१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

चिनियाँ मदिरा आयातमा कडाइ

गाउँमा मदिरा नियन्त्रण अभियान
५ हजार ७ सय लिटर नष्ट
नियन्त्रण गर्न स्थानीय आफै खटिए
चीन संग जोडिएका हुम्लाका ४ वटा नाकामा पनि कडाइ

हुम्ला/मुगु — यहाँका गाउँगाउँमा मदिरा नियन्त्रण अभियान सुरु गरिएको छ । मदिरा नियन्त्रणका लागि हुम्ला र मुगुमा प्रहरी सक्रियता बढेको छ । चिनियाँ नाकाबाट नेपाल भित्रने मदिरा नियन्त्रणका लागि विशेष निगरानी बढाइएको छ ।

चिनियाँ मदिरा आयातमा कडाइ

तिब्बत सीमा क्षेत्रका प्रहरी इकाइलाई मदिरा नियन्त्रण गर्न निर्देशन दिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । चाडपर्व नजिकिंदै गर्दा गाउँमा अवैध चिनियाँ मदिरा भित्रिन्छ । यस वर्ष सीमामा गरिएको कडाइका कारण गाउँमा चिनियाँ मदिराको कारोबार न्यून छ । स्थानीय तहसँग समन्वय गरी घरेलु मदिरा र अवैध मदिरा नियन्त्रण अभियान सुरु गरिएको हो ।


चिनियाँ नाकाबाट चाडपर्वलाई लक्षित गर्दै मदिरा भित्रन सक्ने भन्दै स्थानीय प्रशासनले उच्च निगरानी थालेको छ । मदिराका कारण चोरी, डकैती, घरेलु हिंसा र अपराधका घटनामा वृद्धि भएको निष्कर्ष निकाल्दै स्थानीय प्रशासनले सक्रियता बढाएको हो ।


मुगुका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले गाउँगाउँमा मदिरा नियन्त्रण अभियानलाई तीव्रता दिइएको बताए । उनका अनुसार स्थानीय तहसँग मिलेर मदिरा नियन्त्रण थालिएको छ । उनले शनिबार सोरु गाउँपालिकाको सोरुकोटमा पुगेर सर्वपक्षीय बैठकको आयोजना गरी मदिरा निषेध गर्ने निर्णय गरिएको बताए ।


उनका अनुसार असारमा खत्याड गाउँपालिकामा पुगेर सर्वदलीय बैठकको आयोजना गरी मदिरा नियन्त्रण गर्ने निर्णय गरिएको थियो । मगुका चार स्थानीय तहमध्ये छायानाथ रारा नगरपालिकामा मदिरा नियन्त्रण अभियान प्रभावकारी बनेको स्थानीय प्रशासनले जनाएको छ । सडक र हवाईमार्गबाट जिल्लामा भित्रने अवैध मदिरा जफत गर्न थालिएको छ । गमगढी बजार क्षेत्रका पसल र होटलमा घरेलु मदिरा उत्पादन तथा बिक्री वितरणमा रोक लगाइएको छ ।


असोज पहिलो साता सडक मार्ग हुँदै जिल्लामा भित्रिएको १२ लाख रुपैयाँको चार सय ४० कार्टुन बियर वडा नं. ४ का जनप्रतिनिधि र सुरक्षाकर्मीले जफत गरेका थिए । वडाध्यक्ष विष्णु भामले नेपालगन्जबाट तारा एयरबाट आएको चार कार्टुन बियर पनि जफत गरिएको जनाए । उनका अनुसार वडा कार्यालयले भामबाडा, कार्कीबाडालगायत क्षेत्रमा मदिरा उत्पादन गर्ने १८ थान घ्याम्पो बरामद गरेको थियो ।


