३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

दसैं मनाउन फर्कनेको लर्को

गाउँमा चहलपहल बढ्दै
विप्लव महर्जन

सल्यान — मजदुरीका लागि भारत गएका स्थानीय दसैंका लागि धमाधम घर फर्कन थालेका छन्  । युवाहरू गाउँ फर्कन थालेपछि दसैंको चहलपहल सुरु भएको छ  ।

दसैं मनाउन फर्कनेको लर्को

जागिर, व्यवसाय, अध्ययनलगायत कामले जिल्लाबाहिर र सदरमुकाम बस्दै आएकाहरूसमेत दसैंका लागि गाउँ फर्कन थालेका छन् ।


बेरोजगारी समस्याका कारण ग्रामीण क्षेत्रका अधिकांश युवा मजदुरीका लागि भारत जाने गरेका छन् । भारतको सिम्लाबाट घर फर्किएका कुपिण्डेका दलबहादुर पुनले चाड मनाउन ६ महिनापछि घर फर्केको बताए । उनले आफूसँगै गाउँका अन्य १० युवा घर फर्किएको जानकारी दिए । ‘वैशाखमा वर्षेबाली लगाएर भारत गएको हुँ,’ उनले भने, ‘तिहारपछि हिउँदेबाली लगाएर भारत फर्कने सोचाइ छ ।’ उनले १० वर्षदेखि भारतका विभिन्न ठाउँमा मजदुरी गर्दै आइरहेको बताए ।


६ वर्षअघि परिवारसहित सिम्ला गएका ढोडचौर गाउँपालिकाको राम्रीका कुलबहादुर रानाले धेरै वर्षपछि दसैं मनाउन घर फर्केको बताए । शारदा नगरपालिका–१, श्रीनगरसम्म गाडीमा आएका उनले घर जान जिप नपाइएपछि समस्या भएको बताए । लामो समयपछि घर फर्किएकाले घर जान हतारो भएको उनको भनाइ छ । ‘काम विशेषले लामो समय घर आउन पाइएन,’ उनले भने,‘यसपालि चाडपर्वकै लागि घर आएका छौं, रमाइलोसँग मनाएर फर्कने हो ।’ अशिक्षा, गरिबी र बेरोजगारीको समस्याले मजदुरी गर्न बाहिर जानुपर्ने बाध्यता रहेको उनको भनाइ छ ।


भारतको देहरादुनबाट दसैं मनाउन फर्किएका चाँदेकरेन्जीका दीपेन्द्र खड्काले आठ वर्षदेखि भारतमा मजदुरीका लागि जाने गरे पनि बर्सेनि दसैंको बेला फर्कने गरेको बताए । आफन्तसँग भेटघाट हुने, आपसी सद्भाव साटासाट हुने, साथीभाइसँग मिलेर विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिने भएकाले दसैंको छुट्टै महत्व रहेको उनको भनाइ छ । भारतमा अहिले कामको चाप नहुने र दसैंमा रमाइलो नहुने भएकाले दसैंमा घर फर्कने गरेको उनको भनाइ छ ।


दसैं मनाउन परदेश गएकाहरू फर्कन थालेपछि गाडीहरू खचाखच भरिन थालेका छन् । गाउँमा लिपपोत गर्ने, घर सरसफाइ गर्नेलगायत चटारो सुरु भएको छ । ग्रामीण क्षेत्रका व्यापारिक केन्द्र र सदरमुकाममा किनमेल गर्नेको भीड बढेको छ । अन्न भित्र्याएर स्थानीयबासी दसैंको तयारीमा जुटिरहेका छन् । लामो समयपछि घर फर्किएकाहरू आफन्तसँग भेटघाटमा जुटेका छन् । दैनिक दुई सय जना स्थानीयबासी भारतबाट घर फर्कने गरेको यातायात व्यवसायीले जनाएका छन् ।

प्रकाशित : आश्विन २७, २०७५ ०८:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?