कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

शिक्षाको गुणस्तर सुधार्न पहल

एलपी देवकोटा

जुम्ला — सामुदायिक विद्यालयको गुणस्तर सुधारमा स्थानीय तह सक्रिय हुनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । स्थानीय तहलाई अन्य निकायले सहयोग गरे सामुदायिक विद्यालयको गुणस्तर बढ्ने उनीहरूको भनाइ छ ।

शिक्षाको गुणस्तर सुधार्न पहल

जनज्योति माध्यमिक विद्यालय, बारकोटेवाडामा गुणस्तरीय शिक्षाका लागि गरिएको शैक्षिक बहसमा शिक्षण सिकाइ क्रियाकलाप प्रभावकारी बनाउन समुदायको सहयोग महत्त्वपूर्ण हुने आंैल्याइएको छ ।
चन्दननाथ नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक टंक महतले सामुदायिक विद्यालयको पठनपाठन सुधार्न अभिभावक सक्रिय हुनुपर्ने बताए । ‘बालबालिकाको पठनपाठन कस्तो छ भनेर अभिभावक विद्यालयमा नआउँदा पठनपाठन प्रभावकारी हुन सकेको छैन,’ उनले भने,‘विद्यार्थीले घरमा पनि राम्ररी पढ्न पाउने वातावरण बन्नुपर्छ ।’

सामुदायिक विद्यालयको पठनपाठनलाई गुणस्तरीय बनाउन शिक्षक, व्यवस्थापन समिति र अभिभावकको भूमिका समन्वयात्मक हुनुपर्नेमा समेत जोड दिइएको छ । सामुदायिक विद्यालयको पठनपाठन प्रभावकारी नहुँदा अभिभावक महँगो शुल्क तिरेर निजी विद्यालयमा बालबालिका पठाउन बाध्य भएको सरकोकारवालाको भनाइ छ । सामुदायिक विद्यालयको पठनशैली फेरिंदै गएकाले गुणस्तर बढ्दै गएको जनज्योति माध्यमिक विद्यालयका प्रधानाध्यापक तेजेन्द्रबहादुर शाहीले बताए । ‘पछिल्लो समय सामुदायिक विद्यालको गुणस्तर बढ्दै गएको छ,’ उनले भने, ‘हामीले यस वर्षदेखि शिक्षण सिकाइ प्रभावकारी बनाउन अंग्रेजी माध्यमबाट पठनपाठन थालेका छौं ।’ दरबन्दी अभावले पठनपाठनमा समस्या भएको उनको भनाइ छ ।

समुदाय, अभिभावक र शिक्षकको सक्रियताले विद्यालय नमुना बन्ने व्यवस्थापन समितिका अध्यक्ष दीपकबहादुर शाहीले बताए । उनले पूर्वाधारको व्यवस्थापन भए शैक्षिक स्तर बढ्दै जाने बताए । कक्षाकोठा, खानेपानी, शौचालय, खेलमैदानलगायत पूर्वाधार सबै सामुदायिक विद्यालयमा जरुरी रहेको उनको भनाइ छ । उनले कक्षा १ देखि अंग्रेजी माध्यममा पठनपाठन सुरु गरिएकाले निजीमा विद्यार्थीको आकर्षण
घटेको जनाए ।

दिवा खाजा, छात्रवृत्ति र पाठ्यपुस्तकको रकमले विद्यार्थी भर्ना र उपस्थिति नियमित भएको शिक्षकको भनाइ छ । चन्दननाथ १० स्थित वडा शिक्षा समितिका सदस्य मुनप्रसाद न्यौपानेले निजी विद्यालयमा जाने विद्यार्थीलाई सामुदायिकमा फर्काउन सबैको सहयोग महत्त्वपूर्ण हुने बताए । ‘अब सामुदायिक विद्यालयको शिक्षा विद्यार्थी टिकाउने र बिकाउने हुनुपर्छ,’ उनले भने,‘लगानी पनि सामुदायिकमा बढ्दै गएकाले शिक्षण गुणस्तरमा ध्यान दिन जरुरी छ ।’ विद्यालयमा शैक्षिक बहस नियमित गरिए क्रमश: गुणस्तर सुधार हुँदै जाने सरोकारवालाले जनाएका छन् ।

प्रकाशित : आश्विन ८, २०७५ १०:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?