१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

भक्तजनको घुइँचो

विप्लव महर्जन

सल्यान — खैराबाङ भगवती मन्दिरमा दर्शनार्थीको घुइँचो बढेको छ । दसैं मनाउन लामो समयपछि घर फर्किएका स्थानीयबासी खैराबाङमा पूजाका लागि जाने गरेका छन् । खैराबाङमा दर्शनार्थीको भीड बढेसँगै स्थानीय व्यापार व्यवसाय फस्टाएको छ ।

भक्तजनको घुइँचो

मन्दिरमा पूजाका लागि आसपासका जिल्लाबाट समेत दर्शनार्थी आउने गरेको मन्दिर संरक्षण समितिका अध्यक्ष छविकुमार शर्माले बताए । सडक सुविधा पुगेपछि दर्शनार्थीको संख्या बढ्दै गएको उनको भनाइ छ । उनका अनुसार घटस्थापनादेखि मेला लाग्ने मन्दिरमा तृतीयादेखि अष्टमीसम्म भीडभाड हुने गरेको छ ।


एकै दिनमा एक सय बढी भक्तजन गाडी लिएर मन्दिरमा आउने गरेको समितिले जनाएको छ । ‘भगवती मन्दिरमा पूजाआजा गरी बर मागे सन्तान प्राप्त हुने विश्वास छ,’ अध्यक्ष शर्माले भने, ‘चतुर्थी, पञ्चमी र षष्टीमा मात्रै मन्दिरमा पाँच सय बढी बोकाको बली दिइने गरिएको छ ।’ मन्दिर नजिकै खानबस्नका लागि उपयुक्त होटल तथा आवासगृह नभएकाले आएका दर्शनार्थी एकै दिनमा फर्कने गरेको उनको भनाइ छ । विगतको तुलनामा मन्दिरमा पूजाआजा र दर्शनका लागि आउने दर्शनार्थीको भीड बढी हुने गरेको समितिका सदस्य नवीन पौडेलले बताए । दर्शनार्थीले मन्दिरमा चढाएको रकम र बोकाको टाउको बिक्री गरेको रकमबाट मन्दिर सञ्चालन भइरहेको छ । उक्त रकमलाई मन्दिर संरक्षण र पूर्वाधार निर्माणमा प्रयोग गर्ने गरिएको पौडेलले जनाए । मन्दिरलाई अझ व्यवस्थित बनाउन र बाह्य पर्यटक भित्र्याउन शारदा नगरपालिकाले आवासगृह निर्माण थालेको छ ।


किंवदन्ती अनुसार मन्दिर आसपासमा एक सुन्दर युवती बाघमा चढेर घुम्ने गर्थिन् । एक दिन गोठालाहरूले उनलाई देखेपछि पछ्याउँदै जाँदा युवती गुफामा छिरेर हराएकी थिइन् । त्यही गुफामा मन्दिर बनाएर पूजाआजा गर्न थालिएको स्थानीय अगुवाको भनाइ छ । मन्दिरमा मागेको बर पाइने भएकाले तीर्थयात्रीको संख्या बर्सेनि बढ्दै गएको स्थानीयले जनाए । मन्दिरमा वर्षभरि नै पूजाआजा हुने गरेको छ । स्थानीयबासी र समितिको सक्रियतामा मन्दिर संरक्षणका लागि विभिन्न पूर्वाधार निर्माण गरिएका छन् । मन्दिरलाई धार्मिक पर्यटकीय क्षेत्र बनाउन विभिन्न पूर्वाधार निर्माणका काम सुरु गर्न थालिएको नगरपालिकाले जनाएको छ । समितिका अनुसार मन्दिरमा विवाह, व्रतबन्धलगायत विभिन्न धार्मिक कार्य हुने गरेका छन् ।

प्रकाशित : आश्विन ३०, २०७५ ०९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?