ज्यालामा लैंगिक विभेद

महिला र पुरुषको समान ज्यालाको जति आवाज उठ्ने गरे पनि सल्यानमा ज्यालामा समानता हुन सकेको छैन
विप्लब महर्जन

सल्यान — शारदा नगरपालिका–१ का संगीता नेपाली, दीपा विक, रमेश थापा र बिमला रोकालगायतले सँगसँगै सडक निर्माणको काम गरे । काम एउटै थियो, तर ज्याला भने फरक–फरक बुझे । महिलाले ५ सय ५० पाए भने पुरुषले ७ सय ।

ज्यालामा लैंगिक विभेद

महिला र पुरुषको समान ज्यालाको जति आवाज उठ्ने गरे पनि सल्यानमा ज्यालामा समानता हुन सकेको छैन । व्यक्तिगत काममा लगाउने स्थानीयदेखि निर्माण व्यवसायीसम्मले ज्यालामा विभेद गर्दै आएका छन् । ‘हामीले पनि पुरुषले गर्ने काम गर्छौं, अझ उनीहरूभन्दा बढी गर्छौं,’ संगीताले भनिन्, ‘ज्याला भने धेरै तलमाथि छ ।’

समान ज्यालाका लागि विगतदेखि नै आवाज उठाए पनि बेवास्ता हुने गरेको उनले बताइन् । दिनभरि काम गरेबापत महिलाले बढीमा ५ सय ५० रुपैयाँसम्म ज्याला पाउँछन् । पुरुषले भने सात सयसम्म पाउँछन् । काम भने महिलाले पनि पुरुषजत्तिकै गर्ने गर्छन् । दीपाको अनुभवमा पुरुषले काम गर्दै गर्दा समय निकालेर चिया, चुरोट, सुर्ती खान भ्याउँछन् । थकाइ पनि मेटाउँछन् ।

महिला भने एकोहोरो काममा जोतिन्छन् । ‘हामीलाई थकाइ मार्न पनि दिइँदैन, ज्याला भने उनीहरू (पुरुष)भन्दा काम दिन्छन्,’ उनले भनिन्, ‘हामीले यस्तो अन्याय कहिलेसम्म सहेर बस्ने ?’

निर्माण व्यवसायी सुशीलविक्रम शाह भने कार्यक्षमताको आधारमा ज्याला तलमाथि भएको हुन सक्ने बताउँछन् । ‘महिला भएकैले ज्याला कम दिने गरिएको त होइन होला,’ उनले भने, ‘बरु कामको आधारमा ज्याला केही तलमाथि भएको हुन सक्छ ।’


स्थानीय तहहरूले आफ्नो क्षेत्रभित्र कामदारको ज्याला तोक्ने गरे पनि कार्यान्वयन भने फितलो छ । शारदा नगरपालिकाकी उपमेयर सावित्रा बस्नेतले नीति बनाइए पनि व्यावहारिक रूपमा कार्यान्वयन गर्न निकै कठिनाइ भएको बताइन् ।

‘समाजमा हुने विभेदको सिकार महिला भइरहेका छन्,’ उनले भनिन्, ‘यसको अन्त्यका लागि नीति बनाएरमात्र हुँदैन, कार्यान्वयन पनि कडाइका साथ गरिनुपर्छ ।’

प्रकाशित : कार्तिक ६, २०७५ ०९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?