कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

बाली थन्क्याएर दसैं

राजबहादुर शाही

मुगु — सोरु गाउँपालिका ४, का दीपबहादुर शाही परिवारसँग दसैं मनाउन भारतको लद्दाकबाट मंगलबार घर आए  । साउनमा मजदुरीका लागि भारत गएका उनीसहित एक दर्जन युवा घर फर्किएका छन्  ।

बाली थन्क्याएर दसैं

सोरु गाउँपालिका ६, सोरुकोटका पन्नबहादुर शाही पनि दसैं मनाउन मलेसियाबाट दुई वर्षपछि घर फर्केका छन् ।


यी दुई मात्र होइन, यहाँका विभिन्न गाउँमा दसैं मनाउन फर्कनेको लर्को छ । जिल्लाबाहिर र सदरमुकाममा काम विशेषले बस्दै आएका समेत दसैं मनाउन घर फर्किरहेका छन् । भारत तथा विभिन्न खाडी मुलुकमा मजदुरीका लागि गएका स्थानीयबासीसमेत धमाधम घर फर्किरहेका छन् । दसैंका लागि जहाज र गाडीबाट घर फर्कनेको घुँइचो छ ।


सदरमुकाम गमगढीमा घर फर्कने र किनमेल गर्नेको घुँइचो लागेको छ । दसैंमा घर आउने स्थानीयको चापले रारा विमानस्थलमा उडान थपिएका छन् । कर्णाली राजमार्ग हुँदै विभिन्न जिल्लामा सञ्चालन हुने यात्रुबाहक गाडीको संख्या बढाइएको छ । फोतु गाउँका मंगल शाहीले दसैं मनाउनका लागि मात्रै गाउँ आएको बताए । ‘वर्षदिनमा एकपल्ट मनाइने चाड छोड्न मनै लाग्दैन,’ उनले भने, ‘दसैंको रौनक गाउँघरमा सुरु भइसकेको छ ।’ उनका अनुसार दसैंका लागि लामो समयपछि घर फर्किएकाहरू आफन्तसँग भेटघाटमा व्यस्त छन् ।


अध्ययन, व्यापार, जागिरलगायत कारण जिल्ला सदरमुकाम बस्दै आएका स्थानीयबासी समेत पुख्र्यौली गाउँ जान थालेका छन् । दसैंका लागि विभिन्न गाउँमा लाग्ने मेला र खेलकुदको तयारी थालिएको छ । गमगढीका पदमबहादुर रावलले जेठ/असारमा लेकका पशुचौपाया चराउन उक्लिएका स्थानीयबासी समेत झर्न थालेको बताए । गोठाला घर आउन थालेपछि लेकाली बस्तीका भेडीगोठ रित्तिएका छन् । दसैं मनाउन गाउँ झरेकाहरू दसैं सकिएपछि फेरि लेकाली क्षेत्रमा उक्लिन्छन् ।


अधिकांश गाउँमा अन्नबाली थन्क्याएर स्थानीयबासी दसैंको तयारीमा लागेका छन् । औलका विभिन्न बस्तीमा धानबाली भित्र्याइसकिएको छ भने माथिल्ला भेगमा मकै, कोदो, सिमी, फापर भित्र्याउने चटारो छ । लेकका बासिन्दा अन्नबाली भित्र्याएर दसैंका लागि विभिन्न तयारी गर्न आतुर छन् । यस वर्ष दसैंमा तिब्बतबाट भेडाच्याङ्ग्रा नआएकाले गाउँमा खसी किन्नेको भीड बढ्न थालेको छ ।

अधिकांश व्यापारिक केन्द्रमा उपभोग्य सामग्री, लत्ताकपडालगायत किनमेलको चाप बढेको छ । जिल्लाको चार स्थानीय तहमध्ये मुगमकार्मारोङ गाउँपालिकाका करिब ९० प्रतिशत स्थानीयले दसैं मनाउँदैनन् । त्यहाँका अधिकांश बासिन्दा बौद्ध धर्म मान्छन् ।

अन्य तीन स्थानीय तहमा दसैंको चहलपहल सुरु भइसकेको छ । घर सरसफाइ र लिपपोतको काममा स्थानीय खटिएका छन् ।

प्रकाशित : आश्विन २६, २०७५ १०:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?