सिम्रुतुखोला जलविद्युत् अन्तिम चरणमा

हरि गौतम

रुकुम पश्चिम — जिल्लाको सबैभन्दा ठूलो सिम्रुतुखोला साना जलविद्युत् आयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको छ  । आयोजना निर्माण दशकअघि सुरु भएको थियो  ।

सिम्रुतुखोला जलविद्युत् अन्तिम चरणमा

एसियाली विकास बैंक, नेपाल सरकार (वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र) र स्थानीय उपभोक्ताको साझेदारीमा निर्माणाधीन उक्त आयोजनाको ८५ प्रतिशत बढी काम सम्पन्न भइसकेको निर्माण समितिका अध्यक्ष एवं सहकारीका अध्यक्ष लक्ष्मण ओलीले बताए । आयोजनाबाट दुई सय किलोवाट विद्युत् उत्पादन हुनेछ । रुकुम उज्यालो कार्यक्रमअन्तर्गत जिल्लामा यसअघि निर्माण सम्पन्न कुनै पनि साना तथा लघु जलविद्युत ंआयोजना ९० किलोवाटभन्दा बढी उत्पादन क्षमताका छैनन् ।


सिमु्रतुखोला र खारखोलाको पानीलाई त्रिवेणी गाउँपालिका–२, त्रिवेणीमा जम्मा गरी आयोजना निर्माणको काम भइरहेको छ । आठ करोड ७१ लाख ३६ हजार आठ सय ८८ रुपैयाँमा निर्माण हुने उक्त आयोजनाको लागि ६५ प्रतिशत नेपाल सरकारमार्फत एसियाली बैंकको लगानी रहेको छ । उपभोक्ताबाट नगद तथा श्रमदान गरी २४ प्रतिशत र आयोजना निर्माणकर्ता सिम्रुतुखोला साना जलविद्युत् सहकारी लिमिटेडको सिभिल बैंकबाट लिएको ऋण ११ प्रतिशत लगानी रहने अध्यक्ष ओलीले जानकारी दिए । सिम्रुतुखोला साना जलविद्युत् आयोजना निर्माणको लागि एसियाली विकास बैंकको आर्थिक सहयोगमा दक्षिण एसियाली उपक्षेत्रीय आर्थिक सहयोग (सासेक)आयोजनाले अनुदान सहयोग गरेको छ ।


गौरा कन्स्ट्रक्सन प्रालि र हाइड्रो इनर्जी प्रालिले सयुंक्त रुपमा उक्त आयोजना निर्माणको जिम्मा लिएका हुन् । आयोजनाबाट त्रिवेणी गाउँपालिका र मुसीकोट नगरपालिकाका एक हजार दुई सय ९६ घरधुरी लाभान्वित हुनेछन् । निर्माण समिति अध्यक्ष ओलीका अनुसार २०७६ को सुरुमै उपभोक्ताको घरघरमा बत्ती पुर्‍याउने गरी काम भइरहेको छ । ‘विद्युत्गृहमा आवश्यक सम्पूर्ण मेसिन तथा उपकरण ल्याएर जडानको लागि तयारी अवस्थामा राखिएको छ,’ उनले भने, ‘क्यान निर्माणको काम पनि सकिएको छ ।×’ वर्षामा गएको पहिरोले भत्काएको मर्मत गर्नुपर्ने बाहेक क्यानलको अरू काम बाँकी नरहेको उनले बताए ।


विभिन्न निकायमा कागजी प्रक्रिया पूरा गर्न र उपभोक्ताबाट लगानी गर्नुपर्ने नगद संकलनको क्रममा लामो समय लागेको अध्यक्ष ओलीको भनाइ छ । विद्युत् आयोजना निर्माणको लागि त्रिवेणी गाउँपालिकाका १ र २ नम्बर वडाका ९ सय घरधुरीले प्रतिघरधुरी ३१ हजार ६ सय ५ रुपैयाँ जम्मा गरेका छन् । त्यस्तै, त्रिवेणी गाउँपालिकाको ५, ६ र ७ नम्बर वडाका २ सय घरधुरी र मुसीकोट नगरपालिका १२ का केही घरधुरीले ३०/३० हजार नगद संकलन गरेका छन् ।


मुसीकोट नगरपालिका–११ वडावासीले २५ हजार रुपैयाँ प्रतिघरधुरी २५ हजार दरले लगानी गरेका छन् । उक्त आयोजनामा साविकको रुँघा गाविस र जिल्ला विकास समितिबाट पनि १० लाख रुपैयाँ लगानी भएको अध्यक्ष ओलीले जानकारी दिए ।

प्रकाशित : कार्तिक ५, २०७५ ०९:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?