अखाद्य सामग्री नष्ट

भीमबहादुर सिंह

जाजरकोट — दसैंको मुखमा जिल्ला प्रशासन कार्यालयले म्याद गुर्जेका र अखाद्य वस्तु नष्ट गरेको छ  । सदरमुकाम खलंगालगायत व्यापारिक केन्द्रका पसलबाट बरामद गरिएका अखाद्य वस्तु बुधबार नष्ट गरिएको हो  ।

अखाद्य सामग्री नष्ट

बजार अनुगमनका क्रममा नियन्त्रणम लिएका म्याद गुर्जेका खाद्यवस्तु नष्ट गरेको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए ।


कोष तथा लेखा नियन्त्रण कार्यालय, उद्योग वाणिज्य संघ, प्रहरी लगायतको रोहबरमा अखाद्य वस्तु नष्ट गरेको हो । जिल्लाका बजारमा म्याद गुर्जेका खाद्यवस्तुको बिगबिगी बढेपछि बजार अनुगमनलाई तीव्र पारिएको थियो । भुजा, चाउचाउ, कोकाकोला, फ्यान्टा, स्प्राइट, फ्रुटी, मसला, खानेतेल, मिनरलवाटर, बिस्कुट, पिठो, दालमोट, चक्लेट, चिजबललगायत खाद्यवस्तु म्याद गुर्जेको अवस्थामा फेला परेका थिए ।


जिल्ला प्रशासन नेतृत्वको अनुगमन टोलीले खलंगा, छेडा, थलह, मोर्क, कालीमाटी, रिम्नालगायत बजारमा अनुगमन गरेर म्याद गुर्जेका खाद्यवस्तु बरामद गरेको हो । अनुगमनबाट बरामद भएका करिब तीन/चार लाख मूल्यका सामग्री नष्ट गरिएको हो । ‘म्याद गुर्जेका खाद्य बस्तुको बिक्री गरेर उपभोक्ता ठगी गर्ने व्यापारीलाई कारबाहीको प्रक्रिया थालिएको छ,’ उनले भने, ‘कालोबजारी तथा अखाद्य वस्तुको बिक्री वितरण, मूल्य सूची नटाँस्ने र दर्ताबिना पसल सञ्चालन गर्ने व्यापारीलाई उपभोक्ता हकहित संरक्षण ऐनअनुसार कारबाही गरिनेछ ।’


बजारमा मूल्यसूची नराख्ने, इजाजतबिना मदिरा बिक्री वितरण गर्ने, एउटै पसलमा मदिरा तथा खाद्यवस्तु बिक्री वितरण गर्ने, मूल्य एकरूपता नहुने, मनोमानी मूल्य हुने, तोकेका तौलको खाद्यवस्तु फेला नपर्नेलगायत विकृति देखिएको उपभोक्ता किरण भण्डारीले बताए ।


घरेलु मदिरा बरामद
यसैबीच प्रहरीले जिल्लाभर एक हजार चार सय लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ । दसैंका बेला मदिरा सेवन गरेर समाजमा आपराधिक घटना बढ्न सक्ने भन्दै प्रहरीले मदिरा नियन्त्रण अभियान सञ्चालन गरिरहेको छ ।


प्रहरीले चार महिनाको अवधिमा जाँड एक हजार लिटर र तयारी मदिरा चार सय लिटर नष्ट गरेको प्रहरी निरीक्षक इन्द्रजित सुनारले बताए । मदिरा उत्पादनमा प्रयोग हुने तीन दर्जन सामग्रीसमेत बरामद गरिएको उनले जनाए । खलंगाबजार, छेडा, पैंकलगायत स्थानमा प्रहरीले अवैध घरेलु मदिरा नष्ट गरेको प्रहरीले जनाएको छ ।


घरेलु मदिरा नियन्त्रण गरेपछि सामाजिक अपराधका घटना न्यूनीकरण हुँदै गएको प्रहरी नायब उपरीक्षक रवीन्द्रबहादुर सिंहले बताए । मदिरा नियन्त्रणले जिल्लाको शान्ति सुरक्षाको प्रबन्धमा सहयोग पुर्‍याएको उनको भनाइ छ । बरामद भएका अवैध घरेलु मदिरामा प्याड, पेन्टीलगायत फोहोर कपडा फेला पर्ने गरेका छन् । घरेलु मदिराको उत्पादन र बिक्री बन्द गर्न प्रहरीको निरन्तर सक्रियता रहने सिंहले जानकारी दिए ।

प्रकाशित : आश्विन २६, २०७५ १०:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?