२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

खलोमा खुसी सिउँदै

हरि गौतम

काठमाडौँ — एक महिनादेखि बाँफिकोट गाउँपालिका २ का ५२ वर्षीय लीलाधर नेपाली व्यस्त छन्  । खुसी र उमंग बोकेर आउने हरेक दसैंमा नेपालीले ४० वर्षदेखि हाते मेसिनबाट स्थानीय बासिन्दाका लुगा सिलाउँदै आएका छन्  ।

खलोमा खुसी सिउँदै

त्यसैले चाडपर्व नजिकिएसँगै उनको व्यस्तता बढ्छ । खलो लिएबापत उनी दसैंका बेला बढी व्यस्त हुनुपर्छ । हरेक बाली पाक्दा केही अनाज पाउने उनी त्यसबापत कपडा सिलाइदिन्छन् ।

‘दसैं आइसक्यो, फूलपातीभन्दा अघि नै लुगा सिलाइसक्नुपर्छ,’ उनले भने, ‘चाप त सधैं हुन्छ, दसैं/तिहारका बेला थेग्न नसकिने चाप छ ।’ जेठ र कात्तिक महिनामा पाक्ने बालीबाट केही अनाज पाएबापत उनले वर्षैभरि लुगा सिउनुपर्छ । कात्तिकमा धान र मकै, जेठमा गहुँको खलो ल्याउँछन् उनले ।

मुसिकोट नगरपालिका १ का कविराम नेपाली पनि व्यस्त छन् । लामो समयदेखि हाते मेसिनबाट लत्ताकपडा सिलाउने उनी हरेक दसैंमा धेरैको खुसी सिलाउँछन् । ‘बाउबाजेले गरेको पेसा यही हो,’ उनले भने, ‘छोराछोरीले नगरे पनि म खलोबाटै धानिँदै आएको छु, जसको घरबाट खलो ल्याउँछु उही घरका लुगा सिउँछु ।’ उनले अघिपछि भन्दा दसैं तिहारमा व्यस्त भए पनि खुसी लाग्ने उनले बताए । ‘नयाँ लुगा लाउन आएका केटाकेटी र वृद्ध खुसी हुन्छन्,’ उनी भन्छन्, ‘उनीहरूको खुसी मेरै थोत्रो मसिनमा लुकेको छ कि जस्तो लाग्छ ।’

लीलाधर र कविराम मात्रै होइन जिल्लाका करिब ५० प्रतिशत सूचीकारको खलो प्रथाबाटै जीवन धानिएको छ । पछिल्लो पुस्ता व्यावसायिक सिलाइ कटाइतिर लागे पनि अघिल्लो पुस्ताले भने खलो प्रथा छाड्न सकेको छैन । ‘हामी यसैगरी यहाँसम्म आयौं, जहानबच्चा पालियो,’ लीलाधरले भने, ‘थोरै भए पनि पढाइ, लेखाइ गराइयो ।’

कुनै वर्ष ९० घरबाट खलो संकलन गरेकाहरू अहिले ३० देखि ४० घरसम्ममा खुम्चिएका छन् । ‘छाड्नेले छाडे पनि हामीले कतिपयलाई छाड्न सकेका छैनौं,’ कविरामले भने, ‘काम गर्दै आएको र त्यसबापत पाउँदै आएको मानोमुठीमै हामी कमाई देखिरहेका छौं ।’ चौरजहारी नगरपालिकाका मनबहादुर नेपालीले अहिले घर घरमा गएर लुगा सिलाउने चलन भने हटेको जनाए । उनका अनुसार पछिल्लो पुस्ता खलो प्रथामा लाग्दै लागेको छैन । सिलाइ कटाइ गर्ने व्यावसायिक रूपमा नै गर्छन् ।

बाउबाजेको बिँडो थाम्न भन्दै केही दलितले खलो प्रथामै काम गरिरहेको मुसिकोट नगर कार्यपालिका सदस्य शशिराम परियारले बताए । ‘कतिले यो चाहेर पनि छाड्न सक्ने अवस्था देखिन्न,’ उनले भने,‘कतिपयले पुख्र्यौली पेसा छाडेका छन्, कतिपय व्यावसायिक बनेका छन् ।’ खलो प्रथा निर्वाहमुखी मात्रै भएकाले यसलाई व्यावसायिक बनाउनुपर्ने उनको जोड छ ।

‘एक समय थियो, त्यतिबेला त्यही खलोबाट आएको अनाज पनि बिक्री गर्ने अवस्था थियो,’ परियारले भने, ‘अब अवस्था फेरियो नीतिगत र व्यावहारिक दुवै तरिकाले यसलाई हटाउन हामी सक्रिय भएका छौं ।’

प्रकाशित : आश्विन २८, २०७५ ११:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?