साना जलविद्युत् बन्दै

कान्तिपुर संवाददाता

रुकुम पश्चिम — जिल्लाको सबैभन्दा ठूलो सिम्रुतु खोला साना जलविद्युत् आयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको छ  । दस वर्ष अघि प्रक्रिया थालिएको उक्त विद्युत् आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको हो  ।

साना जलविद्युत् बन्दै

२०६६ सालमा उपभोक्ताको तहबाट उक्त आयोजना निर्माणका लागि आवश्यक प्रक्रिया सुरु गरिएको थियो । एसियाली विकास बैंक, नेपाल सरकार वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको अनुदान सहयोग तथा स्थानीय उपभोक्ताको नगद तथा श्रमदानमा उक्त आयोजनाको ८५ प्रतिशत बढी काम सम्पन्न भइसकेको छ ।


२ सय किलोवाट विद्युत् उत्पादन क्षमताको यो आयोजना जिल्लाकै ठूलो विद्युत् आयोजना हो । रुकुम उज्यालो कार्यक्रम अन्तर्गत जिल्लामा यसअघि निर्माण सम्पन्न कुनै पनि साना तथा लघु जलविद्युत् आयोजना ९० किलोवाटभन्दा बढी उत्पादन क्षमताका छैनन् ।

सिमु्रतुखोला र खारखोलाको पानीलाई त्रिवेणी गाउँपालिका–२, त्रिवेणीमा जम्मा गरी आयोजना निर्माणको काम भइरहेको छ । ८ करोड ७१ लाख ३६ हजार आठ सय ८८ रुपैयाँमा निर्माण हुने उक्त आयोजनाका लागि ६५ प्रतिशत अर्थात् ५ करोड ७० लाख रुपैयाँ नेपाल सरकार मार्फत एसियाली बैंकको लगानी छ ।

यस्तै उपभोक्ताबाट नगद र श्रमदान गरी २४ प्रतिशत अर्थात् २ करोड १ लाख ३६ हजार ८ सय ८८ र आयोजना निर्माणकर्ता सिम्रुतुखोला साना जलविद्युत् सहकारी लिमिटेडको सिभिल बैंकबाट लिएको ऋण ११ प्रतिशत अर्थात् १ करोड लगानी छ । सिम्रुतुखोला साना जलविद्युत् आयोजना निर्माणका लागि एसियाली विकास बैंकको आर्थिक सहयोगमा दक्षिण एसियाली उपक्षेत्रीय आर्थिक सहयोग (सासेक) आयोजनाले अनुदान सहयोग गरेको छ ।


गौरा कन्स्ट्रक्सन प्रालि र हाइड्रो इनर्जी प्रालिले संयुक्त रूपमा उक्त आयोजना निर्माणको जिम्मा लिएका । उक्त आयोजना निर्माणपश्चात् त्रिवेणी गाउँपालिका मुसीकोट नगरपालिकाका १ हजार २ सय ९६ घरधुरी लाभान्वित हुनेछन् । निर्माण समितिका अध्यक्ष एवं सहकारीका अध्यक्ष लक्ष्मण ओलीले विद्युत् आयोजना निर्माणको अन्तिम चरणमा रहेको बताए ।

प्रकाशित : कार्तिक ६, २०७५ ०९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?