२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

दूध बेचेरै ‘मालिक’

कलेन्द्र सेजुवाल

खारखोला, सुर्खेत — पूरा भयो त सपना ? यो प्रश्नले उनलाई करिब ९ वर्षअघि पुर्‍यायो । जतिबेला सोधिएको थियो– तपाईंको सपना के छ ? उनी केहीबेर घोत्लिए । र, मन्द मुस्कान छर्दै भने– ‘त्यो (सपना) त पूरा भयो, फेरि नयाँ सपना जन्मिएको छ ।’

दूध बेचेरै ‘मालिक’

चुडामणि ढकाल (४३ वर्ष) । एक त्यस्तो पात्र, जसले २०६१ जेठमा विदेश जान उचालिएका खुट्टा फनक्क घरतिर फर्काउँदै भैंसी गोठालो बन्ने निर्णय लिएका थिए । डेढ दसकअघि मोडिएको त्यही यात्राले अहिले साटाखानी, खारखोलाका चुडामणि प्रेरणादायी उद्यमी कहलिएका छन् । ‘मानसम्मान र सम्पत्ति सबै मिल्यो,’ उनले यस संवाददातासँग झन्डै दशकअघि भनेको त्यही कुरा दोहोर्‍याए, ‘उता (विदेश) गएको भए नोकर हुन्थेँ होला, अहिले यता मालिक भएको छु ।’


साँच्चै † अहिले उनी मालिक बनेका छन् । म्यानपावर कम्पनीलाई पेश्कीस्वरूप दिएको ५० हजार रुपैयाँ फिर्ता मागेर थालिएको भैंसीपालन व्यवसायमा अहिले करिब ७० लाखको पुँजी छ । उनको ‘नमुना भैंसी फर्म’ मा नियमित तलबमा चारजना र अप्रत्यक्ष रूपमा १० जनाले रोजगारी पाएका छन् । ‘हामी बुढाबुढी (पति(पत्नी) को जागिर पनि यहीँ चलिरहेको छ,’ पत्नी पार्वतीतिर हेर्दै चुडामणि फिस्स हाँसे । र, थपे– ‘हामीले त लोकसेवा नलडेरै ‘स्थायी जागिर’ पाएका छौं !’ चारवटा मुर्रा जातका भैंसीबाट व्यवसाय थालेका उनको गोठमा अहिले २१ भैंसी छन् ।

सुरुमा दैनिक ११ लिटर दूध बोकेर पैदल वीरेन्द्रनगर पुग्ने उनको व्यावसायिक जीवनले लोभलाग्दो सफलता चुमेको छ । अहिले दैनिक करिब एक हजार लिटर दूध बेच्छन् । यसकै लागि उनले गत फागुनमा करिब २४ लाख रुपैयाँमा बोलेरो गाडी किने । ‘गाउँसम्म सडक खनेर आफ्नै गाडीमा दूध बेच्ने सपना थियो, अहिले पूरा भएको छ’ ९ वर्षअघि सुनाएको सपना सम्झिँदै उनले भने, ‘मिहिनेत र लगनशील भएर काम गर्ने हो भने जीवनमा सोचेका सबै कुरा पुग्दा रहेछन् ।’

सुखी संसार
८ कक्षासम्म पढेका चुडामणिको सपना थियो– छोराछोरीलाई राम्रो शिक्षा दिने । यही सपना पूरा गर्न उनले व्यवसाय सुरु गरेको दोस्रो वर्षमै गाउँको सरकारी विद्यालयबाट तीनैजना सन्तानलाई वीरेन्द्रनगरको राम्रो बोर्डिङमा भर्ना गरे । अहिले त्यो सपनाले पखेटा फिजाएको छ ।


