२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

प्रदेश संरचना बनाउँदै प्रहरी

प्रकाश अधिकारी

सुर्खेत — नेपाल प्रहरीले आफ्ना इकाईलाई प्रादेशिक संरचनामा लैजान सुरु गरेको छ । यसअघि नेपालगन्ज र जुम्लामा रहेका इकाईलाई प्रदेश राजधानी सुर्खेतमा स्थानान्तरण गर्न लागिएको हो ।

प्रदेश संरचना बनाउँदै प्रहरी

सुर्खेत साबिकको क्षेत्रीय सदरमुकाम भए पनि प्रहरीका केही क्षेत्रीयस्तरका संरचना नेपालगन्जमा थिए । प्रदेश प्रहरी कार्यालय र गण यसअघि नै वीरेन्द्रनगरमा स्थापना भइसकेका छन् । पूर्वी सुर्खेतको छिन्चुमा कर्णाली ट्राफिक प्रहरी, प्रहरी तालिम केन्द्र र नेपाल प्रहरी आवासीय माध्यमिक विद्यालय स्थापना गरिनेछ । ट्राफिक कार्यालय कोहलपुरबाट र तालिम केन्द्र नेपालगन्जबाट स्थानान्तरण हुनेछन् ।

विद्यालय नयाँ स्थापना हुन लागेको हो । प्रादेशिक संरचनाका स्थापनाका लागि प्रस्तावित स्थान छनोटका लागि प्रहरी प्रधान कार्यालयमा पठाइसकेको प्रदेश प्रहरी कार्यालयका एसएसपी मोहन आचार्यले जानकारी दिए । उनले प्रदेश ट्राफिक कार्यालय तत्कालै सुर्खेतमा ल्याउने तयारी भइरहेको बताए । तत्काललाई जिल्ला ट्राफिक कार्यालयमै प्रदेश ट्राफिक कार्यालय सञ्चालन गरिनेछ ।

छिन्चुमा आवासीय विद्यालय स्थापना गर्न केन्द्रले प्रस्ताव गरे पनि त्यहाँ अनुपयुक्त भएकाले वीरेन्द्रनगरमै जग्गा खोज्न प्रहरीलाई दवाब बढेको छ । उपत्यकामै आवासीय विद्यालय स्थापना हुँदा प्रहरी कर्मचारीका सन्तानलाई पढाइमा सहज हुने सुझाव विकल्पका लागि हेडक्वार्टरमा पठाएको एक प्रहरी अधिकारीले कान्तिपुरसँग बताए ।

नेपालगन्जस्थित दंगा नियन्त्रण प्रहरी गण र भेरी अञ्चल प्रहरी कार्यालय संघीय प्रहरी इकाईमा रूपान्तरण भएर स्थापना हुने क्रममा छन् । इकाईले केन्द्रीय निर्देशनको परिपालना र प्रदेश मातहतका कार्यालयमा आवश्यक दक्ष प्राविधिक जनशक्ति खटाउने भूमिका निर्वाह गर्नेछ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालय मातहतमा रहने प्रादेशिक प्रहरी कार्यालयले भविष्यमा कुनै ठूला घटना भएमा त्यसको अनुसन्धान गर्न आवश्यक जनशक्ति पठाएर समन्वय गर्नेछ । प्रदेश प्रहरी ऐन नबन्दा यो कार्यालय पनि संघ मातहतमै छ ।

गृह मन्त्रालयले संघीय प्रहरी ऐन बनाउन ढिलाइ गरेकाले प्रदेश कानुन निर्माणमा समस्या भएको हो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता गुरुप्रसाद रेग्मीले संघीय प्रहरी ऐन नबन्दा प्रदेश प्रहरी गठनलगायत अन्य संरचना निर्माणमा असर पुगेको बताए । प्रदेश सरकारले प्रदेश प्रहरी ऐनबिना आफ्ना संरचना निर्माण गर्न पाउँदैन । प्रदेश प्रहरीलाई व्यवस्थित र प्रभावकारी बनाउन बजेट विनियोजन गरिसकेको छ ।

त्यस्तै, वीरेन्द्रनगरमा प्रहरीको नयाँ कार्यालय कुकुर शाखा र नेपालगन्जबाट स्थानान्तरण हुने ब्यान्ड गुल्म पनि स्थापना हुँदैछ । ‘सबै संरचना स्थापना हुन कम्तीमा दुई वर्ष लाग्न सक्छ,’ एसएसपी आचार्यले भने, ‘सातवटै कार्यालयका लागि आवश्यक पर्ने जग्गाको पहिचान गरिसकेका छौं ।’

यसअघि जुम्लामा रहेको कर्णाली अञ्चल प्रहरी कार्यालयलाई मर्ज गरेर सोही ठाउँमा विपद् व्यवस्थापन कार्यदल राखिएको छ । प्रहरी निरीक्षक (इन्स्पेक्टर) को नेतृत्वमा ५० प्रहरी कार्यदलमा छन् ।

प्रकाशित : आश्विन ९, २०७५ ११:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?