कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

२ महिनामा २६ बालविवाह रोकिए

प्रहरीको सक्रियताले लालु, कुमालगाउँ, माल्कोट, रुप्सा, रकु, मेहेलमुडी, ओदानकु, मान्म र भर्तालगायत स्थानमा २६ बालबिवाह रोकिए
तुलाराम पाण्डे

कालीकोट — दिनहुँ बालविवाहका घटना सार्वजनिक हुन थालेपछि नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालयले सक्रियता देखाएको छ । जिल्लामा अत्यधिक बालविवाह हुने गरेको गुनासो बढेपछि त्यसविरुद्ध प्रहरीले अभियान सुरु गरेको हो । प्रहरीकै सक्रियतामा दुई महिनामा २६ बालविवाह रोकिएका छन् ।

२ महिनामा २६ बालविवाह रोकिए

प्रहरीको सक्रियताले लालु, कुमालगाउँ, माल्कोट, रुप्सा, रकु, मेहेलमुडी, ओदानकु, मान्म, भर्तालगायत स्थानमा २६ बालविवाह रोकिएका हुन् । जिल्ला प्रहरी प्रमुख (डीएसपी) विनोद शर्माका अनुसार प्रहरी बालविवाहविरुद्ध कार्ययोजना निर्माण गरेर गाउँ–गाउँमा पुग्ने गरेको छ ।

उनले बालविवाह विरुद्धको अभियानमा मातहतका प्रहरी इकाइलाई सक्रिय बनाएको बताए । प्रहरीले घरदैलो, माइकिङ, आमभेला र अन्तक्र्रियामार्फत बालविवाहका नकारात्मक पक्ष र कानुनी प्रावधानबारे जानकारी दिने गरेको छ । विवाह गरिसकेका सबैजसो जोडी र अभिभावकलाई भेला गरेर सम्झाइबुझाई गरेको छ भने गाउँमा कसैले बालविवाह गरे प्रहरीले नछाड्ने चेतावनी दिएको छ ।

‘कतिपय गाउँमा घरदैलो पनि सकेका छाैं,’ शर्माले भने, ‘उमेर नपुगेर विवाह गरे/गराएमा विवाह बदरदेखि गर्ने/गराउनेलाई जेल सजाय हुनेछ ।’ प्रहरी प्रमुख शर्मा भदौ अन्तिम साता नरहरिनाथ गाउँपालिकामा पर्ने कुमालगाउँ, कोटवाडा, माल्कोट हुँदै लालु पुगेर सदरमुकाम फर्किए ।

बालविवाह बढी हुने रकु र राचुलीलगायत गाउँमा गत वर्ष प्रहरी अधिकृत पुगेर बालविवाहको असर र कानुनी प्रावधानबारे घरदैलो गरिएको प्रहरी निरीक्षक निरोज चौलागाईले बताए । उनका अनुसार भदौयता स्थानीय स्रोतव्यक्ति, बाल क्लबका प्रतिनिधिले मोबाइल म्यासेजमार्फत दिएको जानकारीका आधारमा बालविवाह रोकिएका छन् ।

डीएसपी आफैं गाउँ पुगेर बालविवाहविरुद्धको अभियानमा सहभागी भएपछि अभियान सफल हुने बालअधिकारकर्मी बाले विश्वकर्माले बताए । १४/१५ वर्षको उमेरमा विवाह गर्ने १६/१७ वर्षमै आमा बन्ने किशोरीको संख्या कालीकोटमा ९ सय बढी रहेको जिल्ला स्वास्थ्यको पहिलो गर्भ जाँच रेकर्डले देखाएको छ ।

बालविवाह गरेका अधिकांश किशोरीलाई चार पटक गर्भ जाँच गराउनुपर्छ भन्ने जानकारीसमेत छैन । आइरन चक्की, जुकाको औषधी, खोपबारे पनि बेखबर छन् । प्रहरी सक्रिय हुन थालेपछि जिल्लामा बालविवाहका घटना सार्वजनिक हुन थालेका छन् । बालविवाहले समाजमा नकारात्मक असर बढी पारेको खाँडाचक्र नगरपालिकाकी उपप्रमुख विजया विष्टले बताइन् । ‘बालविवाहले महिला हिंंसा बढाएको छ,’ उपप्रमुख विष्टले भनिन्, ‘यसको अन्त्य नभएसम्म महिलामाथिका विभेद र हिंसा रोकिंदैन ।’ उनले बालविवाहले महिलाको स्वास्थ्य कमजोर भई अकालमै ज्यान गुमाउनुपर्ने, धेरै सन्तान जन्मिने, बालबालिका पनि कुपोषित हुने, बहुविवाह हुने, पढ्न नपाउने, परनिर्भर हुनुपर्नेजस्ता समस्या हुने गरेको जनाइन् ।

जिल्ला अदालतका अनुसार बालविवाह गरेका महिलाले बढी बहुविवाह भोग्नुपरेकोले सम्बन्ध विच्छेदका लागि मुद्दा दिएको पाइएको छ । बालविवाहका नकारात्मक असरबारे अभिभावक र बालबालिकालाई जानकारी भए पनि थाहा नपाएजस्तो गरेर निरन्तरता दिइरहेको अधिवक्ता दमनराज बमले बताए । ‘बालविवाह गर्ने विरुद्ध कानुनी उपचार खोज्ने चलन अझै छैन,’ उनले भने, ‘सकेसम्म उजुरी नै आउँदैनन्, आइहाले पनि मिलापत्रमै टुंग्याउने प्रवृत्ति छ ।’

चरम गरिबी, लैंगिक विभेद, रुढीवादी चलन, घरायसी कामको सहजता लगायत कारण बालविवाह बढी हुने गरेको छ । बालविवाह न्यूनीकरणका लागि प्रहरी पनि सक्रिय हुन थालेपछि कोटवाडा गाउँ बाल संरक्षण समिति संयोजक मानबहादुर विष्टले अभियानले सार्थकता पाउने बताए । उनले कोटवाडामा बालबालिकाका सवालबारे नियमित बाल कचहरी सञ्चालन हुन थालेपछि बालविवाहमा कमी आएको जनाए ।

२० वर्ष नपुगी विवाह गर्न नपाइने कानुनी प्रावधान भए पनि कालीकोटमा ५७ प्रतिशत उमेर नपुगेर विवाह हुने गरेको छ । पलाताका खिन र धौलागोहमा सवल परियोजनामार्फत ६ महिनाअघि गरिएको सर्भे अनुसार बालविवाह ८६ प्रतिशत छ । साबिकका १२ गाविसमा गरेको सर्भेक्षण अनुसार २० वर्ष नपुगी गरिएको विवाहको प्रतिशत ५७ छ भने १८ वर्षमुनि २५ प्रतिशतले बालविवाह देखिएको छ ।

प्रकाशित : आश्विन १८, २०७५ १०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?