३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

ग्रामीण सडकमा मनपरी भाडा

सदरमुकामबाट कुशापानीसम्म बसको भाडा तीन सय रुपैयाँ भए पनि स्थानीयवासी जिपमा ६ सय रुपैयाँ तिर्न बाध्य
ज्योति कटुवाल

दैलेख — जिल्लाका सबै स्थानीय तहका अधिकांश वडामा सडक सुविधा छ । वर्षामा भत्किएका ग्रामीण सडक मर्मत नहुँदा ठूला गाडी आउजाउ गर्न सक्दैनन् । सडकमा ठूला गाडी नचलेको फाइदा उठाउँदै निजी गाडी र जिपले चर्को भाडा असुल्दै आइरहेका छन् ।

ग्रामीण सडकमा मनपरी भाडा

निजी गाडीले सदरमुकामदेखि चामुण्डा विन्द्रासैनीको प्रतिव्यक्ति पाँच सय र काशिकाँधको चार सय रुपैयाँ भाडा लिने गरेका छन् । यसअघि सदरमुकामबाट कुशापानीसम्म बसको भाडा तीन सय रुपैयाँ भए पनि स्थानीयवासी जिपमा ६ सय रुपैयाँ तिर्न बाध्य छन् । यहाँका २० किलोमिटरभन्दा बढी दूरीका सबै सडकमा भाडा चार सय रुपैयाँभन्दा बढी छ । रिजर्भमा जाने गाडीले पाँच जना यात्रुको करिब आठ हजार रुपैयाँ लिने गरेका छन् ।


सदरमुकामदेखि २६ किलोमिटर दूरी रहेको काशिकाँधमा गाडी रिजर्भ गरेर लिँदा सातदेखि १० हजार रुपैयाँ खर्च हुने गरेको स्थानीयको गुनासो छ । अधिकांश चालकले व्यक्तिगत रूपमा यात्रु लिन नमान्ने भएकाले रिजर्भ गर्नुपर्ने बाध्यता छ । ग्रामीण भेकका दर्जनौं सडक अलपत्र छन् । जनप्रतिनिधिले भने स्थानीय सडक मर्मत गरिरहेको दाबी गरिरहेका छन् ।


सदरमुकामलाई अन्य ग्रामीण सडकसँग जोडेको मध्यपहाडी लोकमार्गको अवस्था पनि नाजुक छ । विभिन्न स्थानमा पहिरो गए पनि मर्मतको काम अझै सुचारु भएको छैन । राजमार्ग छुँदै बेस्तडा, द्वारी कालिका, रानीवन, भैरवी, आठबीस, चामुण्डा विन्द्रासैनी, ठाटिकाँधलगायत ठाउँमा जाने सडकमा यातायात ठप्प छ ।


महावु गाउँपालिकाका धीरेन्द्रबहादुर राणाले सदरमुकाम आउँदा महँगो भाडा तिर्नुपर्ने बाध्यता भएको बताए । ‘चाडबाड नजिकिए पनि सडक मर्मत नहुँदा ठूला गाडी सञ्चालन हुन सकेका छैनन्,’ उनले भने, ‘त्यसैले साना गाडीले चर्को भाडा असुल्दै आइरहेका छन् ।’ उनले चर्को भाडाका कारण विपन्न नागरिक मारमा परेको बताए ।


पत्रकार महासंघ दैलेखका अध्यक्ष चक्र केसीले स्थानीय प्रशासनको कमजोरीले स्थानीयले सास्ती भोग्नुपरेको बताए । उनले खबरदारी गर्ने निकाय मौन हुँदा निजी गाडी सञ्चालकले यात्रुलाई ठगिरहेको आरोप लगाए । निजी गाडीले ट्राफिक प्रहरीलाई मासिक/हप्ता रकम दिने गरेकाले बढी भाडा लिने गरेको दाबी गरेका छन् । साप्ताहिक रूपमा रकम नबुझाए बोलेरो गाडीको पछाडि यात्रु राख्न नदिने भएकाले रकम बुझाउनुपर्ने बाध्यता रहेको एक चालकले बताए । प्रहरीको मनपरीले व्यावसायी समेत मारमा परेको उनको भनाइ छ ।


यातायात व्यवसायी भूपेन्द्र मल्लले सडक मर्मत नहुँदा ठूला गाडी जान नसक्ने बताए । उनले सडक मर्मत नगर्दा जोखिम मोलेर आउजाउ गर्ने भएकाले साना गाडीले बढी भाडा लिएको दाबी गरे । मध्यपहाडी राजमार्ग हुँदै जाने सडकमा बढ्दो खाल्डाखुल्डीका कारण गाडी चलाउन समस्या भएको उनले जनाए । ‘गाउँलेको सुविधाका लागि जोखिमपूर्ण सडकमा गाडी सञ्चालन गरिएको छ,’ उनले भने, ‘यस्तो सडकमा गाडी चलाउँदा गाडी बिग्रने समस्या धेरै हुने भएकाले सामान्य नाफा लिएर यात्रु ओसारपसार गर्ने गरिएको छ ।’


जिल्लाका स्थानीय तहले गत वर्ष सडक निर्माणमा ३५ करोड रकम खर्च गरेका थिए । ठूलो रकम खर्च गरी निर्माण गरिएका सडकमा बाह्रै महिना गाडी नचल्दा स्थानीयवासी सास्ती भोग्न बाध्य छन् । गतवर्ष निर्माण गरिएका अधिकांश सडकमा वर्षाका कारण पहिरो गएको छ । अधिकांश सडकमा खाल्डाखुल्डी कायमै छन् । गत वर्ष चामुण्डा विन्द्रासैनी नगरपालिकाले सडकमा चार करोड ७६ लाख, नारायण नगरपालिकाले पाँच करोड, दुल्लु नगरपालिकाले चार करोड ५० लाख रुपैयाँ विनियोजन गरेका थिए । सबै सडकमा अहिले यातायात सेवा अवरुद्ध छ ।


जिल्ला समन्वय समिति प्रमुख प्रेम थापाले कुनै बेला डोजर आतंक भए पनि अहिले अधिकांश सडक बन्द रहेको बताए । गुणस्तरीय सडक निर्माण नहुँदा वर्षामा अधिकांश सडकमा पहिरो आएको र खाल्डाखुल्डी भएको उनको भनाइ छ । ‘एक वर्षअघि गाउँगाउँमा रहेका ९० वडाका ९८ डोजर कता हराए ?’ उनले भने, ‘सडक निर्माणमा जथाभावी रकम खर्चिने तर मर्मतमा ध्यान नदिने कारणले स्थानीयले सास्ती पाए ।’

प्रकाशित : आश्विन २३, २०७५ ०९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?