बालुवा बिक्री नहुँदा दसैं खर्चको चिन्ता

(मुगु / सल्यान — छायानाथ रारा नगरपालिकाको बालै गाउँका उदिम भामले बालै खोलाबाट दु:ख गरी निकालेको बालुवा लामो समयदेखि बिक्री गर्न सकेका छैनन् । उनलाई बालुवा बिक्री नभएपछि कसरी दसैं खर्च टार्ने भन्ने चिन्ताले सताएको छ ।

बालुवा बिक्री नहुँदा दसैं खर्चको चिन्ता

दुई महिना लगाएर निकालेको करिब डेढ लाख रुपैयाँको बालुवा थन्किएको छ । स्थानीय अंग भामले संकलन गरेको करिब एक लाख रुपैयाँको बालुवा बिक्री हुन सकेको छैन ।


यी दुईमात्र होइनन्, बालै गाउँका एक सय ५० घरधुरीको बालुवा खोला किनारमै थन्किएको छ । वर्षाका कारण गमगढी–बालै ग्रामीण सडक बन्द भएपछि उनीहरूको बालुवा बिक्री हुन नसकेको हो । सडकको ठाउँ ठाउँमा पहिरो गएपछि ट्याक्टर चल्न नसक्दा स्थानीयले संकलन गरेको बालुवा बिक्री हुन नसकेको हो ।

सडकमा पहिरो गएका कारण खच्चडमार्फत गमगढी पुर्‍याएर बेच्नसमेत समस्या भएको स्थानीयको गुनासो छ । ‘परिवारका सबै सदस्य लागेर खोलाबाट निकालिएको बालुवा दुई महिनादेखि बेच्न पाइएन,’ अंग भामले भने, ‘बालुवा बिक्री नहुँदा दसैंखर्चको पिरलो भएको छ ।’ उनले पाँच वर्षदेखि खोलाको बालुवा संकलन गरेर बिक्री गर्दै जीविकोपार्जन गरिरहेका छन् । स्थानीयले निकालेको बालुवा गमगढी, ताल्चालगायत बजारमा बिक्री हुने गरेको छ ।


सडक अवरुद्ध हुँदा करिब ८० लाख रुपैयाँको बालुवा बिक्री हुन नसकेको बालै गाउँका सलबहादुर रावलले बताए । गमगढी–बालै सडकअन्तर्गत लेतेखोला, बुकाखोला र गोदयाखोलामा ठूलो पहिरो गएको छ । बालै गाउँका स्थानीयको मुख्य आयस्रोत नै बालुवा बिक्री हो । स्थानीयले असारदेखि भदौसम्म खोलाबाट बालुवा निकालेर जम्मा गर्ने र असोजपछि ट्याक्टरमा लिएर गमगढी बजारमा बेच्ने गरेका छन् ।

गत वर्ष बालैका स्थानीय बासिन्दाले करिब ३० लाख रुपैयाँको बालुवा बिक्री गरेको स्थानीय धनबहादुर भामले बताए । त्यसमध्ये १८ लाखको बालुवा जिल्ला अस्पताल भवन निर्माणमा बिक्री भएको थियो । ‘यसपालि बालुवा बिक्री नहुँदा दसैं कसरी मनाउने भन्ने चिन्ता छ,’ उनले भने, ‘सडक मर्मतका लागि पटकपटक नगरपालिकाको ध्यानाकर्षण गराए पनि बेवास्ता भइरहेको छ ।’ गमगढी बजारमा पक्की सरकारी भवन तथा निजी घर निर्माण हुने क्रम बढेपछि स्थानीयले बालुवा संकलनलाई मुख्य पेसा बनाएको उनको भनाइ छ । वर्षौंदेखि बालै बगरको बालुवाले मूल्य पाएको छ ।


यसअघि मजदुरीका लागि भारत तथा जिल्लाबाहिर जाने स्थानीयले बालुवा संकलन गरेर गाउँमै रोजगारी पाएका छन् । बालुवाबाट राम्रो फाइदा भएपछि स्थानीयबासी अरू व्यवसाय छोडेर बालुवा संकलनतिर लागेका थिए । बालै बगर किनारमा बालुवा संकलन गरी खात लगाएर राख्ने गरेका छन् । गतवर्ष बालुवा बिक्री गरेर ५० हजार नाफा गरे पनि अहिले एक मुठी बालुवा बिक्री नभएको स्थानीय उदिम भामले बताए । ‘खोलाबाट निकालेको बालुवा थन्किएपछि दसैंखर्चका लागि ऋण खोज्नुपर्ने भएको छ,’ उनले भने, ‘सडक निर्माण समयमै सुरु भएको भए अहिलेसम्म सबै बालुवा बिक्री हुने थियो ।’


