३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

महोत्सवमा स्थानीय संस्कृति

रुकुम पश्चिम — बाँफिकोट गाउँपालिकास्थित स्यार्पुतालमा आयोजना गरिएको पर्यटन महोत्सवको आकर्षण स्थानीय संस्कृति हुने भएको छ । बाँफिकोट–३ र ५ मा फैलिएको स्यार्पुतालको प्रवर्द्धनका लागि असोज ११ देखि १५ गतेसम्म दोस्रो पर्यटन महोत्सव आयोजना हुने भएको छ ।

महोत्सवमा स्थानीय संस्कृति

महोत्सवमा स्थानीय गीत, नाच र सीपकलाको प्रतिस्पर्धा गराइने आयोजकले जनाए । पञ्चेबाजा, सिंगारु र झाँक्री नाचमा प्रतिस्पर्धा गराइने आयोजक समितिका सचिव चन्द्रबहादुर केसीले बताए । स्थानीय चाडपर्वमा प्रयोग हुने सांस्कृतिक कला र सीपको संरक्षणका लागि प्रतिस्पर्धा गराइने उनको भनाइ छ । बाहिरबाट आउने पाहुनाका लागि नौलो हुने र स्थानीयको कलाको संरक्षण हुने भएकाले प्रतिस्पर्धा गराउन खोजेको उनले बताए ।


परम्परादेखि बजाइँदै आएको पञ्चेबाजाको सम्मानस्वरूप पञ्चेबाजा र लोकबाजाका वाद्यवादकलाई पुरस्कृत गर्ने योजना बनाइएको छ । मूल आयोजक समिति अध्यक्ष तथा गाउँपालिका अध्यक्ष धर्मबहादुर केसीका अनुसार जिल्लाका धेरै ठाउँमा गाइने सिंगारु नाचमा पनि प्रतिस्पर्धा गराइनेछ । उनले झाँक्री नाचको संरक्षण, प्रवद्र्धन र झाँक्रीको प्रोत्साहनका लागि झाँक्री नाच देखाइने तयारी गरिएको जनाए । पञ्चेबाजामा प्रथम स्थान हासिल गर्नेले १५ हजार र सिंगारुमा पहिलो हुनेले १० हजार रकम हात पार्नेछन् । दुवैमा अन्य स्थान हासिल गर्नेले समेत पुरस्कार प्राप्त गर्नेछन् ।


महोत्सवमा भलिबल प्रतियोगितासमेत आयोजना गरिएको छ । खुला, महिला तथा पुरुष भलिबल प्रतियोगिता आयोजना गर्न लागिएको केसीले जनाए । भलिबलमा महिला र पुरुषतर्फ प्रथम हुने टिमलाई ५० हजार दिइनेछ । ‘जल, जंगल, जडीबुटी, कृषि, कला, संस्कृति हाम्रा उत्सव, बाँफिकोट समृद्धिका लागि दोस्रो स्यार्पु पर्यटन महोत्सव’ नारासहित महोत्सव आयोजना गरिएको छ । यसअघि २०६७ सालमा पहिलो पटक स्यार्पु पर्यटन महोत्सव आयोजना गरिएको थियो ।

प्रकाशित : आश्विन ९, २०७५ १०:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?