कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

तुइन हटे, झोलुंगे पुल बने

धमाधम तुइन विस्थापित गर्दै झोलुंगे पुल निर्माण हुन थालेपछि आउजाउ सहज भएको छ । दुई वर्षमा कालीकोटमा १७ झोलुंगे पुल निर्माण भएका छन् ।
तुलाराम पाण्डे

पलाता,कालीकोट — जिल्लामा दुई वर्षमा १७ झोलुंगे पुल निर्माण भएका छन् । धमाधम तुइन विस्थापित गर्दै झोलुंगे पुल निर्माण हुन थालेपछि स्थानीयको आउजाउ सहज भएको छ।

तुइन हटे, झोलुंगे पुल बने

झोलुंगे पुलले पलाता जोडिएपछि खिया लागेर चँडिन लागेको फलामे लट्ठा भएर कर्णाली नदी तर्नुपर्ने बाध्यताबाट स्थानीयले मुक्ति पाएका छन् ।


पलाताबासी यसअघि बेल्के ढुंगाको जीर्ण पुलबाट आउजाउ गर्न बाध्य थिए । नयाँ पुल बनेपछि स्थानीयको दैनिकी सहज बनेको छ । कर्णाली नदीमा पुल बनेपछि पलाताको थिर्पु, धौलागोह र खिनका १६ हजार बासिन्दाको आवागमन सहज बनेको छ । ‘जोखिममा नदी तर्नुपर्ने बाध्यताको अन्त्य भयो,’ पलाता–९ का कमलराज बमले भने, ‘जीर्ण पुल कतिखेर चुँडिएर नदीमा खसिन्छ भन्ने डर हुन्थ्यो ।’ झोलुंगे पुल क्षेत्र विकास कार्यक्रमअन्र्तगत पुल निर्माण गरिएको हो ।


पुल बनेपछि खाद्यान्न ओसारपसारमा सहयोग हुने स्थानीय कला न्यौपानेले बताइन् । उनका अनुसार पुल बनेपछि जतिबेला पनि आउजाउ गर्न सहज बनेको छ ।


निर्वाचित भएपछि जनप्रतिनिधिले पुल बनाउन ताकेता गरेको पलाता–९, का वडाध्यक्ष टक्कबहादुर बमले बताए । गाउँपालिकाले नदीबाट डोजर गाउँ पुर्‍याएर सडक निर्माण गरे पनि कर्णाली नदीमा पुल नहुँदा पलाता सडकसँग जोडिन सकेको छैन । गाउँपालिकाका मोटरसाइकल पनि पुलबाट थिर्पु पुर्‍याउन सहज भएको गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बमले बताए । ‘कर्णाली करिडोरले गाउँ नजिक्यायो,’ उनले भने, ‘गाउँ पुग्ने झोलुंगे पुलले सडकसँग गाउँलाई जोड्यो ।’ उनले पुल बनेपछि ३० वर्षअघि कैलालीको चिसापानीबाट स्थानीयले फलामे ला बोकेर निर्माण गरिएको जीर्ण पुल विस्थापित भएको जनाए ।


कर्णाली नदीमा पुल बनेपछि भीरको बाटो हुँदै दुई घण्टा बढी समय लगाएर पचालझरना गाउँपालिकाको जार्रकोट पुल तरेर जानुपर्ने बाध्यता हटेको जिल्ला समन्वय समितिका सदस्य अनन्त विश्वकर्माले बताए । तुइनमा झुन्डिएर जोखिमपूर्ण रूपमा नदी वारपार गर्नुपर्ने बाध्यताबाट जिल्लावासी मुक्त भएका छन् ।


सशस्त्र द्वन्द्वमा क्षतिग्रस्त बनेका तिला र कर्णाली नदीका ६ पुल शान्ति प्रक्रिया सुरु भएलगत्तै निर्माण भएका थिए । दुई वर्षमा कालीकोटमा १६ पुल निर्माण सम्पन्न भएको जिल्ला समन्वय समितिका इन्जिनियर चक्रबहादुर शाहीले बताए । उनका अनुसार मुख्य नदी र ठूला खोलामा अब तुइन छैनन् । जीर्ण बनेका पुलको सट्टा नयाँ झोलुंगे पुल निर्माण भइरहेको उनले जनाए । विगतमा दुर्गम क्षेत्र विकास समिति, जिल्ला विकास समितिको सहयोगमा बनेका थिए । शाहीका अनुसार जिल्लामा पुराना र नयाँ गरी ६० झोलुंगे पुल निर्माण भइसकेका छन् ।


