कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आगलागीमा एक लाख नगदसहित घर जल्यो

हरि गौतम

रुकुम पश्चिम — बाँफिकोट गाउँपालिका १० फेराका शशिराम खत्रीको बुधबार बिहान घरमा आगलागी हुँदा नगद एक लाखसहित घरमा रहेका सम्पूर्ण सामग्री जलेर नष्ट भएको छ । घरमा आगलागी हुँदा नगद एक लाखसहित चार लाख बढी क्षती भएको १० नम्बर वडा सदस्य रामबहादुर जैसीले बताए । 

आगलागीमा एक लाख नगदसहित घर जल्यो

भारतबाट खत्रीका श्रीमान/श्रीमतीले कमाएर ल्याएको उक्त नगद घरमै राखेका थिए । भारतका कमाई गरिरहेका उनीहरु दसैं मनाउन केही दिनअघि मात्रै घर पुगेका थिए । घरमा आगो लागेको थाहा पाएपछि घरमा सुतिरहेका परिवारका सदस्यहरु भाग्न सफल भए पनि घरको कुनै पनि सामान बचाउन सकेनन् । आगो किन र कसरी लाग्यो भन्ने केही खुलेको छैन । ‘दसैं मनाउन र ऋण तिर्न ल्याएको नगद त जल्यो, बस्ने बास पनि उराठ भएको छ,’ खत्रीले भने, ‘दसैं मनाउन र ऋणदान तिर्न दु:खले कमाएको सम्पत्ति जल्यो ।’

दसैंको मुखैमा घर जलेपछि उनको परिवार अब आफन्तकोमा बस्न थालेको छ । अर्को घर नभएकाले आफन्तको घरमा बस्ने खत्रीले बताए । दसैंको धुमधाम तयारी भइरहेको बेला दु:खद घटना भएको उनले बताए । आम्दानीको अन्य कुनै स्रोत नभएको उनको परिवार भारतमा कमाएर जीविकोपार्जन गर्दै आएको थियो । जलेको घर बनाउन र आधारभूत सरसामग्री जोड्न फेरि भारत पस्नुपर्ने बाध्यता खत्रीको परिवारलाई आइलागेको छ ।



प्रकाशित : आश्विन ३१, २०७५ १५:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?