१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६२

गाउँमा दसैं चटारो

भीमबहादुर सिंह

जाजरकोट — दसैं पर्व नजिकिँदै गर्दा सदरमुकाम खलंगा सुनसान भएको छ  । कर्मचारी, विद्यार्थी, शिक्षक, व्यापारी, राजनीतिक दलका नेता कार्यकर्तालगायत दसैं मनाउन गाउँ हिंडेपछि खलंगा बजार सुनसान भएको हो  ।

गाउँमा दसैं चटारो

नेपालगन्ज, सुर्खेत, काठमाडौं लगायत सहरमा घरबास बनाएका खलंगाका अधिकांश रैथाने बासिन्दा पनि दसैं मनाउन गाउँमा झरेका छन् । विभिन्न कामकाजका सिलसिलामा सदरमुकाम बस्दै आएका सबै जना गाउँ फर्केपछि खलंगा सुनसान भएको स्थानीय हरिबहादुर शाहीले बताए ।

‘सोमबारदेखि खलंगामा फाटफुट बाहेक रैथाने मात्र देखिन्छन्,’ उनले भने, ‘खलंगाका रैथाने बासिन्दा पनि आधा जति सहरतिर झरिसकेका छन् ।’ उनका अनुसार हिजोआज गाउँ फर्कनेको लर्को लागेको छ । सरकारी कार्यालयका कर्मचारी दसैं बिदामा हिंडिसकेका छन् । खलंगाका पसल तथा होटल बन्द छन् । चहलपहल भइराख्ने खलंगाको ठाँटी बजार, गैरखाली, शान्तिचौतारालगायत बजारमा स्थानीयको आवजावत न्यून भएको छ ।


गाउँमा भने दसैं नजिकिएसँगै चहलपहल बढेको छ । देशका विभिन्न सहर र देश बाहिर बसेका अधिकांश दसंै मनाउन गाउँ फर्केकाले चहलपहल बढेको हो । रोजगारीका लागि विदेश गएका, अध्ययन गर्न सहरमा पसेका र व्यापार तथा जागिर गर्न गएका दसैं मनाउन घर फर्केका हुन् । दसैं मनाउनका लागि तीन वर्षपछि घर फर्केको कुशे गाउँपालिका–८, का कालीबहादुर सिंहले बताए । सिंह मजदुरीका लागि भारतको नैनीतालमा बस्दै आएका थिए ।


दसैं तथा तिहारको पूर्व तयारीका लागि ग्रामीण क्षेत्रमा घर पोत्ने, रङ्गीचङ्गी बनाउने, खसीबोका किन्ने, भगवती मन्दिर तथा मौलो सरसफाइ, बाटोघाटो सरसफाइ, पिङ लगाउने, सेलरोटी पकाउनेलगायत काम भइरहेका छन् । गाउँमा दसैंका साथै विभिन्न मेला सञ्चालन हुन थालेका छन् । स्थानीय मेलामा खाँडो, सिकारु, देउडामा, सरङ्गेलगायत नाचगान गरेर रमाउन थालेका छन् । खेतीपाती भित्र्याउने र नयाँ लगाउने सिजन परेकाले पनि गाउँमा चहलपहल बढेको हो ।


तर यातायातको असुविधाले दसैं मनाउन घर जानलाई सास्ती भएको छ । सडक पहँुच नभएका कुशे, बारेकोट, जुनिचाँदे गाउँपालिका लगायतका दुर्गम गाउँका बासिन्दालाई घर फर्कन सास्ती भएको हो । शान्तिचौतारा, गैरखाली र थाप्लेचौरमा गाडीको दिनभर पर्खाइमा बसेका यात्रु सयौं छन् । चर्को भाडा तिरेर पनि पैंक पुग्ने गाडी नपाएको वडाध्यक्ष अमर रोक्का मगरले बताए । व्यवसायीले यही मौका छोपेर २५ किलोमिटरको बाटोमा १० जनाको १६ हजार भाडा लिने गरेको मगरले बताए । महँगो भाडा तिर्न मञ्जुर भए पनि रिजर्भ गर्ने गाडी नपाइने गरेको उनले बताए ।

प्रकाशित : आश्विन ३०, २०७५ ०९:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?