१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

शिक्षक सधैं उपेक्षित

भीमबहादुर सिंह

जाजरकाेट — निजामति कर्मचारीले तलबभत्ता बुझेर घर हिँड्ने तयारी गरे पनि जाजरकोटका शिक्षकले अझैसम्म तलब पाएका छैनन् । यसअघि शिक्षकहरू भदौ अन्तिमदेखि असोज पहिलो सातासम्म दसैं पेश्कीसहित चौमासिक तलब बुझिसक्थे ।

शिक्षक सधैं उपेक्षित

जिल्लाका एक हजार ६ सय शिक्षक तलब र दसैं खर्चको पर्खाइमा छन् । ‘शिक्षकलाई सधैं दोस्रो दर्जाको जनशक्ति किन बनाइन्छ ?’ लक्ष्मीप्राप्ति मावि खुर्पाका प्रधानाध्यापक दिनेशकुमार सिंहले भने, ‘दसैंमा समेत तलब नपाएपछि कसरी दसैं मान्ने ?’ निजामती कर्मचारी तलबभत्ता बुझेर घर गइसक्दासमेत शिक्षकले बैंकमा लाइन लाग्नुपर्ने बाध्यता रहेको उनले बताए ।

यतिबेला अधिकांश शिक्षक विद्यालय बन्द गरेर सदरमुकाम खलंगामा आएका छन् । यद्यपि, शुक्रबार साँझसम्म कुनै पनि विद्यालयको खातामा तलब गएको देखिँदैन । निकासा आउन र स्रोतव्यक्तिले रुजु गर्न ढिलाइ हुनुका साथै बैंकिङ समस्याका कारण शिक्षकको तलबमा समस्या भएको लेखापालहरू बताउँछन् । भेरी नगरपालिकाका लेखा अधिकृत सुदीपसिंह सुनारले आइतबारसम्म विद्यालयको खातामा तलब निकासा भइसक्ने बताए । उनका अनुसार नगरपालिका क्षेत्रमा कार्यरत दुई सय शिक्षकका लागि चार करोड रुपैयाँ बजेट रहेको छ ।

छेडागाड र नलगाड नगरपालिकाका शिक्षकलाई भने तलबका लागि खलंगा आउन नपर्ने भएको छ । नलगाडमा एनआईसी एसिया र छेडागाडमा जनता बैंक स्थापना भएपछि सहज भएको हो ।समयमै खातामा तलब नआउँदा बैंकहरूलाई पनि व्यवस्थापनको चिन्ता थपिएको छ ।

नबिल बैंकका प्रबन्धक राजीव कार्कीले छोटो समयमा एक हजार शिक्षक, सेना, प्रहरी, कर्मचारी लगायतको तलब भुक्तानी दिन कठिन हुने बताए । ‘समयमै निकासा भइदिएको भए तलब खुवाउन सजिलो हुने थियो,’ उनले भने, ‘एकैपटक भीड लाग्ने हुँदा निकै समस्या हुने देखिन्छ ।’

कोष तथा लेखा नियन्त्रण कार्यालयका लेखापाल खिमबहादुर थापाले स्थानीय तहले ससर्त अनुदानको रकम समयमै फिर्ता नगर्दा निकासामा ढिलाइ भएको बताए । प्रत्येक स्थानीय तहको मूलखातामा गत वर्षकै तीनदेखि पाँच करोड बजेट मौज्दात हुँदाहुँदै दसैंको मुखमा शिक्षकलाई तलब नखुवाउनु गैरजिम्मेवार भएको बताए ।

प्रकाशित : आश्विन २१, २०७५ १०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?