मान्ममा सीसी क्यामेरा

कान्तिपुर संवाददाता

कालिकोट — सदरमुकाम मान्म बजारमा सीसी क्यामेरा जडान गरिएको छ  । सीसी क्यामेरा जडान भएपछि चोरी, डकैती, झैंझगडामा कमी आएको प्रहरीले जनाएको छ  ।

मान्ममा सीसी क्यामेरा

मान्म बजारको मुख्यचोक तथा महत्त्वपूर्ण ठाउँमा ११ सीसी क्यामेरा जडान गरिएको प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले बताए ।

उनका अनुसार जिरो प्वाइन्ट, जिल्ला प्रशासन, प्रहरी र जिल्ला समन्वय समिति अगाडि, बीच बजारको बैंकचोक, प्रतिमाचोकस्थित नरहरिनाथ चोकलगायतका ठाउँमा सीसी क्यामेरा जडान गरिएको छ । उनले एक साताअघि मान्म बजारकी व्यापारी रीता शाहीको नगदरसहितको झोला चोरी भएको एक घण्टामै सीसी क्यामेराको फुटेजको आधारमा चोरेर गाडीमा सुर्खेत जान लागेका तीनजना चोरको समूह पक्राउ गर्न सफल भएको सुनाए । सीसी क्यामेरा जडान भएको मान्म कर्णालीको पहिलो सदरमुकाम भएको छ ।

प्रहरी प्रमुख डीएसपी विनोद शर्माले अपराध न्यूनीकरणका लागि सीसी क्यामेरा अत्यन्तै प्रभावकारी भएको बताए । ‘सीसी क्यामेराले अपराधीको मनोबल पनि गिराएको छ,’ उनले भने । दुई दिनअघि एक मान्म बजारको पश्चिममा पर्ने दरबार एरियामा एक युवतीलाई हातपात गर्ने युवालाई पनि सीसी क्यामेराको फुटेजबाट पक्राउ गर्न प्रहरी सफल भएको उनले बताए ।

प्रहरीका अनुसार मान्म बजारमा रहेका अधिकांश घर यहाँका रैथाने बासिन्दाका नभएकाले दसैं मनाउन घर गएको बेला चोरीका घटना हुने गर्थे । यस वर्ष भने सीसी क्यामेरामार्फत प्रहरीले विशेष निगरानी गरेकाले दसैंको बिदामा चोरीका घटना नभएका डिएसपी शर्माले बताए ।

मान्ममा यसअघि बैंकभित्र मात्र सीसी क्यामेरा जडान गरिएका थिए । प्रहरीको सक्रियतामा मान्मसहित स्थानीय तहको सहकार्यमा जिल्लाका मुख्य बजार केन्द्रहरू आरसिपी बजार स्युना, शान्तिघाट, नाग्मलगायत ठाउँमा सीसी क्यामेरा जडानका लागि पहल गरिने उनको भनाइ छ ।

माम्म बजारमा सीसी क्यामेरा जडानको लागि खाँडाचक्र नगरपालिकाले पाँच लाख, जिल्ला प्रहरी कार्यालयले एक लाख, सानिमा विकास बैंक, एनआईसी एसिया, टुरिज्म डेभलपमेन्ट बैंक, राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आईएमई बैंकले १ लाख ५० हजार, कालिकोट उद्योग वाणिज्य संघले ७५ हजार रुपैयाँ उपलब्ध गराएका जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रकाशित : कार्तिक ६, २०७५ ०९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?