कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

गुणस्तर सुधार्न शैक्षिक मेला

बाल विकास केन्द्रदेखि कक्षा ३ सम्मका बालबालिकाको पढाइको गति बढाउन, लेखाइ सीप सुधार्न र अक्षर, शब्द तथा वाक्य बोध गराउन मेला सञ्चालन
तुलाराम पाण्डे

नरहरिनाथ, कालिकोट — खस्किँदो शैक्षिक गुणस्तर सुधार्न विद्यालयले अभिभावकको अगुुवाइमा शैक्षिक मेला आयोजना गर्न थालेका छन् । अन्तर विद्यालयस्तरमा प्रतिस्पर्धा गराएर नरहरिनाथ गाउँपालिकामा शैक्षिक मेलाको आयोजना गरिएको हो ।

गुणस्तर सुधार्न शैक्षिक मेला

बाल विकास केन्द्रदेखि कक्षा ३ सम्मका बालबालिकाको पढाइको गति बढाउन, लेखाइ सीप सुधार्न र अक्षर, शब्द तथा बाक्य बोध गराउन मेला सञ्चालन गरिएको छ । कक्षा कोठामा अक्षर, अंक चार्टसहित स्थानीय सामग्रीबाट निर्माण गरिएका शैक्षिक सामग्री प्रयोग गर्ने गरिएको छ ।


स्रोतव्यक्ति रामप्रसाद भुसालका अनुसार गाउँपालिकाले नयाँ शिक्षा नीति बनाएर कार्यान्वयन गर्न थालेको छ । गाउँपालिकाले सेभ द चिल्ड्रेनको सहयोग र शिक्षाविद् डा. विद्यानाथ कोइरालाको सहजीकरणमा शिक्षा नीति बनाएको छ । शैक्षिक मेलामा शिक्षालाई केन्द्रमा राखेर बालबालिकाका अन्तर्निहित क्षमता देखाउने, सिक्ने र सिकाउने वातावरण तयार गरिएको गाउँपालिकाका अध्यक्ष धीरबहादुर बिष्टले बताए । गाउँपालिकाको समृद्धिका लागि शिक्षालाई पहिलो प्राथमिकता दिइएको उनको भनाइ छ । असोज पहिलो साता अनिवार्य तथा आधारभूत शिक्षा सुनिश्चित भएको गाउँपालिका घोषणा गरिएको छ ।


मेलामा स्थानीय कृषकको दैनिकी र खेतीपातीसँग सम्बन्धित सामग्री विशेष आकर्षक भएको शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख मकरबहादुर भण्डारीले बताए । मेलामा जनता आधारभूत विद्यालय कुमालगाउँ, शान्ति आधारभूत विद्यालय माल्कोट, दीपेन्द्र राष्ट्रिय आधारभूत रुप्सा, रमा मावि कुमालगाउँ, नन्दादेवी मावि कोटवाडा उत्कृष्ट भएको सहयात्रा परियोजनाले जनाएको छ ।


गाउँपालिकाले यसै वर्ष बनाएको शिक्षा नीतिमा तत्कालीन रणनीतिको रूपमा गाउँ शिक्षा र वडा शिक्षा समिति गठन गर्ने उल्लेख छ । वडा शिक्षा समितिले समुदायमा आधारित शैक्षिक सूचना व्यवस्थापन प्रणालीअनुसार समुदायको घरधुरी, जननसंख्या, विद्यालय जाने उमेरका बालबालिकाको संंख्या, विद्यालय गए नगएकाको विवरण संकलन गरी विश्लेषण गरेर विद्यालय बाहिर रहेको समस्या पहिचान गरी नियमित गर्ने जनाइएको छ । त्यस्तै सूचकमा आधारित वडास्तरीय शिक्षा योजना निर्माण गर्ने, भौगोलिक विकटता, सामाजिक कुरीति, आर्थिक अवस्था, भाषा, फरक क्षमताजस्ता सवालको समाधान हुने गरी स्रोतको संकलन तथा वितरण गरिने व्यवस्था गरेको छ ।


नीतिअनुसार सबै बालबालिकालाई विद्यालय भर्ना गर्ने, नियमित गर्न अभिभावक शिक्षा संचालन, शिक्षक, विद्यार्थी र अभिभावकबीच अन्तक्र्रिया संचालन गर्ने गाउँपालिकाले जनाएको छ । वडापालिकाबाट जन्म, विवाह दर्ता गर्न आउँदा अभिभावकसँग बालबालिकाको शिक्षाको अवस्थाबारे सोधखोज गरी समस्या समाधानको पहल गर्ने उल्लेख छ ।


त्यस्तै, बालबालिकालाई दिवा खाजाको लागि अभिभावक जिम्मेवार बनाइने, अनिवार्य ड्रेसको व्यवस्था गर्ने, टिफिन बक्स सहयोग गर्ने, विद्यालय हाताभित्र फलफूल खेतीजस्ता उपाय अपनाई गाउँपालिकास्तरमा शिक्षा कोष स्थापना गरिने नीतिमा उल्लेख छ ।


नरहरिनाथ गाउँपालिकाले आधारभूत तहसम्मको शिक्षा अनिवार्य र नि:शुल्क बनाउने प्रतिबद्धता गर्दै दलित समुदाय, अपांगता भएका र आर्थिक रूपले विपन्न बालबालिकालाई विशेष प्याकेजसहित शिक्षा दिने नीति अगाडि बढाएको छ । नीतिअनुसार यस वर्षको वार्षिक बजेटको ३० प्रतिशत रकम शिक्षा क्षेत्रमा विनियोजन गरेको गाउँपालिकाका लेखापाल जोरासिंह बोहोराले बताए । गाउँपालिकाको शिक्षा नीतिमा शिक्षाको बजेट ३५ प्रतिशत पुर्‍याइने उल्लेख छ ।


गाउँपालिकाले ९० प्रतिशत विद्यालयका कनिष्ठ प्रधानाध्यापक परिवर्तन गरेर स्थायी र माथिल्लो तहकालाई प्रअको जिम्मेवारी दिएको छ । ६ वटा विद्यालय मर्ज गरिएको छ । गाउँपालिकाले शिक्षक–विद्यार्थी नियमितताको लागि हाजिरी लेखाजोखा, कमजोर विद्यार्थीलाई उपचारात्मक कक्षा, घरमा पठनपाठनको वातावरण बनाउन घरमै पढाइ र शनिबार कक्षा सञ्चालन गर्न थालेको रमा मावि कुमालगाउँका प्रधानाध्यापक हरिषचन्द्र बटालाले बताए । साविकका लालु, माल्कोट, रुप्सा, कुमालगाउँ र कोटवाडा गाविस मिलेर बनेको नरहरिनाथ गाउँपालिका जिल्लाको सबैभन्दा बढी जनसंख्या भएको स्थानीय तह हो ।

प्रकाशित : आश्विन १९, २०७५ १०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?