गमगढी बजारमा करिब पाँच हजार सात सय लिटर घरेलु मदिरा र दुई सय १६ क्विन्टल गाँजा नष्ट पारिएको प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले बताए । त्यस्तै पुलु प्रहरी चौकीले तिब्बतबाट अवैध रूपमा आयात भएको २० पेटी रक्सी बरामद गरेको छ । मदिरामा कडाइ गरेपछि गमगढी बजारमा झैझगडा, हो–हल्लालगायतका गतिविधि बन्द भएका छन् । जिल्ला प्रहरीका अनुसार करिब मादक पदार्थ सेवन गरेका तीन सय व्यक्तिलाई जरिवाना गरिएको छ । मदिरा सेवनमा कडाइ गरिएपछि साँझ ८ बजेपछि गमगढी बजार क्षेत्र सुनसान हुने गरेको छ ।


मंसिर १ गतेबाट छायानाथ–रारा नगरपालिकालाई मदिरामुक्त बनाउन लागेको नगरप्रमुख हरिजंग शाहीले बताए । मदिरा सेवन गर्नेलाई पाँच हजार र उत्पादन तथा बिक्री गर्नेलाई तीन हजार रुपैयाँ जरिवाना तोकिएको उनले जनाए । उनले दैनिक सुरक्षाकर्मी र कर्मचारी खटाएर मदिरा नियन्त्रणका लागि विभिन्न कामहरू गरिरहेको जनाए । बाहिरबाट आउने मदिरामा कडाइ गरिएको उनको भनाइ छ ।


मदिरा नियन्त्रण अभियानमा व्यावसायीको समेत सहयोग पाइएपछि नियन्त्रणमा सजिलो भएको जनप्रतिनिधिले जनाएका छन् । मदिरा उत्पादन र बिक्री वितरण गर्दै आइरहेका व्यवसायीले अन्य पेसा रोज्न थालेका छन् । सामाजिक विकास र शान्तिसुरक्षा कायम गर्न स्थानीय सरकार र प्रशासनलाई मदिरा नियन्त्रण अभियानमा सहयोग गरिरहेको उद्योग वाणिज्य संघका अध्यक्ष कमल बुढाले बताए । ‘मदिराकै उत्पादन र व्यापार गर्ने व्यवसायीलाई पेसा परिवर्तन गर्न आग्रह गरिएको छ,’ उनले भने, ‘स्थानीयबासीबाट समेत राम्रो प्रतिक्रिया पाएपछि अभियानमा साथ दिइएको छ ।’


मदिरा नियन्त्रण अभियानमा स्थानीयले समेत साथ दिन थालेका छन् । मदिरा नियन्त्रण थालिएपछि ग्रामीण क्षेत्रमा समेत विभिन्न घटनामा कमी आएको ढुम गाउँकी लडी सुनारले बताइन् । उनका अनुसार गाउँमा आमा समूह र युवा समूहले अभियानलाई संस्थागत रूपमा साथ दिएका छन् । उनले गाउँमा मदिरा सेवन वा बिक्री वितरण भएको थाहा पाए समूहले नियन्त्रण र जरिवाना गर्न थालेको छ ।


नगरपालिकाभित्र घरेलु मदिरा उत्पादन गरी जीविकोपार्जन गर्दै आएका परिवारका लागि नगरले आयआर्जनको कार्यक्रम घोषणा गरेको छ । मदिरा उत्पादन बन्द भएपछि उनीहरूलाई आयआर्जनका कार्यक्रम सञ्चालन गर्न योजना प्रस्ताव माग गरिएको नगरप्रमुख शाहीले बताए ।


‘उनीहरूलाई आत्मनिर्भर हुने विभिन्न सीपमूलक तालिम दिई व्यवसाय सञ्चालनमा समेत आवश्यक रकम सहयोग गरिनेछ,’ उनले भने, ‘छिट्टै उक्त कार्यक्रम सञ्चालनको तयारीमा छौं ।’


नाकामा कडाइ
जिल्ला प्रहरी कार्यालय हुम्लाले अवैध मदिरा नियन्त्रणमा सक्रियता बढाएको छ । अवैध तरिकाले विभिन्न नाकाबाट भित्रिने चिनियाँ मदिरा नियन्त्रण गर्न सक्रियता बढाएको हो ।


