कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

तलबबाट सहयोग कोष स्थापना

रुकुम पश्चिम — आठबीसकोट नगरपालिकाले विपन्न नागरिकका लागि सहयोग कोष स्थापनाको नीति लिएको छ । सोही नीतिअनुसार नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकले मासिक रूपमा आफ्नो तलबको ० दशमलव ५ प्रतिशत रकम उक्त कोषमा जम्मा गर्नेछन् ।

तलबबाट सहयोग कोष स्थापना

हरेक महिना ७५ हजार रुपैयाँ आकस्मिक कोषमा जम्मा गर्ने निर्णय भएको नगरपालिकाले जनाएको छ । आकस्मिक समस्यामा परेकालाई सहयोग गर्न भन्दै नगरपालिकाले योगदान गर्ने नीति बनाएको हो । ‘आफैं उपचार गर्न नसक्ने बिरामी, कुनै पनि आपतविपद् र अप्ठ्यारोमा परेका, मुटुरोगी, दीर्घरोगी लगायतको सहयोगका लागि यो अवधारणा अघि सारिएको हो,’ नगरप्रमुख गोर्खबहादुर केसीले भने, ‘सबैसँगको छलफल र सहमतिपछि यस्तो निर्णय गरिएको हो ।’

नगरपालिकामा ७५ जनप्रतिनिधि, ५० कर्मचारी र तीन सय शिक्षक छन् । निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले साउन, भदौ र असोज महिनाको रकम एकै पटक जम्मा गर्ने तयारी भइरहेको जानकारी दिए । ‘साउनको अन्तिम सातामा निर्णय भएको थियो,’ उनले भने, ‘कोषका लागि सबै प्रक्रिया पूरा भइसकेको छ ।’ उनका अनुसार तीन महिनाको दुई लाख २५ हजार एकमुष्ट जम्मा हुँदैछ । असोज महिनापछि हरेक महिना कोषमा रकम जम्मा हुने उनले बताए । पहिलो पटक सबै प्रक्रिया पूरा गर्दा ढिला भएको उनको भनाइ छ ।

प्रकोपपीडितका लागि छुट्टै योगदान
नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीले प्रकोपपीडितका लागि छुट्टै योगदान गर्ने भएका छन् । त्यसका लागि जनप्रतिनिधिले दुई र शिक्षक–कर्मचारीले एक दिनको तलबको रकम प्रकोपपीडितका लागि खर्च गर्ने भएका हुन् । नगरभरि बाढी, पहिरो र भूक्षयका कारण तीन सय बढी घरपरिवार समस्यामा रहेको नगरप्रमुख केसीले बताए ।

उनका अनुसार जनप्रतिनिधि, शिक्षक र कर्मचारीको योगदानबाट चामल र लत्ताकपडा खरिद गरेर वितरण गर्ने योजना बनाइएको छ । त्यसबापत करिब पाँच लाख रुपैयाँ जम्मा हुने र त्यसबाट प्रकोपपीडितलाई थोरै भए पनि राहत हुने उनको भनाइ छ ।

चालु आर्थिक वर्षमा नगरका विभिन्न ठाउँमा प्राकृतिक प्रकोपका कारण झन्डै चार करोड बढीको क्षति भएको नगरपालिकाले जनाएको छ ।

प्रकाशित : आश्विन ८, २०७५ १०:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?