जेठो छोरा सुरज र छोरी जमुना काठमाडौंमा चार्टर्ड एकाउन्टेन्ट (सीए) पढ्दैछन् । कान्छी छोरी गंगा पनि काठमाडौंको राम्रो कलेजमा १२ कक्षा पढिरहेकी छन् । उनीहरूका लागि मासिक सरदर ८० हजार रुपैयाँ खर्च हुन्छ । चुडामणि चाहन्थे– कम्तीमा एक सन्तानलाई डाक्टर पढाऊँ । यसका लागि सुरजले तीन वर्ष र जमुनाले दुई वर्ष एमबीबीएसको प्रवेश परीक्षा दिए । ‘नाममात्र निस्किएको भए पैसाको कारण उनीहरूको पढाइ कदापि रोकिने थिएन,’ चुडामणिले भने, ‘दुवैलाई भाग्यले साथ दिएन, अझै कान्छी छोरीले नाम निकाल्न सकी भने डाक्टर पढाउने इच्छा मनभित्रै छ ।’


दूध बेचेरै छोराछोरीलाई डाक्टर पढाउन हिम्मत गर्ने चुडामणिको आम्दानी कति होला ? हामीले यही प्रश्न तेस्र्यायौं । ‘सालिन्दा १६ लाख †,’ आम्दानीका अंक औंलामा गन्दै उनले भने, ‘छोराछोरी र घरपरिवारलाई चाहिने जति पुगेको छ, योभन्दा बढी लोभ कति गर्नु ?’


उनले दूध बेचेर मोटरसाइकल हुँदै गाडीमात्र किनेनन्, स्थायी सम्पत्ति पनि जोडेका छन् । सुर्खेत उपत्यकाको मंगलगढी र पिपिरामा घडेरी किनेका छन्, जसको बजार मूल्य करिब ७० लाख रुपैयाँ छ । यसका साथै गाउँमा पनि चार लाख रुपैयाँमा १२ कठ्ठा खेत किनेका छन् । ‘योभन्दा पनि बढी परिवारमा सुख शान्ति छ, समाजमा सम्मान छ,’ उनले भने, ‘यी सबै चिज पौरखबाट आर्जित सम्पत्तिले दिएको हो ।’

प्रेरणा पात्र
खारखोलामा एक समय त्यस्तो थियो, जतिबेला चुडामणि कानमा दूधको जर्किन झुन्ड्याएर वीरेन्द्रनगरतिर हिँड्दा गाउँका मान्छेहरू गिज्याउँथे । ‘दूध बेच्ने पण्डित’ भनेर खिसिटिउरी गर्थे । अहिले खारखोलामात्र होइन, आसपासका अन्य गाउँ पनि तिनै ‘पण्डित’ को पदचापलाई पछ्याइरहेका छन् । हिजो खिसिटिउरी गर्नेहरू अहिले दूध व्यवसायी बनेका छन् । उनीहरूले उत्पादन गरेको दूध चुडामणिले आफ्नो गाडीमा राखेर वीरेन्द्रनगर लैजान्छन् ।


करिब सय घर रहेको खारखोलामा व्यावसायिक रूपमा भैंसी नपाल्ने घर भेटाउन मुस्किल छ । चुडामणिको फर्मजस्तै गायत्री कृषि फर्म र दीपचन्द्र कृषि फर्म दर्ता भएका छन् । चुडामणिकै प्रेरणाले यी दुई फर्म दर्ता भएका हुन् । ‘घरमा दूधदही खानका लागि त पहिल्यैदेखि गाईभैंसी पाल्थ्यौँ,’ चुडामणिसँग व्यावसायिक परामर्श गर्न उनको घर पुगेका दीपचन्द्रका प्रोप्राइटर यामप्रसाद आचार्यले भने, ‘उहाँको प्रगति देखेर मलाई पनि व्यावसायिक रूपमा भैंसी पाल्न इच्छा जाग्यो ।’

आत्मनिर्भर यात्रा
कृषिकर्म गर्ने किसानलाई सरकारी तथा गैरसकारी क्षेत्रबाट प्रोत्साहनमूलक थुप्रै अनुदानका कार्यक्रम सञ्चालित छन् । कतिपयले त फर्जी प्रस्ताव पेस गरी यस्तो अनुदान कुम्ल्याउने गर्छन् । चुडामणिको मनमा भने अरूबाट पाइने सहयोगको आश कहिल्यै जागेन । ‘मैले कुनै निकायमा गएर सहयोग मागेको भए त दिन्थे पनि होलान्,’ उनी भन्छन्, ‘भैंसीगोठमै काम गर्न भ्याइनभ्याई छ, कसले धाओस् पैसाका लागि ठाउँ कुठाउँ ?’ बरु उनले उत्कृष्ट भैंसीपालक किसानको रूपमा थुप्रै सम्मान र पुरस्कार पाएका छन्, जसलाई घरको भित्तामा सजाएर राखेका छन् ।

