१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

मदिरा नियन्त्रण गर्दै स्थानीय तह

छायानाथ–रारा नगरलाई मदिरामुक्त बनाउन प्रहरी र स्थानीय प्रशासनसँग सहकार्य
राजबहादुर शाही

मुगु — जिल्लाका चारवटै स्थानीय तहले मदिरामुक्त अभियान सुरु गरेका छन् । मदिरा सेवनका कारण शान्ति सुरक्षामा समस्या भएको र अपराधका घटना बढ्न थालेको भन्दै स्थानीय तहले मदिरामुक्त अभियान थालेका हुन् ।

मदिरा नियन्त्रण गर्दै स्थानीय तह

घरेलु मदिरा नियन्त्रणका लागि प्रहरीले समेत सक्रियता बढाएको छ । छायानाथ–रारा नगरलाई मदिरामुक्त बनाउन प्रहरी र स्थानीय प्रशासनसँग सहकार्य गरिरहेको नगरपालिकाले जनाएको छ । नगरले जनप्रतिनिधि, महिला समूह, नागरिक समाज र विद्यार्थीलाई मदिराविरुद्धको अभियानमा परिचालन गरिएको जनाएको छ । अवैध मदिरा नियन्त्रणका लागि पसलमा चेकजाँच अभियान सुरु गरिएको छ ।

नगरका टोलटोलमा महिला र युवा समूह गठन गरिएको जनप्रतिनिधिले जनाएका छन् । मदिरा नियन्त्रणका लागि जनचेतना अभियान सुरु गरिएको वडा नं. २ का अध्यक्ष परेकराज चौलागार्इंले बताए । ‘असोजदेखि घरेलु मदिरा पूर्णरूपमा बेचबिखन बन्द गर्ने नगरको योजना छ,’ उनले भने, ‘बाहिरबाट आउने मदिरालाई पनि कानुनी बनाइनेछ ।’ नगरलाई शान्ति सुरक्षाउन्मुख बनाउन मदिरा नियन्त्रण अभियान सुरु गरिएको नगरप्रमुख हरिजंग शाहीले बताए । उनले मदिरामुक्त बनाउन नगरसभाबाट कार्यविधि पास गरी कार्यान्वयनमा जोड दिइएको जनाए ।

सदरमुकाममा अवैध मदिरा बिक्रीमा रोक लगाइएको छ । मदिरा बेचबिखनको इजाजत अनुमति नलिएर मदिरा बेचबिखन गरेको पाइए तत्काल कारबाही गरिने स्थानीय प्रशासनले जनाएको छ । बाहिर जिल्लाबाट आउने मदिरा नियन्त्रणमा कडाइ गरिएको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जनाए ।

सोरु गाउँपालिकाले पनि वडास्तरमा मदिरा नियन्त्रणका लागि अभियान सुरु गरेको जनाएको छ । मदिरा नियन्त्रणका लागि विभिन्न गाउँमा अन्तक्र्रिया भइरहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले वडा नं. १० र ११ का धैनकोट, लोली, बाहुनबाडा, गुरुबाडा, तलिबाडा, सार्कीबाडालगायत बस्तीमा मदिरा बिक्री वितरणमा रोक लगाएको छ ।

मदिरा नियन्त्रणमा सक्रिय भएको वडा नं. १० का अध्यक्ष धर्मराज जैसीले बताए । ‘मदिरा बिक्री गर्नेलाई दुई हजार र सेवन गर्नेलाई एक हजार रुपैयाँ जरिवाना गर्ने निर्णय पारित गरिएको छ,’ उनले भने,‘मदिरा नियन्त्रणका लागि आवश्यक परे प्रहरीसमेत परिचालन गर्नेछौं ।’

खत्याडमा पनि मदिरा नियन्त्रण अभियान सुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत मणिचन्द्र कार्कीले बताए । उनले त्यसका लागि समूह गठन गरी परिचालन गरिएको जनाए । त्यस्तै जनजाति समुदायको बाहुल्यता रहेको मुगमकार्मारोङ गाउँपालिकाले नियन्त्रणका लागि विभिन्न पहल थालेको जनाएको छ ।

जिल्लामा सबैभन्दा धेरै घरेलु मदिरा उत्पादन र प्रयोग हुने गरेकाले जनचेतनामूलक अभियानमा जोड दिइएको जनप्रतिनिधिले जनाएका छन् । जिल्लामा मदिरा सेवनकै कारण विभिन्न घटनामा एक दर्जन बढीको ज्यान जाने गरेको प्रहरीले जनाएको छ ।

सीमामा खुकुलो
नियन्त्रण अभियान सुरु गरिए पनि तिब्बत सीमा नाकाबाट चिनियाँ मदिरा आयात हुँदा समस्या भएको जनप्रतिनिधिले जनाएका छन् । प्रहरीको उपस्थिति प्रभावकारी नहुँदा व्यापारीले चौंरी र घोडाखच्चडबाट मदिरा नेपालतर्फ ल्याउने गरेका छन् । सीमा नाकाबाट व्यवसायीले करोडौं मूल्यको अवैध तिब्बती मदिरा ल्याएर गाउँमा बिक्री गर्ने गरेका छन् ।

सीमा क्षेत्र मुगुमा प्रहरी चौकी र भन्सार कार्यालय भए पनि जनशक्ति अभावका कारण ओसारपसार रोक्न समस्या भएको छ । तिब्बतबाट एक सय रुपैयाँ प्रतिबोत्तल खरिद गरिएको मदिरा गाउँमा तीनदेखि चार सय रुपैयाँमा बिक्री भइरहेको छ ।

चिनियाँ मुद्राको विनिमय दर वृद्धि भएकाले गत वर्षको तुलनामा कम मदिरा आयात भएको व्यापारी टासी लामाले बताए । उनका अनुसार चिनियाँ मदिराबाट बढी फाइदा हुने भएकाले मुगमकार्मारोङ गाउँपालिकाको बाटो भएर अवैध मदिरा गाउँमा पुग्ने गरेको छ ।

प्रकाशित : आश्विन ८, २०७५ १०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?