२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

३६ जनामा एचआईभी

कान्तिपुर संवाददाता

कालिकोट — जिल्लाका ३६ जनामा एचआईभी संक्रमण देखिएको छ  । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार २१ महिला र १५ पुरुषमा एचआईभी संक्रमण भेटिएको हो  ।

३६ जनामा एचआईभी

एचआईभीका कारण चार जनाको मृत्यु भइसकेको कार्यालयले जनाएको छ । कार्यालयका सिनियर अहेव रवीन्द्र सेजुवालका अनुसार सबैभन्दा बढी नरहरिनाथ ८ र ९ मा पर्ने लालुमा संक्रमित फेला फेला परेका छन् । त्यहाँ ९ जनामा संक्रमण देखिएको छ । ग्रामीण क्षेत्रका अधिकांश पुरुष ज्याला मजदुरीका लागि भारत जाने गरेका छन् ।


पुरुष संक्रमित भएर घरमा पत्नीलाई सारेको पाइएको स्वास्थ्यकर्मीको भनाइ छ । कार्यालयका अनुसार स्युनामा ४, कुमालगाउँमा ४, मेहेलमुडीमा २ महिला र २ पुरुष, माल्कोटमा ४ महिला र ३२ पुरुष तथा मान्ममा ४ पुरुषमा एचआईभी संक्रमण भेटिएको हो । ३६ जना संक्रमित भएको पत्ता लागे पनि एक जनामात्र खुलेका छन् । अरू समाजको डरले खुल्न नसकेको एचआईभी संक्रमितका लागि क्रियाशील कर्णाली प्लसका कार्यक्रम संयोजक दीपकबहादुर शाहीले बताए ।

उनले एचआईभी संंक्रमितको संख्या बढ्न सक्ने अनुमान गरे । ‘धेरैजसो रगत परीक्षण गर्न डराउँछन्,’ उनले भने ‘भारत जाने र आउनेको अनिवार्य परीक्षणको व्यवस्था गरे संक्रमण घट्ने देखिन्छ ।’ उनका अनुसार जिल्ला अस्पतालमा १९ जनाले एआरभी सेवन गरिरेका छन् । केहीले बाहिरबाट एआरभी सेवा लिइरहेका छन् । कर्णाली प्लसले एचआईभी संक्रमितका लागि पोषण, उपचार र सरसफाइमा सहयोग गरिरहेको छ ।


कालिकोटमा रक्तपरीक्षण गर्नेको संख्या न्यून भएकाले संक्रमितको संख्या धेरै हुनसक्ने जिल्ला स्वास्थ्य प्रमुख डा. कौशल ओलीले बताए । उनले ज्याला मजदुरीका लागि भारत गएर फर्किएका र अछामसँग विवाहबारी हुने गरेका समुदायमा बढी संक्रमण देखिएको जनाए ।

प्रकाशित : आश्विन ३०, २०७५ ०९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?