उनलाई तत्कालीन जिल्ला पशु सेवा कार्यालयले २०६५ कात्तिकमा जिल्लाबाट एकमात्र प्रतिनिधिका रूपमा भारतको उत्तराञ्चलस्थित पन्तनगरमा अवलोकन भ्रमणमा पठाएको थियो । भ्रमणबाट त्यहाँको भैंसीपालन व्यवसायलाई नजिकबाट नियाल्ने र आधुनिक भैंसीपालनमा लाग्न हौसला मिलेको उनको भनाइ छ । चुडामणि आफ्नो व्यवसायमा सित्तैमा दिइने अनुदानभन्दा काम गरेबापत मिल्ने सम्मान, पुरस्कारलाई बढी महत्त्व दिन्छन् । ‘पैसा त मिहिनेत गरेर कमाउने हो, सित्तैमा किन लिने ?’

नयाँ सपना
एउटा सपनाको सार्थकतासँगै चुडामणिको जीवनमा नयाँ सपनाको जन्म भइहाल्छ । टन्न पैसा कमाउने, छोराछोरीलाई राम्रो शिक्षादीक्षा दिने र गाउँमा सडक ल्याई दूध ओसार्न आफ्नै गाडी किन्ने । यी सपना त पूरा भइहाले । उनले नयाँ सपना देखेका छन्– आफ्नो नमुना भैंसी फर्मलाई ‘पशु स्कुल’ को रूपमा विकास गर्ने ।

सुर्खेतसहित विभिन्न जिल्लाबाट उनको फर्म हेर्न आउने व्यक्तिको लस्करले उनको मनमा यो सपना जन्माएको हो । ‘पशु स्कुल खोलेर विद्यार्थीलाई व्यावहारिक शिक्षा दिने र किसानलाई अवलोकन अध्ययन भ्रमणको केन्द्र बनाउने मेरो सपना छ,’ उनले भने, ‘काम गर्दै जाऊँ, एक दिन यो सपना कसो पूरा नहोला ?’

व्यस्त दैनिकी
चूडामणिको सफलताको महल त्यत्तिकै ठडिएको होइन । मिहिनेत र संघर्षको बलियो जगमा ठडिएको छ, त्यो महल ।


सफलताको महल जति चुलिँदै गयो, उनको दैनिकीमा व्यस्तताको पारो पनि त्यत्तिकै तीव्रतासाथ चढिरहेको छ । मोटरसाइकलमा दूध बेच्दा उनी बिहान ५ बजे उठ्थे । गाडी किनेपछि भने बिहान ३ बजेबाटै उनको दैनिकी सुरु हुन्छ । ४ बजे आफ्नो घरको करिब ८० लिटर दूध गाडीमा राखेपछि गाउँलेको दूध संकलन गर्न गाडी कुदाउँछन् ।

दूध ढुवानी गरेबापत प्रतिलिटर पाँच रुपैयाँ भाडा लिन्छन् । ‘गाउँमा अरू गाडी छैनन् भन्दैमा महँगो भाडा असुल्न पनि त भएन,’ उनले भने, ‘गाडीले मलाई पनि फाइदा, गाउँलेलाई झन् फाइदा †’ सुरुमा साढे एक घण्टा पैदल हिँडेर वीरेन्द्रनगरमा दूध बेच्ने उनले चार वर्षमै मोटरसाइकल किनेका थिए । मोटरसाइकल यात्रा करिब दशकसम्म चल्यो । ‘काम गर्दै जाँदा कमाइ भयो, मोटरसाइकल किनियो, अहिले त गाडी नै ल्याइयो,’ उनी भन्छन्, ‘जीवनमा देखेका सपनाहरू बिस्तारै पूरा हुँदैछन् ।’

प्रकाशित : आश्विन २७, २०७५ ०८:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?