कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

उपभोग्य वस्तुमा कालोबजारी

ज्योति कटुवाल

काठमाडौँ — दसैं नजिकिएसँगै सदरमुकाम र अन्य व्यापारिक केन्द्रमा दैनिक उपभोग्य वस्तुमा कालोबजारी बढेको छ  । स्थानीय बासिन्दा पसलैपिच्छे फरक र चर्को मूल्यको मारमा छन्  ।

उपभोग्य वस्तुमा कालोबजारी

स्थानीय सरकार र प्रशासनले ध्यान नदिँदा कालोबजारी बढेको स्थानीयले जनाएका छन् । कालोबजारीका कारण दसैंको किनमेल प्रभावित भएको छ ।

चाडपर्वका बेला म्याद गुज्रिएका खाद्यवस्तुको खुलेआम बिक्री भइरहेको स्थानीयको भनाइ छ । स्थानीय प्रशासनले झारा टार्ने शैलीमा गरेको अनुगमनले व्यवसायीको मनोमानी बढेको स्थानीयको आरोप छ । स्थानीयका अनुसार कतिपय व्यापारीले पुरानो सामानको बीचमा नयाँ सामान मिलाएर बेच्ने गरेका छन् । सदरमुकाममा ७५ रुपैयाँ प्रतिकिलो पाइने चिनीको मूल्य गाउँमा एक सयदेखि एक सय २० रुपैयाँसम्ममा बिक्री भइरहेको छ ।

मोटो चामलको मूल्य ग्रामीण क्षेत्रमा प्रतिकिलो ८० रुपैयाँसम्ममा बिक्री भइरहेको छ । एक महिनाअघि ७५ रुपैयाँमा चिनी खरिद गरेकी नारायण नगरपालिका १ की लक्ष्मी श्रेष्ठले अहिले चिनीकै मूल्य प्रतिकिलो ८५ रुपैयाँ पुगेको बताइन् । ‘सरकारी निकायको फितलो अनुगमनका कारण व्यापारीले जथाभावी भाउ बढाएका छन्,’ उनले भनिन्, ‘महँगीले चाडबाड मनाउनै समस्या भयो ।’

सदरमुकाममा ७० रुपैयाँ प्रतिकिलो होलसेलमा पाइने सामानको मूल्य नौमुलेको कालिका पुग्दा एक सय २० रुपैयाँ पुग्ने गरेको उनले बताइन् । अनुगमन सदरमुकामकेन्द्रित र झारा टार्ने किसिमको भएकाले उपभोक्ता मारमा परेको उनको भनाइ छ । सदरमुकामस्थित खुद्रा सामग्रीको डिलर राजु स्टोर्सका प्रोपराइटर राजु श्रेष्ठले गाउँमा स्थानीय व्यवसायीले महँगी बढाएको बताए । उनका अनुसार सदरमुकामबाट गएको सामानको तीन गुणासम्म फाइदा लिएर स्थानीय व्यापारीले बिक्री गरिरहेका छन् । उनले कतिपय स्थानीय तहमा यातायात सुविधा नहुँदा महँगी स्वाभाविकै रहेको उनको भनाइ छ ।

नुन, चामल, तेललगायत उपभोग्य सामग्री सदरमुकाममै म्याद नाघेको अवस्थामा भेटिएको स्थानीय प्रशासनले जनाएको छ । औषधिसमेत म्याद नाघेको अवस्थामा बिक्री हुने गरेका छन् । जिल्लामा चार मेडिकल दर्ता भए पनि ११ स्थानीय तहमा दुई सय बढी मेडिकल सञ्चालनमा रहेको पाइएको छ ।

गत साता स्थानीय प्रशासनले दुई मेडिकल सिल गरेको जनाएको छ । खाद्यान्नसँगै कपडाको मूल्य पनि जथाभावी छ । भगवतीमाई गाउँपालिकाका कृपाराम बुढाले आफ्नै बारीको अर्गानिक वस्तु सस्तोमा बिक्री गरेर बजारको महँगो वस्तु उपभोग गर्नुपर्ने बाध्यता रहेको बताए । उनले ग्रामीण क्षेत्रमा म्याद नाघेका र कुहिएका सामग्री छ्यापछ्याप्ती रहेको बताए । ‘जथाभावी मूल्य बढाइएको छ,’ उनले भने,‘हामीले यसबारे पटक पटक विभिन्न सरकारी निकायमा खबर गर्‍यौं तर सुनुवाइ भएन ।’
प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटाले पायक पर्ने स्थानमा बजार अनुगमन गरिएको बताए । जनशक्ति अभाव र सबै स्थानमा सडक सुविधा नहुँदा अनुगमन जिल्लाव्यापी हुन नसकेको उनको भनाइ छ । उनले स्थानीय सरकारले बजार अनुगमनलाई तीव्रता दिएमात्र मूल्य र अखाद्य वस्तुको बिक्री बढ्ने दाबी गरे ।

प्रकाशित : आश्विन २८, २०७५ ११:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?