कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७६

गाउँमै प्रसूति सेवा

प्रसूतिगृह स्थापनापछि गर्भवती महिलाको जाँच गर्न, प्रसूति सेवा दिन र विभिन्न खोप लगाउन सजिलो
राजबहादुर शाही

मुगु — ग्रामीण भेगमा स्तरीय प्रसूति सेवा दिन प्रसूतिगृह निर्माण गरिएको छ । खत्याड गाउँपालिकाको सेरी, गम्था, खमाले र हयाङमा पक्की प्रसूतिगृह निर्माण गरिएको छ । गाउँमै प्रसूतिगृह स्थापना भएपछि गर्भवती महिलालाई सदरमुकाम आउनुपर्ने बाध्यता टरेको छ ।

गाउँमै प्रसूति सेवा


दुर्गम गाउँमा ९ कोठे सुविधायुक्त प्रसूतिगृह बनेको छ । प्रसूतिगृह स्थापनापछि गर्भवती महिलाको जाँच गर्न, प्रसूति सेवा प्रदान गर्न र विभिन्न खोप लगाउन सजिलो भएको छ । गम्थाको प्रसूतिगृहबाट सेवा सुचारु गरेपछि लाम्रु, रासकोटीबाडा, थारा, पन्सेरी, ढुङ्ग्रीलगायत गाउँका गर्भवती महिलालाई राहत भएको छ ।


प्रसूति सेवा नहुँदा स्थानीय महिला घरमै सुत्केरी हुन बाध्य थिए । गम्था प्रसूतिगृहमा कार्यरत अनमी निर्मला बानियाँले प्रसूतिगृह बनेपछि गर्भवती महिला सानो स्वास्थ्य समस्या भए पनि उपचारका लागि आउने गरेको बताइन् । उनका अनुसार अहिले गर्भवती महिलाको स्वास्थ्य चेकजाँचमा पहुँच बढेको छ ।


मानवअधिकार तथा वातावरण विकास केन्द्रले खत्याड, सेरी, नर्खर्जी, जिउका र श्रीकोटमा समेत प्रसूतिगृह निर्माण गरिरहेको जनाएको छ । सोरु गाउँपालिकाको रारा र कालैमा प्रसूतिगृह सञ्चालनमा आइसकेको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार धैनकोट, रोवा, झाकोट र सिपमा प्रसूतिगृह निर्माणको तयारी भइरहेको छ ।


ग्रामीण क्षेत्रका गर्भवती महिलालाई सहज प्रसूति सेवा प्रदान गर्न प्रसूतिगृह निर्माणलाई प्राथमिकता दिइएको संस्थाका कार्यप्रबन्धक नवराज रावतले बताए । निर्माण गरिएका प्रसूतिगृहमा एक्सरे मेसिन, आवश्यक उपकरण, औषधि र दुई अनमीको व्यवस्था गरिएको उनको भनाइ छ । उनले प्रसूति सेवा लिने महिलाको संख्या बढ्दै गएको जानकारी दिए ।

एउटा प्रसूतिगृह निर्माणका लागि ४० देखि ५० लाख रुपैयाँ खर्च हुने गरेको कार्यप्रबन्धक रावतले जनाए । यातायात समस्याका कारण सामान ढुवानीमा महँगो रकम खर्च हुने गरेको उनको भनाइ छ ।


सुत्केरी भएका महिला र बच्चालाई न्यानो कपडा उपलव्ध गराउँदै आएको संस्थाले जनाएको छ । जिल्लाभर निर्माण गरिएका सात प्रसूतिगृहमा आठ सय २४ महिलाले प्रसूति सेवा लिएको केन्द्रले जनाएको छ । गम्थामा मात्रै एक सय ९ जना महिलाले प्रसूति सेवा लिएको संस्थाको तथ्यांक छ । खत्याड गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणीचन्द कार्कीले प्रसूतिगृहले महिलाको स्वास्थ्य सुधारमा ठूलो टेवा पुर्‍याएको बताए ।

प्रकाशित : आश्विन १०, २०७५ १३:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?