घर पुग्नै सास्ती

चर्को भाडा र यातायातका साधनको अभाव
भीमबहादुर सिंह

जाजरकोट — कुशे गाउँपालिका–८, की दुर्गा घर्तीले बिहीबार दिनभर खलंगाको गैरखालीमा गाडी कुरिन्  । त्यस्तै बारेकोट गाउँपालिका–१, का धर्म ज्योतिले पनि दिनभरि नै गेरीखालीमा गाडी कुर्नुपर्‍यो  ।

घर पुग्नै सास्ती

उनीहरू दुवैजना करिब एक वर्षपछि घर फर्कंदै छन् । उनीहरूलाई कतिबेला घर पुग्ने भन्ने हतारो छ । तर घरसम्म पुग्न गाडी नपाउँदा उनीहरू दिनभर गेरीखालीमा कुर्न बाध्य भए ।


घर पुग्न गाडी कुरेर दिन बिताउने ज्योति र घर्ती मात्र होइनन्, सदरमुकाम खलंगाको शान्तिचौतारा, गैरखाली र थाप्लेचौरमा गाडी पर्खने सयौं यात्रु छन् । दसैं मनाउन घर फर्कने सयौं यात्रुलाई दैनिक बिहान ४ बजेदेखि बेलुकी ७/८ बजेसम्म गाडीकै चटारो हुने गरेको छ ।


उनीहरूबीच गाडी चढ्न तँछाडमछाड हुने गरेको छ । वैदेशिक रोजगार, भारतमा मजदुरी, जागिर, पढाइ, व्यापार, उपचार लगायतको सिललिामा बाहिर रहेका दसैं मनाउन फर्कने क्रम बढेपछि यातायातका साधनमा चाप बढेको हो । यात्रु छिटो घर फर्कन चर्को भाडा तिरेरै जान बाध्य छन् । चर्को भाडाभन्दा पनि घर पुग्न गाडी नै नपाउने अवस्था आएको स्थानीय कमल रोकायाले बताए । रिजर्भ गर्ने गाडी पनि नपाइने गरेको उनले गुनासो गरे । ‘२० किलोमिटर दूरीको सडकमा पाँच सय रुपैयाँ भाडा तिर्दासमेत गाडी पाइँदैन्,’ उनले भने, ‘पाँच सिटे गाडीमा १०/१२ जना यात्रु खुट्टा राख्ने ठाउँ नराखेर कोचाकोच गरेर जान बाध्य छन् ।’


यात्रुलाई पाँचकटिया, जहरगाउँ, नारे, दल्ली, रिम्ना, कार्कीगाउ, थलह, सुवानाउलीलगायत स्थानमा पुग्न समस्या हुने गरेको हो । सडक पहँुच नभएको बारेकोट गाउँपालिका र जुनीचाँदे गाउँपालिकाका स्थानीयलाई घर जान झन समस्या छ । वर्षामा भत्किएको सडक मर्मत नहुँदा र सडकमा थोत्रा जिपमात्र सञ्चालन हुँदा यात्रुलाई जोखिमसमेत छ । जाजरकोट–जुम्ला, जाजरकोट–डोल्पालगायत सडकको मर्मत तथा स्तरोन्नति नहुँदा यात्रुलाई सास्ती भएको हो ।


जिल्लाका दर्जन सडकमा सञ्चालन हुने गरेका जिपको संख्या दुई दर्जन पनि नभएको व्यवसायी महेन्द्र बस्नेतले बताए । गतिला सडक नहुँदा व्यवसायीले नयाँ गाडी सञ्चालन गर्न नमानेको उनको भनाइ छ । ‘ग्रामीण सडक जीर्ण छन्, मर्मतसम्भार तथा स्तरोन्नति भएका छैनन्,’ उनले भने,‘त्यस्ता सडकमा गाडी चलाउनु जोखिम छ त्यसैले भाडा महँगो भएको हो ।’ दसैंको मौकामा यात्रुको चापको अनुपातमा गाडीको संख्या कम भएकाले समस्या भएको उनले जनाए ।

प्रकाशित : आश्विन २७, २०७५ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?