खुद्रे योजनामै अल्झिए स्थानीय सरकार

गत वर्ष गरेका कामको वार्षिक प्रगति समीक्षा गोष्ठीमा सडकबाहेक अन्य पूर्वाधार विकासमा उपलब्धि हासिल गर्न नसकेको पाइएको छ
ज्योति कटुवाल

दैलेख — यहाँका सबै स्थानीय सरकार खुद्रे योजनामै अल्झिएका छन् । टुक्रे योजनालाई नै निरन्तरता दिइएकाले डेढ वर्षमा स्थानीय सरकारका ठूला योजनामा प्रगति देखिएको छैन ।

खुद्रे योजनामै अल्झिए स्थानीय सरकार

जिल्लाका सबै स्थानीय तहले गत वर्ष गरेका कामको वार्षिक प्रगति समीक्षा गोष्ठीमा सडकबाहेक अन्य पूर्वाधार विकासमा उपलब्धि हासिल गर्न नसकेको पाइएको छ ।


सदरमुकामस्थित नारायण नगरपालिकाले नगरभित्र सडक विस्तार, नगर प्रोफाइल, पञ्चकोसी तालको निर्माण प्रक्रिया सुरु, मोबाइल एप्स निर्माण, नगरपालिकाभित्र स्तनपान कक्ष स्थापनालगायतलाई मुख्य उपलब्धि मानेको छ । सबैभन्दा पुरानो नगरपालिकाले पुराना टुक्रे कार्यक्रमलाई निरन्तरता दिएकाले भौतिक पूर्वाधारमा खासै प्रगति नदेखिएको स्थानीयवासीको भनाइ छ । डिजिटल नागरिक बडापत्रको व्यवस्था, बालविवाह न्यूनीकरण, दुई सन्तानमात्रको आदर्श परिवार, बालमृत्यु र मातृमुत्यदर न्यूनीकरणलगायतमा प्रगति भएको नगरपालिकाले दाबी गरेको छ ।


जनसंख्याको हिसाबले सबैभन्दा ठूलो दुल्लु नगरपालिकाले ९१ धार्मिक तथा पुरातात्त्विक स्थलको संरक्षणलाई मुख्य उपलब्धि ठानेको छ । सबै योजना टुक्रे भएकाले खासै प्रतिफल हासिल नभएको सरोकारवाला बताउँछन् । गतवर्ष वडा नं. ३ र ९ लाई पूर्ण सरसफाइयुक्त वडा घोषणा गरिएको दुल्लुले जनाएको छ । आठबीस नगरपालिकाले नगरपालिकाभित्र करिब २६ किलोमिटर सडक निर्माण गरेको जनाएको छ । आठबीसले पनि गत आर्थिक वर्षमा सडकबाहेक अन्य सबै योजना टुक्रे रूपमा सञ्चालन गरेको पाइएको छ ।


जिल्ला समन्वय समितिका प्रमुख प्रेम थापाले जनप्रतिनिधिले विकासमा राजनीति जोड्दा समस्या भएको बताए । उनले कर्मचारी अभावका कारण पनि स्थानीय सरकारका काम प्रभावकारी नदेखिएको जनाए । ‘जनप्रतिनिधिले कर्मचारी पार्टीगत रूपमा भर्ना गरेका छन्,’ उनले भने,‘त्यसले कसरी कामको प्रतिफल दिन्छ ?’


नेपाली कांग्रेसका कार्यवाहक अध्यक्ष पूर्ण चालिसेले प्रत्येक वडामा डोजर आतंक फैलिएको आरोप लगाए । प्रदेशसभा सदस्य अमर थापाले डेढ वर्ष कामभन्दा झारा टार्ने प्रवृत्ति देखिएको बताए । स्थानीय तहप्रति स्थानीयवासीको ठूलो आशा रहेको उनको भनाइ छ ।


कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले अर्बौंको बजेट आए पनि स्थानीय सरकार साना योजनामा अल्भँmदा स्थानीयवासीले विकासको अनुभूति गर्न नपाएको बताए । ‘सबै तहमा सडकबाहेक कुनै नयाँ काममा प्रगति देखिएन्,’ उनले भने,‘स्थानीय तहलाई दिएको सम्पूर्ण अधिकार जनप्रतिनिधिले प्रयोग गर्न नसक्दा समस्या देखियो ।


नौमुले गाउँपालिकाले सदरमुकाम–नौमुले सडक बाह्रै महिना सञ्चालन गर्न सफल भएको जनाएको छ । त्यस्तै डुंगेश्वर गाउँपालिकाले महिला सशक्तीकरण कार्यक्रम सञ्चालन गरेको जनाएको छ । ठाटीकाँध गाउँपालिकाले सडक गुरुयोजना निर्माण गरी सडक निर्माणको कामलाई तीव्रता दिएको छ ।


महाबुले गाउँपालिका भवन निर्माणलाई गतवर्षको आफ्नो मुख्य उपलब्धि मानेको छ । सदरमुकामसम्म राष्ट्रिय विद्युत् प्रसारण लाइन विस्तारको काम गरिएको जनप्रतिनिधिले जनाएका छन् । त्यस्तै चामुण्डा बिन्द्रासैनी नगरपालिकामा नगरपार्क, खेलमैदान र फराकिला सडक निर्माणको नीति कार्यान्वयनमा ल्याइएको छ ।


गुराँस गाउँपालिकाले विभिन्न कार्यालय र १० विद्यालयमा गतवर्ष विद्युतीय हाजिरी सुरु गरेको छ । लघुउद्यम विकास कार्यक्रमअन्तर्गत दालमोट, आलु चिप्सको उद्योग सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ । गुराँसमा एक घर, एक पोखरीको अवधारणालाई लागू गरी परीक्षणका रूपमा वडा नं. ६, ७ र ८ मा ९० प्लास्टिक पोखरी निर्माण गरिएको छ ।


यसवर्ष आठबीस नगरपालिकाले रामाघाटदेखि पीपलकोट सडकलाई प्राथमिकतामा राखेको छ । नारायण नगरपालिकाले पञ्चकोसी–कोटिला ताल, राइली त्रिपानी पर्यटकीय क्षेत्र पूर्वाधार विकास ऐतिहासिक गढी, पञ्चदेवल, तीर्थस्थल संरक्षण र प्रदेशस्तरीय रंगशाला निर्माणलाई यसवर्ष प्राथमिकतामा राखेको छ ।


दुल्लुले ‘दुल्लु सांस्कृतिक संग्रहालय’ को स्थापना, नगरभित्र १६ किमि क्षेत्रमा टेलिमेडिसनका लागि अप्टिकल फाइबर विस्तार, पञ्चकोसी वेद विद्याश्रम स्थापनालगायत योजनालाई यसवर्ष प्राथमिकता दिई बजेट विनियोजन गरेको छ ।

प्रकाशित : आश्विन १५, २०७५ १०:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?