कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महिला नेतृत्वमा अब्बल सहकारी

प्रदेशकै उत्कृष्ट बन्यो गोठपाडा कृषक सहकारी
ज्योति कटुवाल

दैलेख — सात वर्षअघि गोठपाडा कृषक सहकारीबाट २० हजार रुपैयाँ कर्जा लिएर सदरमुकाममा कस्मेटिक पसल सुरु गरेकी राधाकुमारी शाहीले होलसेल पसल सञ्चालन गरेकी छन् । उनको कस्मेटिक होलसेल पसलबाट दैनिक पाँच हजार बढीको कारोबार हुन्छ ।

महिला नेतृत्वमा अब्बल सहकारी

सानो घुम्तीबाट व्यवसाय सुरु गरेर राम्रो सफलता प्राप्त गरेको भन्दै सहकारीले १२ औं साधारणमा उनलाई सम्मानसमेत गर्‍यो ।


अगुवा कृषक रत्नाकुमारी थापा पनि उक्त सहकारीबाट ऋण लिएर व्यवसायमा सफल बन्दै गएकी छन् । सहकारीबाट ५० हजार ऋण लिएर एक रोपनीबाट सुरु गरेको कृषि व्यवसाय १५ रोपनी जग्गामा फैलिएको छ । थापाले वार्षिक पाँच लाख रुपैयाँ बचत गर्दै आइरहेको बताइन् ।


पाँच रोपनी जग्गा लिजमा लिएर प्लास्टिक घरभित्र बेमौसमी तरकारी खेती गरिरहेकी थापा जिल्लाकै नमूना किसानको रूपमा चिनिएकी छन् । तरकारी खेतीबाटै १० रोपनी जग्गा जोडेको उनी बताउँछिन् ।


यी दुई मात्र होइनन्, गोठपाडा कृषि सहकारीबाट ऋण लिएका जिल्लाका विपन्न महिला विभिन्न व्यवसायमार्फत आत्मनिर्भर बन्दै गएका छन् । महिलाको नेतृत्वमा सञ्चालन भइरहेको सहकारी छोटो समयमै अब्बल बन्दै गएको छ । महिलाकै व्यवस्थापनमा अब्बल ठहरिएको संस्थाले सात विभिन्न राष्ट्रिय पुरस्कार हासिल गरिसकेको छ ।


सहकारीमा आबद्ध ९ सय १९ सदस्यमध्ये पाँच सय ४४ महिला छन् । कार्यसमितिमा ११ जनामध्ये अध्यक्षसहित ७ महिला छन् । सहकारीका सदस्यबाट मासिक रूपमा ४० लाख रुपैयाँ बचत हुने गरेको छ । सहकारीको जगेडा कोषमा अहिले ४८ लाख रुपैयाँ छ ।


सहकारीले व्यापारका साथै कृषि, शिक्षा र स्वरोजगार कर्जा वितरण गर्दै आएको छ । संस्थाका अनुसार पाँच करोड करोड ५४ लाख रुपैयाँ कर्जा प्रवाह भइसकेको छ । सहकारीले १२ करोड १३ लाख रपैयाँको कारोबार गरिरहेको सहकारीकी अध्यक्ष मुना थापाले बताइन् । नारायण क्यापसमा प्राध्यापनसमेत गर्ने उनी अधिकांश समय सहकारीलाई दिन्छिन् । उनले २०६८ सालदेखि सहकारीको नेतृत्व गरिरहेकी छन् । उनका अनुसार सुरुमा ८० हजार रहेको सेयर पुँजी अहिले ९० लाख ९० हजार पुगेको छ । संस्थागत निर्णय र सुशासनलाई महत्त्व दिइएकाले सहकारी सफल बन्दै गएको उनको भनाइ छ ।


२०७३ मा डिभिजन सहकारीबाट प्रदेशकै पहिलो सहकारीको रूपमा पुरस्कृत भएको सहकारी २०७४ मा राष्ट्रिय सहकारी संघबाट उत्कृष्ट सहकारीको रूपमा पुरस्कृत भयो । सुरुमा कर्जा लगानीमा चुनौती भए पनि सुरुकै वर्षमा दोब्बर बनाइएको अध्यक्ष थापाले बताइन् । ‘समय पुग्नेबित्तिकै कर्जा असुलीका विभिन्न सूचकहरू अवलम्बन गरियो,’ उनले भनिन्, ‘लेखा प्रणाली चुस्त बनाएकाले पनि सहकारी सफल बन्दै गएको छ ।’ सबै सदस्यलाई आत्मनिर्भर बनाउने आफूहरूको लक्ष्य रहेको उनले बताइन् । सहकारीका व्यवस्थापक दिनेशकुमार थापाले संस्था विपन्न सदस्यको सुख–दु:खको साथी बन्न पुगेको बताए । उनका अनुसार २० हजारदेखि १२ लाख रुपैयाँसम्मको कर्जा प्रवाह भइरहेको छ । अहिले सहकारीले न्यून विषादी अभियान सञ्चालन गरेको छ । किसानको सहजताका लागि रासायनिक र जैविक प्रांगारिक मलको डिलर सञ्चालन गरिएको व्यवस्थापक थापाले जनाए ।


सहकारीको साधारणसभामा उपस्थित कर्णाली प्रदेशसभा सदस्य अमरबहादुर थापाले महिलाले चलाएको सहकारीको काम सबैले अनुसरण गर्नुपर्ने बताए । सहकारीले विपन्न समुदायको जीवनस्तर परिवर्तनमा ठूलो सहयोग पुर्‍याएको उनको भनाइ छ । नारायण नगरपालिकाका कार्यबाहक प्रमुख तीर्थनारायण श्रेष्ठले सहकारीको माध्यमबाट बेरोजगारी समस्या समाधान गर्न मद्दत पुगिरहेको बताए ।

प्रकाशित : आश्विन १०, २०७५ १३:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?