पुलको विकल्पमा बनाइएका तुइनबाट नदी तर्दा स्थानीयलाई सास्ती थियो । ०५८ यता तुइनबाट खसेर कालीकोटमा मात्र ११ जनाले ज्यान गुमाएका थिए भने एक सय बढीका हातका औंला च्यापिएर काटिएका थिए । अहिले खुलाल, भात्तडी, लालीघाट, जिते, लाफा, पान्तडी, पिली, भिग्मलगायत ठाउँमा तिला र कर्णाली नदीका पूरै तुइन विस्थापन भइसकेका छन् ।


रहगाड, सान्नीगाड, फुगाड, तिपगाड, भर्तागाड, बालीगाड, झ्यागाडलगायत खोलामा पनि पुल बनेका छन् । जिल्ला समन्वय समितिका प्रमुख अनिपाल शाहीले केही समयभित्रै तुइनमुक्त जिल्ला घोषणाको तयारी गरिरहेको बताए ।


वर्षौंदेखि बन्न नसकेको खुलालु पुल दुई वर्षअघि सरकारले तुइन विस्थापन योजना ल्याएपछि एक वर्षअघि निर्माण भएको थियो । पुल बनेपछि स्थानीयले गाउँमा उत्पादित तरकारी, घिउ र जंगलबाट संकलित जडिबुटी बजार पुर्‍याउन सहज भएको जनाएका छन् । नरहरिनाथ–८, का रमेश विष्टले पुल बनेपछि सदरमुकाम मान्मलगायत सुर्खेत, नेपालगन्ज आउजाउ गर्न सहज भएको बताए ।


खुलालु पुल बनेपछि लालु, माल्कोट, कुमालगाउँ, कोटवाडा र रुप्साका २० हजार बढी बासिन्दालाई नदी तर्न सहज भएको छ । गाउँ पुग्ने झोलुंगे पुल बने पनि कर्णाली करिडोरको पक्की पुल शिलान्यास भएको पाँच वर्ष बित्दा समेत काम भएको छैन । हेलिकप्टरमा आएर तत्कालीन भौतिक योजनामन्त्री विमलेन्द्र निधिसहित पाँच मन्त्रीले शिलान्यास गरे पनि ठेकेदारको लापरबाहीले काम अघि नबढेको हो । ठेक्का रद्द भएर पुन: प्रक्रिया सुरु भएको छ ।


नदी तर्न वैकल्पिक साधनका रूपमा जिल्लामा ११ तुइन निर्माण गरिएका थिए । इन्जिनियर नन्दलाल धरालाले सबै विस्थापित भइसकेको बताए । उनका अनुसार गत वर्ष ८ वटा झोलुंगे पुल निर्माण भएका थिए । यस वर्ष थप ८ वटा पुल बनेका छन् । लालु–माल्कोट जोड्ने लाम्रीखोला, माल्कोटको दोविटा, मेहेलमुडीको सान्नीगाड र काप्रीखोला, स्युनाको लडेखोला, चिल्खायाको चडाखाना, र थाम्खेत, मान्म र भर्ता जोड्ने नाक्चा दोभानमा झोलुंगे पुल निर्माण सम्पन्न भएको जिससले जनाएको छ ।


‘ज्यान हत्केलामा राखेर नदीमा झुन्डिएर नदी तर्नुपथ्र्यो, पुल बनेपछि सजिलो भयो,’ बदालकोट खर्रकोटकी लक्ष्मी कठायतले भनिन्, ‘अहिले जतिबेला पनि आउजाउ गर्न सकिन्छ ।’ ०३२ सम्म जिल्लाभर एउटै पनि झोलुंगे पुल नभएको कालीकोटमा सबै बासिन्दा नदी तर्न तागुलो (बाबियाको डोरीमा झुन्डिएर नदी तर्ने), झुगलो र केही ठाउँमा गेज (तुइन) बाट नदी पार गर्थे । ०२८ मा कर्णाली चिसापानी परियोजनामार्फत कर्णाली नदीको लालीघाट भौरेकुना, तिलाको सेरिघाट, नाग्मगाड र रारालिहीमा तत्कालीन जिल्ला पञ्चायतमार्फत चार तुइन (गेज) निर्माण भएको पूर्व सांसद तुलाराज विष्टले बताए ।


त्यसपछि ठाउँठाउँमा गेज तुइन निर्माण र पुल निर्माण अभियानको रूपमा चलेको उनले बताए । तिलागुफा ५, धनाडामा पनि तुइन विस्थापन गरेर नयाँ झोलुंगे पुल निर्माण भएको छ ।

प्रकाशित : आश्विन २३, २०७५ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?