३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

चन्दननाथ मन्दिरमा नयाँ लिंगो

आयो दसैं
कान्तिपुर संवाददाता

जुम्ला — जिल्लाको प्रसिद्ध चन्दननाथ भैरवनाथ मन्दिरमा नयाँ लिङ्गो ठड्याइएको छ । मन्दिरमा लिङ्गो ठड्याइसकेपछि स्थानीयले आ–आफ्नो घरमा घटस्थापना गरेका छन् । मन्दिरमा ५२ हाते लिङ्गो र ५२ हाते कपडा राखिएपछि मात्र स्थानीयबासीले घटस्थापना गर्ने चलन छ ।

चन्दननाथ मन्दिरमा नयाँ लिंगो

लामो समयदेखि मन्दिरमा विजय स्तम्भसहितका पुरानो लिङ्गो झिकेर नयाँ खडा गर्ने गरेको स्थानीय संस्कृतिका जानकार रमानन्द आचार्यले बताए । ‘तत्कालीन राजाले चीनबाट युद्ध जितेर फर्कंदा गजुर ल्याएर मन्दिरमा चढाएको इतिहास छ,’ उनले भने, ‘विक्रम संवत् १४९८ सालबाट मन्दिरमा लिङ्गो गाड्ने परम्परा सुरु भएको हो ।’ प्रत्येक दिन पूजा हुने मन्दिरमा हप्ताको एक पटक विशेष पूजा हुने गरेको छ । उनका अनुसार एक वर्षमा ५२ हप्ता हुने भएकाले ५२ हाते ध्वाजासहित ५२ हाते लिङ्गो गाड्ने र घटस्थापना गर्ने चलन रहिआएको छ ।

सरकारी कर्मचारी, सेना र प्रहरीले ल्याउने पल्टन लिङ्गो, स्थानीय ९ गाउँका ब्राह्मणले ल्याउने थपाला लिङ्गो र स्थानीय दलित समुदायले ल्याउने कम्सल लिङ्गो घटस्थापनाका दिन गाड्ने गरिएको छ । त्यस्तै चन्दननाथको पुरानो लिङ्गो र विजयस्तम्भ गरी पाँच लिङ्गो गाड्ने चलन रहेको स्थानीय अगुवा चित्रलाल श्रेष्ठले बताए । चन्दननाथ भैरवनाथ मन्दिरमा ५२ हाते ध्वजा मुगुबाट आउने गरेको छ । लिङ्गोमा लगाउने गेरु, लिङ्गोको टुप्पोमा लगाउने चौरीको फुर्का र थप्का हुम्लाबाट ल्याउने गरिएको छ भने लिङ्गो खडा गर्न कालिकोटबाट मानिस ल्याउने चलन छ । त्यसका लागि सबै व्यवस्था चन्दननाथ भैरवनाथ गुठी व्यवस्थापन समितिले गर्दै आएको छ ।

केही चलन हराउन लागेको समितिले जनाएको छ । लिङ्गो ल्याउँदा र मन्दिरमा खडा गर्दासम्म सेना र प्रहरीको सहयोग लिनुपर्ने बाध्यता रहेको समितिका पूर्व अध्यक्ष गौरीनन्द आचार्यले बताए । ‘पछिल्लो समय स्थानीयको जनसहभागिता घट्दै गएको छ,’ उनले भने, ‘यस्तै अवस्था रहे अर्को वर्षदेखि सबै काम सेना र प्रहरीले नै गर्नुपर्ने देखिन्छ ।’

धार्मिक र ऐतिहासिक परम्परा जोगाइराख्न कर्णाली स्र्पोट्स क्लबले लिङ्गो ल्याउँदा बाटोमा फूलमालाले स्वागत गर्ने गरिएको जनाएको छ । क्लवका अध्यक्ष सरोज शाहीले बिस्तारै परम्परा हराउँदै गएकोप्रति चिन्ता व्यक्त गरे ।

विशेष पूजा
डोल्पा– त्रिपुरासुन्दरी नगरपालिका–१ स्थित बाला त्रिपुरासुन्दरी मन्दिरमा विधिपूर्वक जमरा राखी घटस्थापना गरिएको छ । यहाँको प्रमुख शक्तिपीठ मानिने मन्दिरमा दसैंको अवसरमा बुधबारदेखि विशेष पूजा सुरु गरिएको छ । मन्दिरमा वर्षभरि नै पूजाआजा हुने भए पनि विजयादशमी र चैते दसैंमा विशेष पूजा हुने गरेको छ ।

मन्दिरका पुजारी देवीकृष्ण उपाध्यायका अनुसार मन्दिरमा दसैंको अवसरमा बिहानदेखि मध्यान्ह १२ बजेसम्म विशेष पूजा हुने गरेको छ । मन्दिरमा घटस्थापना गरिएपछि स्थानीयले समेत घरघरमा घटस्थापना गरेका छन् । मन्दिरमा लामो समयदेखि लाग्दै आएको नवरात्र मेला जिल्लाको प्रमुख मानिन्छ । स्थानीय अगुवाका अनुसार दसैंको अवसरमा बाला त्रिपुरासुन्दरीलगायत सर्मी, होर्त र ओक्टमा पनि विशेष पूजाआजा हुने गरेको छ ।