पहिरोले अवरुद्ध गमगढी–बालै सडक छिटो खुलाइने नगरपालिका प्रमुख हरिजंग शाहीले बताए । ‘स्थानीयले पटकपटक सडक खुलाउन आग्रह गरिरहनुभएको छ,’ उनले भने, ‘दसैंअघि सडक खुलाउने गरी एक/दुई दिनभित्रै मर्मतको काम सुरु हुनेछ ।’ उनले धेरै स्थानमा सडक अवरुद्ध भएकाले प्राथमिकताका आधारमा सडक खुलाइरहेको जनाए ।
गिट्टी–बालुवा बेचेर जीविकोपार्जन शारदा नगरपालिका–१, शान्तिनगरकी ३५ वर्षीया सायरा बानु नेपाली दिनहुँ शारदा खोला किनारमा भेटिन्छिन् । उनले खोलाको गिट्टी बालुवा निकालेर बिक्री गर्न थालेको १० वर्ष भयो । पुख्र्यौली पेसा संकटमा परेपछि स्थानीय गीता नेपालीले ६ वर्षदेखि गिट्टी–बालुवा बिक्रीलाई आफ्नो पेसा बनाएकी छन् ।


यी दुईमात्र होइन, शान्तिनगरमा बस्दै आएका २० बादी परिवारले शारदा खोलाको गिट्टी बालुवा निकालेर बिक्री गर्दै जीविकोपार्जन गरिरहेका छन् । लामो समयदेखि खोलाबाट गिट्टी बालुवा निकालेर बेच्न थाले पनि घर खर्च चलाउन हम्मेहम्मे परेको उनीहरूको गुनासो छ । उनीहरूका बालबालिका समेत साँझ बिहान गिट्टी बालुवा संकलनको काम गर्न बाध्य छन् । मादल बनाउने र माछा मार्ने पुख्र्यौली पेसा संकटमा परेपछि उनीहरूले यसैबाट जीविकोपार्जन गरिरहेका हुन् । अधिकांशका पति बेरोजगार छन् । महिलाले आफैं परिवारको खर्चको जोहो गर्दै आइरहेका छन् । जनता आवास कार्यक्रम मार्फत घर बनाउन अनुदान पाएका बादी परिवारले घर निर्माणको कर्जा तिर्नसमेत बालुवा संकलन गर्न थालेका हुन् ।


‘घर निर्माण गर्न सरकारले दिएको रकमले पुगेन, त्यसैले नजिकका सहकारीबाट ऋण निकाल्यौं,’ नेपालीले भनिन्, त्यसैको किस्ता तिर्न र घरखर्च चलाउन बिहानदेखि साँझसम्म गिट्टी बालुवा संकलन गरेर बिक्री गर्दै आइरहेका छौं । बादी समुदायको घर निर्माणका लागि सरकारले दुई लाख ५० हजार रुपैयाँ अनुदान दिएको थियो । सबै घरधुरीले ५० हजार बढी रकम थप लगानी गरेका छन् । बस्तीका १० महिलाले सामूहिक रूपमा गिट्टी बालुवा निकाल्ने गरेको उनले बताइन् ।


घर बाहेक खेती गर्ने जग्गा नभएकोले समस्या भएको बादी समुदायको गुनासो छ । स्थानीय संगीता नेपालीका अनुसार सामूहिक रूपमा दैनिक एक/दुई ट्याक्टर बालुवा निस्कने गरेको छ । प्रतिट्याक्टर दुई हजार रुपैयाँमा उनीहरूले बालुवा बिक्री गर्ने गरेका छन् । व्यक्तिगत भाग लगाउँदा दैनिक दुई सय रुपैयाँ मात्र कमाई हुने उनको भनाइ छ । ‘त्यो रकमले घरखर्च चलाउने कि समूहको ऋण तिर्ने धेरै समस्या भयो,’ उनले भनिन्, ‘आर्थिक समस्याका कारण छोराछोरीलाई राम्ररी पढाउन सकिएको छैन ।’ उनको परिवारमा ६ जना सदस्य छन् ।


बादी समुदायका चार महिलाले ‘प्लस टु’ पास गरेका छन् । पढेलेखेका महिलासमेत बेरोजगार रहेको बादी अगुवाको गुनासो छ । बादी बस्तीमा सडक, विद्युतलगायत पूर्वाधार पुग्न सकेको छैन । सदरमुकाम नजिकैको बस्ती भए पनि धेरै समस्या रहेको स्थानीयले गुनासो गरे । सुकुम्बासी आयोगले दिएको जग्गाको लालपुर्जाले कर्जा उपलब्ध नहुने भएकाले राम्रो रोजगारी नभएको उनीहरूको गुनासो छ ।


मालपोतले जग्गा रोक्का गर्न नमानेपछि आफूहरू व्यवसायबाट वञ्चित भएको स्थानीयको भनाइ छ ।

प्रकाशित : आश्विन २०, २०७५ ०९:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?