जिल्ला प्रहरी कार्यालयले आइतबार एक कार्यक्रमबीच भदौ १९ गते प्रहरीको गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारेको ७२ बोतल चिनियाँ मदिरा नष्ट गरेको छ । विभिन्न कार्यालय तथा निकायका प्रतिनिधिको उपस्थितिमा मदिरा नष्ट गरिएको हो । नष्ट गरिएको मदिरा सिमकोट गाउँपालिका –१, दोजामा फेला परेको थियो । आइतबारै प्रहरी चौकी ठेहेले बरामद गरेको सात सय २० बोतल चिनियाँ मदिरा चौकीमै नष्ट गर्न निर्देशन दिइएको हुम्ला प्रहरी प्रमुख डीएससपी रविन श्रेष्ठले बताए । उनका अनुसार भदौ पहिलो साता विभिन्न मितिमा चंखेली गाउँपालिकाको नेप्क गाउँदेखि उत्तर टाँके नाकामा फेला परेका चिनियाँ मदिरा सम्बन्धित स्थानमै नष्ट गरिएको थियो ।


चंखेली गाउँपालिका अध्यक्ष धनलाल चौलागाईंले गाउँपालिकामा मदिरा नियन्त्रण गर्ने निर्णय गरिएको बताए । उनले मदिरा नियन्त्रणका लागि विभिन्न कार्यक्रम सञ्चालन भइरहेको बताए । उनका अनुसार प्रहरीको सहयोगमा नेप्क नाकामा स्थानीयबाट जफत पाँच सय चार बोतल र जंगलमा लुकाइछिपाई राखेको तीन सय ३६ बोतल चिनियाँ मदिरा नष्ट गरिएको छ । ‘गाउँपालिकाको निर्णय कार्यान्वयन गर्ने क्रममा मदिराको बिक्री वितरण र नियन्त्रण अभियानलाई तीव्रता दिइएको छ,’ उनले भने, ‘त्यसका लागि प्रहरी, स्थानीयबासी र विभिन्न समूहलाई समेत परिचालन गरिएको छ ।’


हुम्लामा चीनसँग सीमा जोडिएका चार नाका छन् । चारवटै नाकाबाट चिनियाँ मदिरा आयात हुने गरेको छ । नाम्खा गाउँपालिकाको हिल्सा र लिमीलाप्चा, सिमकोट गाउँपालिकाको दोजाम तथा चंखेली गाउँपालिकाको टाँकेबाट आयात हुने मदिरा नियन्त्रणका लागि सबै स्थानीय तह र स्थानीय प्रशासनले सक्रियता बढाएका छन् । हिल्साबाहेक अन्य नाका वर्षाको समयमा मात्रै सञ्चालन हुने गरेका छन् । हुम्लामा चिनियाँ मदिरा प्रतिबोतल पाँच सय रुपैयाँमा बिक्री हुन्छ ।


चारबुँदे निर्णय
जिल्ला प्रहरी कार्यालयले आयोजना गरेको सर्वपक्षीय भेलाले दसैं, तिहारजस्ता चाडपर्वमा कुनै अप्रिय घटना हुन नदिन चारबुँदे निर्णय गरेको छ । चाडपर्व नजिकिएका कारण विभिन्न घटना घट्ने भन्दै त्यसको सतर्कताका लागि प्रहरीले सर्वपक्षीय भेलाको आयोजना गरेको थियो ।


भेलाले अवैध मदिरा उत्पादन, बिक्री वितरण, दुव्र्यसन तथा जुवातास खेल्ने खेलाउने जस्ता गैरकानुनी गतिविधि नियन्त्रण गर्ने निर्णय गरेको छ । त्यस्तै चाडपर्वका नाममा पटका, आतिसबाजीलगायत विस्फोटक पदार्थ ओसारपसार र प्रयोगमा रोक लगाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित : आश्विन १७, २०७५ १२:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?