१० प्रतिशत छुट
मुगु उद्योग वाणिज्य संघले सम्पूर्ण उपभोग्य सामानमा उपभोक्तालाई १० प्रतिशत छुट दिने निर्णय गरेको छ । दसैंको अवसरमा विभिन्न खाद्यान्न तथा दैनिक उपभोग्य सामानमा छुट दिने निर्णय गरिएको हो । संघका अनुसार चामल, दाल, चिनी, मैदा, घ्यू, ग्यास, तेल, मासु, कपडालगायत दैनिक उपभोग्य वस्तुमा १० प्रतिशत छुट दिने निर्णय गरिएको हो । जिल्लाबासीलाई दसैंको किनमेलमा सहज बनाउन छुट दिने निर्णय गरेको संघका उपाध्यक्ष रत्नसिंह मल्लले बताए । उनका अनुसार छुट दिने निर्णयले विपन्न नागरिकलाई दसैं मनाउन राहत हुनेछ ।

तलबबाट वञ्चित
सल्यान– दसैंको मुखमा जिल्लाका विभिन्न कार्यालयमा कार्यरत कर्मचारीले तीन महिनादेखि तलबलगायत अन्य सुविधा पाउन सकेका छैनन् । जिल्ला पशु ज्ञान केन्द्र, खानेपानी, घरेलु, वन डिभिजन, शिक्षा विकास तथा समन्वय इकाइ, जलस्रोत तथा सिँचाइ डिभिजन, भूसंरक्षणलगायत कार्यालयका कर्मचारी तलबबाट वञ्चित भएका हुन् । अख्तियारी नआएका कारण कर्मचारीले तलब खान नपाएका हुन् । वन डिभिजनका ५०, पशु केन्द्रका सात, खानेपानीका १०, घरेलुबाट ६, जलस्रोत तथा सिँचाइका १० कर्मचारीले साउनदेखिको तलब पाएका छैनन् ।

त्यस्तै कृषि ज्ञान केन्द्रका १०, शिक्षा विकासका ६ र भूसंरक्षणका ३ कर्मचारीले पनि तलब पाउन सकेका छैनन् । तीन महिनादेखि तलब खान नपाएपछि कर्मचारी समस्यामा परेका छन् । दसैं भित्रँदासमेत तलबको अत्तोपत्तो नभएपछि समस्यामा परेको कर्मचारीको भनाइ छ । सरकारले विषयगत कार्यालय खारेज गरेर नयाँ कार्यालयमा रूपान्तरण गरे पनि कर्मचारी अन्योलमा परेका छन् । अधिकांश कर्मचारीले कामको जिम्मेवारी नपाएको जनाएका छन् ।

सरकारले तलब निकासामा ढिलाइ गरेपछि समस्यामा परेको वन डिभिजन कार्यालयका निमित्त प्रमुख मेघनाथ काफ्लेले बताए । ‘साउनदेखि तलब नपाउँदा घर खर्च चलाउन समस्या भइरहेको छ,’ उनले भने, ‘संघीयता कार्यान्वयनका नाममा कर्मचारी लामो समयदेखि तलबबाट वञ्चित छन् ।’ तलब निकासाका लागि कोष तथा लेखा नियन्त्रण कार्यालय र केन्द्रीय निकायमा पटक पटक आग्रह गरे पनि बेवास्ता भएको उनको भनाइ छ । प्रदेश सरकारले कोलेनिकालाई अख्तियारी नपठाउँदासम्म कर्मचारी तलबबाट वञ्चित हुने उनको भनाइ छ ।

जलस्रोत तथा सिँचाइ डिभिजनका प्रमुख शिवनन्दनप्रसाद शाहले नयाँ संरचनाले तलब खान समस्या भएको बताए । पशु ज्ञान केन्द्रका कर्मचारी बालकृष्ण प्रधानले सरकारीको ढिलाइका कारण अधिकांश कर्मचारी बेखर्ची बनेको बताए । ‘लामो समयदेखि दसैंको बेला तलब आउँछ कि भन्ने आशा थियो, तर आएन,’ उनले भने, ‘दसैं मनाउन र चाडपर्वको किनमेल गर्न समस्या भयो ।’

जिल्लाबाहिरका कर्मचारी तलब नपाएकै कारण घर जानबाट वञ्चित भएका छन् । केही कर्मचारीले सापटी गरेर घर जान लागेको गुनासो गरेका छन् । अधिकांश कर्मचारीले तलब नआउँदा लामो समयदेखि ऋण लिएर आफ्नो खर्च चलाइरहेको जनाएका छन् ।

संघीय सरकार मातहत रहेका सरकारी कार्यालयलाई प्रदेश मन्त्रालयमार्फत हस्तान्तरण गरिए पनि आर्थिक अख्तियारी नदिंदा कर्मचारीलाई तलब खुवाउन समस्या परेको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ । कार्यालयका अनुसार मन्त्रालयले तलबको अख्तियारी पठाएपछि मात्र तलब निकासाको काम हुनेछ ।

प्रकाशित : आश्विन २५, २०७५ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?