेखि सास्ती भोग्नुपरेको स्थानीयको गुनासो थियो । खोलामै गाडी सञ्चालन हुने गरेकाले वर्षायामको दुई महिना यातायातका साधन बन्द हुने गरेका थिए । खोलालाई सडकमा परिणत गर्दा साना गाडी र मोटरसाइकल चलाउन समस्या थियो । साना गाडीको यात्रासमेत सडज बनेको चालकको भनाइ छ ।

गाउँपालिकाको करिब एक करोड लगानीमा सडक निर्माण गरिएको हो । गत वर्ष सडक निर्माण गरिए पनि वर्षाका कारण ठाउँठाउँमा चिरा परेको थियो । सडकका विभिन्न स्थानमा चिरा परेपछि दुई महिनाका लागि यातायात सेवा बन्द भएको थियो ।

वर्षा सकिएपछि सडकको मर्मत गरेर यातायात सञ्चालनमा ल्याएको गाउँपालिका अध्यक्ष दिलमाया बुढाले बताइन् । ‘गत वर्ष निर्माण गरेको सडकलाई मर्मत गरेपछि गाडी नियमित सञ्चालनमा आएका छन्,’ उनले भनिन्, ‘सडक निर्माणले सल्यान, रुकुम पश्चिम, जाजरकोट र डोल्पाका यात्रुलाई सुविधा भएको छ ।’

प्रकाशित : आश्विन ७, २०७५ ०९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?