कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आँगनमै प्राविधिक शिक्षा

हरि गौतम

रुकुम पश्चिम — मुसिकोट नगरपालिका १, की करुणा पाण्डेले त्रिभुवन जनता माध्यमिक विद्यालयमा सिभिल ओभरसियरको पठनपाठन थालेकी छन् । विद्यालयले यसै वर्षदेखि सुरु गरेको सिभिलतर्फको तीनवर्षे कोर्स अध्ययन गर्न पाण्डे घरबाटै भ्याइरहेकी हुन् ।

आँगनमै प्राविधिक शिक्षा

सानीभेरी गाउँपालिका–९, की लक्ष्मी खडका पनि घर नजिकैको राप्ती ज्ञानोदय माध्यमिक विद्यालयले यसै बर्षदेखि सुरु गरेको बाली विज्ञानअन्तर्गत १८ महिने कोर्स अध्ययनका लागि भर्ना भएकी छन् । सिम्लीका वीरभान भण्डारीले पनि राप्ती ज्ञानोदयमै बालीविज्ञानको पढाइ सुरु गरेका छन् । पाण्डे, खडा र भण्डारी मात्रै होइन, यो वर्ष जिल्लाका दुई सय ४८ विद्यार्थीले विभिन्न सामुदायिक विद्यालयमार्फत प्राविधिक शिक्षा अध्ययन गर्दै छन् ।


प्राविधिक शिक्षालाई सबैको पहुँचमा पुर्‍याउनेगरी गाउँगाउँका सामुदायिक विद्यालयले विभिन्न विषयका पठनपाठन सुरु गरेका छन् । यसै वर्षदेखि जिल्लाका पाँच सामुदायिक विद्यालयले प्राविधिक शिक्षा सुरु गरेका हुन् । मुसिकोट नगरपालिकाको त्रिभुवन जनता मावि, बाँफिकोट गाउँपालिकाको वीरेन्द्र मावि, सानीभेरी गाउँपालिकाको राप्ती ज्ञानोदय माविले प्राविधिक शिक्षा सुरु गरेका हुन् ।


त्यस्तै त्रिवेणी गाउँपालिकाको त्रिवेणी मावि र जनप्रिय माविले भर्ना लिइरहेका छन् । सामुदायिक विद्यालयले सिभिल ओभरसियर, कम्प्युटर इन्जिनियर, बाली तथा पशु विज्ञानको पठनपाठन सुरु गरेका हुन् । केही विद्यालयमा भर्ना चलिरहेको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को अनुमतिपत्र लिएर अध्यापनको व्यवस्था मिलाइएको हो ।


त्रिभुवन जनता माविले सिभिल ओभरसियरको पठनपाठन सुरु गरिसकेको छ । उक्त कोर्षमा ४८ विद्यार्थीले अध्ययन थालेका छन् । वीेरेन्द्र माविले कम्प्युटर इन्जिनियरका लागि ४० कोटामा भर्ना लिइरहेको छ । त्रिवेणीमा तीनवर्षे बालीविज्ञान, जनप्रिय माविले १८ महिने बालीविज्ञान, राप्ती ज्ञानोदय माविले पशु र बाली विज्ञानतर्फका १८/१८ महिनाको कोर्स अध्यापनका लागि भर्ना लिइरहेका छन् । सबै कोर्षमा ४० जनाको कोटा कायम गरिएको छ ।


केही विद्यालयले प्राविधिक धारतर्फ यसअघि नै पठनपाठन सुरु गरिसकेका छन् । केही वर्षदेखि जिल्लामा बर्सेनि चार सय हाराहारीमा प्राविधिक जनशक्ति उत्पादन हुने शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ । विद्यार्थीको मागअनुसार प्राविधिक शिक्षा पठनपाठन सुरु गरिएको त्रिभुवन जनता माविका प्रधानाध्यापक हरिप्रसाद खनालले बताए ।

प्रकाशित : आश्विन १०, २०७५ १३:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?