कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

हराउँदै फूली–बुलाकी

एलपी देवकोटा

जुम्ला — कुनै समय जिल्लाका अधिकांश स्थानमा फुली, बुलाकी, धोतीचोलो र पटुकाको ठूलो महत्व थियो । महिलाहरू कुनै चाडपर्व, मेलालगायत अवसरमा यिनै पहिरनमा देखिन्थे । पछिल्लो समय फुली, बुलाकी र धोतीचोलो लगाउने क्रम घट्दै गएको छ । ग्रामीण क्षेत्रमा समेत फुली बुलाकी लगाएका महिला बिरलै भेटिन्छन् ।

हराउँदै फूली–बुलाकी

हातमा चाँदीको बाला, खुट्टामा कल्ली, घाँटीमा सिक्काको माला, नाकमा फुली र कानमा बुलाकी तथा चक्री लगाउने चलन हटिसकेको छ । सदरमुकाम र अन्य व्यापारिक केन्द्रका सुन पसलमा पनि फुली र बुलाकी बनाउनेको संख्या घटेको छ ।

जिल्लामा मुस्किलले पाँच प्रतिशत महिलाले मात्र फुली बुलाकी लाउने गरेको सुन व्यवसायी गोर्ख सुनारले अनुमान गरे । ‘फुली बुलाकीको चलन एक दशकदेखि नै हटिसक्यो,’ उनले भने, ‘अधिकांशको आधुनिक गहनामा आकर्षण बढेको छ, गाउँमा पनि कोही कोहीले मात्र लगाउने गरेका छन् ।’ उनले ग्रामीण क्षेत्रमा समेत ८० वर्ष उमेर नाघेका महिलाले मात्र फुली बुलाकी लगाउने गरेको जनाए । उनका अनुसार कसै कसैले चिनोको रूपमा फुली बुलाकी राखेका छन् ।

सुन पसलमा अहिले तिलहरी, मगंलसूत्र, बाला, सिक्री र झाला बनाउनेको दिनहुँ लाम लाग्ने गरेको छ । फुली बुलाकी बनाएकाले समेत आधुनिक गहना बनाउन लगाउने गरेको सुन व्यवसायीको भनाइ छ ।

फुली, बुलाकी र मालाको प्रचलन हराउँदै गएको सिंजाकी ५० वर्षीया पञ्चकला रावतले बताइन् । ‘कुनै बेला महिलाले फुली बुलाकी नलगाए अशुभ हुने मान्यता थियो,’ उनले भनिन्, ‘हाम्रो उमेरका महिलाले समेत फुली र बुलाकी लगाउन छोडेका छन् ।’ उनले किशोरीले नाक, कान छेड्न छाडिसकेको बताइन् । चुल्ठो बाट्ने, धोतीचोलो र पटुका बाँध्ने चलन पनि हट्दै गएको छ ।

प्रकाशित : आश्विन २१, २०७५ १०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?