कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

डोल्पामा बिकेन खाद्यको चामल

विष्णुलाल बुढा

डोल्पा — न्यून खाद्यान्न उत्पादन हुने जिल्लामा ढुवानी अनुदानमा सरकारले उपलब्ध गराएको खाद्य संस्थानको चामल बिक्न सकेको छैन  । खाद्यको चामल महँगो र गुणस्तरयुक्त नभएको भन्दै स्थानीयले खरिद गर्न छाडेका छन्  ।

डोल्पामा बिकेन खाद्यको चामल

नेपाल खाद्य संस्थानले चामल बिक्री वितरणका लागि पसल सञ्चालन गरे पनि चामल बिक्री हुन समस्या भएको छ । जापानी चामल खानका लागि उपयुक्त नभएको र बजारको तुलनामा महँगो भएको स्थानीयको भनाइ छ । संस्थान शाखा कार्यालयका अनुसार गत वर्षकै स्टक रहेको जापानी चामल दसैंमा समेत बिक्री भएन । दसैंका लागि संस्थानले पसल सञ्चालन गरेको हो ।

संस्थानका कर्मचारी हिरामणि जोशीका अनुसार दसैंका लागि खोलिएको पसलबाट दुनैमा चार सय, सर्मीमा डेढ सय र जुफालमा डेढ सय क्विन्टल मात्र चामल बिक्री भएको छ । अहिले दुनै गोदाममा ९ सय, जुफाल गोदाममा साढे ३ सय र सर्मी डिपोमा साढे एक सय क्विन्टल चामल मौज्दात छ ।


५५ रुपैयाँ प्रतिकिलो रहेको जापानिज चामलको मूल्य बढाएर नेपाल खाद्य संस्थानले ६५ रुपैयाँ पुर्‍याएको छ । उक्त मूल्यमा बिक्री नभएपछि घटाएर प्रतिकिलो ६१ रुपैयाँ ७५ पैसा कायम गरिएको छ । उक्त मूल्यमा पनि चामल बिक्री नभएको कर्मचारीको भनाइ छ । गाउँमा खाद्यान्नको अभाव नभएकाले पनि बिक्री नभएको संस्थानले जनाएको छ ।

जिल्लाको सिमानासम्म मोटरबाटोको ट्रयाक खोलिएपछि ट्याक्टरले चामललगायत दैनिक उपभोग्य सामग्री ढुवानी गरिरहेको छ । ट्याक्टरले ढुवानी थालेपछि बजारको चामलसमेत सस्तिएको छ । रुकुम सीमाको त्रिवेणीमा जिरा मसिनो चामल प्रतिकिलो ७० रुपैयाँमा पाइने गरेको छ । उक्त चामल दुनै आइपुग्दा प्रतिकिलो ८० रुपैयाँ पर्ने गरेको स्थानीयको भनाइ छ ।


यस वर्ष ढुवानी ठेक्का स्वीकृत भए पनि चामल आई नपुगेको नेपाल खाद्य संस्थानले जनाएको छ । यस वर्ष संस्थानको चामल बिक्री नहुने देखिएपछि ढुवानी नभएको हुनसक्ने कर्मचारीले जनाएका छन् । सदरमुकाम दुनैदेखि करिब १५ किलोमिटर तलको चुंगाडसम्म मोटरबाटोको ट्रयाक खुलिसकेको छ । त्यहाँसम्म ट्याक्टरबाट सामान ढुवानी हुने गरेकाले बजारको चामल सस्तिएको जिल्ला समन्वय समितिका उपप्रमुख नरबहादुर बुढाले बताए ।

उनका अनुसार खाद्य संस्थानको चामल बिक्री नहुनु जिल्लामा खाद्यान्न अभावको स्थिति नहुनु हो । मोटरबाटो सदरमुकाम दुनै नजिकिएपछि सुर्खेत, नेपालगन्जलगायत ठाउँबाट मालबाहक गाडीमा उपभोग्य सामान आउन थालेको उनको भनाइ छ । सडक निर्माणमा तीव्रता आएसँगै डोल्पामा महँगी धेरै गुणा घटेको गुरुङ होटेलका प्रोप्राइटर भक्तबहादुर गुरुङले बताए । उनका अनुसार अहिले अधिकांश सामान सडक मार्गबाटै आउने गरेको छ ।

प्रकाशित : आश्विन ३०, २०७५ ०९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?