५ लाख पर्यटक भित्र्याउन गाह्रो

तुलाराम पाण्डे

कालीकोट — कर्णाली प्रदेश सरकारले गत वैशाखमा घोषणा गरेको कर्णाली–रारा पर्यटन वर्षका लागि पर्यटक भित्र्याउन सडक बाधक बनेको छ । प्रदेश सरकारले यस वर्ष पाँच लाख पर्यटक भित्र्याउने लक्ष्यसहित पर्यटन वर्ष घोषणा गरेको थियो  ।

५ लाख पर्यटक भित्र्याउन गाह्रो

जीर्ण सडकका कारण लक्ष्यअनुसार पर्यटक भित्र्याउन सम्भव देखिएको छैन ।

साँघुरो र असहज कर्णाली राजमार्गको सुर्खेत–जुम्ला खण्डमा विश्व बैंकको सहयोगमा ओटासिल प्रविधिको कालोपत्रे गरिएको छ । तर, अधिकांश स्थानको पिच उप्किएको छ । कर्णाली राजमार्ग घाम लाग्दा धूलाम्मे र पानी पर्दा हिलाम्मे हुने गरेको छ । आन्तरिक पर्यटन प्रवद्र्धन गर्न प्रदेश सरकारले महत्त्वाकांक्षी लक्ष्य घोषणा गरेको थियो ।

अहिलेसम्म करिब एक लाखले मात्र रारा भ्रमण गरेको तथ्यांक छ । कर्णाली राजमार्गअन्तर्गत सुर्खेत–जुम्ला सडकको सुर्खेत, दैलेख, कालीकोट र जुम्ला खण्ड सबैतिर पिच उप्किएको छ । अधिकांश ठाउँमा पिच गरेको अनुमान नै नहुने गरी सडक धुलाम्मे र हिलाम्मे भएको रारा कर्णाली यातायात व्यवसायी संघका अध्यक्ष हस्तबहादुर बमले बताए ।

‘कर्णाली राजमार्गको हालत जीर्ण छ,’ बमले भने, ‘दैलेख र कालीकोट खण्डमा ९ वटा पुल पनि बनेका छैनन् ।’ उनले राजमार्गको डिलमा दुर्घटना रोक्न लगाइएका सेफ्टी बार पनि धेरैजसो ठाउँमा भाँचिएको जनाए ।

सडक जीर्ण हुँदा नेपालगन्जबाट जुम्ला एकै दिनमा यात्रुवाहक बस पुग्न पनि कठिनाइ भएको चालक डम्बर खत्रीले बताए । ‘सडकको बिजोग छ,’ उनले भने, ‘स्पीडमा हुइँक्याउँ भने भीरमा जाला भन्ने पिर, नहुइँक्याउँदा नपुगिने खतरा ।’ उनले बाटोको अवस्था खराब भएकाले मुगुको रारा जाने यात्रुहरू बस चढ्न डराउने गरेको सुनाए ।

रारामा पुगेर वैशाख १ गते प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली समृद्धिका लागि पर्यटन प्रमुख आधार भएको घोषणा गरेका थिए । रारा पर्यटन महोत्सवको शुभारम्भ गरे पनि सडक निर्माण र मर्मत–सम्भारमा कुनै सुधार नआएको कांग्रेस मुगुका सचिव मन्जन कार्कीले बताए ।

वैशाखयता ६ महिनाको अवधिमा डोल्पामा ५ हजार, हुम्लाको मानसरोवरमा ४० हजार र मुगुको रारामा एक लाख हाराहारीमा पर्यटक आएको कर्णाली पर्यटन बोर्डका सदस्य मर्मजंग बमको अनुमान छ । उनले वर्षामा पर्यटक आउने समय नभएकाले हिउँदे याममा घुम्नेको संख्या वृद्धि हुने बताए । ‘वैशाखदेखि जेठसम्म आन्तरिक पर्यटक आएकै हुन्,’ बमले भने, ‘पानी पर्ने वर्षाको सिजनमा केही कमी भएका हुन्, अब पर्यटक आउने मौसम सुुरु भएको छ ।’

कर्णाली आउने बाह्य पर्यटक ५ प्रतिशत मात्र रहेको पर्यटन व्यवसायी दिनेश शाहीले बताए । ‘आन्तरिक पर्यटक पनि धेरै छैनन्,’ उनले भने, ‘सरकारले पाँच लाख पर्यटक भित्र्याउने घोषणा गरे पनि आवश्यक पूर्वाधार नहुँदा समस्या भएको छ ।’

हवाई यातायातको सहज पहुँच नहुनु र सडक यातायात पनि भरपर्दो नहुनुले समस्या भएको उनको भनाइ छ । कर्णालीमा पर्यटनको सम्भावना भएर पनि जीर्ण कर्णाली राजमार्गका कारण लक्ष्य पूरा गर्न कठिनाइ भएको कालीकोट उद्योग वाणिज्य संघका अध्यक्ष सूर्यबहादुर शाहीले बताए ।

साँघुरो र जीर्ण सडक, खोलाका अधुरा पुल र अत्यधिक मोड भएको कर्णाली राजमार्गबाट रारामा पर्यटक पुर्‍याउन निकै कठिन छ । कर्णालीको पर्यटन, जलविद्युत् र जडिबुटी मुख्य स्रोत भए पनि अन्य क्षेत्रमा बढी लगानी जुटाउनपर्ने अवस्थाका कारण सहज मानिएको पर्यटन क्षेत्रलाई पहिलो आधार मान्दै प्रदेश सरकारले पर्यटन वर्ष घोषणा गरेर काम थालेको छ ।

एक दशकअघि सेनाले चट्टान फुटाएर सडकको ट्रयाक खोलेको हो । ‘सडकको बेहाल छ,’ स्थानीय नन्दबहादुर शाहीले भने, ‘यस्तोमा कसरी धेरै पर्यटकको आशा गर्न सकिन्छ ?’ उनले तत्काल सडकको मर्मत सम्भारसहित स्तरोन्नति, वर्षौंदेखिका अधुरा पुलको निर्माण र सडक विभागको सक्रियतामा जोड दिए ।

ट्रयाक खुलेर सञ्चालनमा आएयता पहिलो चरणमा सुर्खेतबाट दैलेखको खिडीज्युलासम्म ०६६ मा ओटासिल कालोपत्रे सकिएको थियो । खिडीज्युलादेखि जुम्लासम्म ०७० मा कालोपत्रे सकिए पनि अहिले ९० प्रतिशत कालोपत्रे उप्किएको छ । सुर्खेतदेखि जुम्लासम्म कालोपत्रे गर्न करिब डेढ अर्ब खर्च भइसकेको छ । सडकको गुणस्तर कमजोर हुँदा अत्यधिक दुर्घटना पनि यहींकै सडकमा हुने गरेको स्थानीयको गुनासो छ ।

पर्यटकलाई आर्कषित गर्न खाने बस्ने होटल र सडक पहँुच भएका केही गाउँमा होमस्टेको व्यवस्थापन नहुनुले पर्यटक भित्र्याउन मुस्किल रहेको स्थानीय अगुवाको भनाइ छ । जुम्ला र मुगुको ताल्चा विमानस्थलबाट हुने उडानमा वृद्धि गर्ने, पर्यटक मैत्री व्यवहार र वातावरण तथा सुरक्षा व्यवस्थाको सुनिश्चिततालगायत काम गर्न बाँकी रहेको कर्णाली पर्यटन बोर्डका पूर्वसदस्य चित्रसिंह गाउँलेले बताए । ‘पर्यटक रारा पुर्‍याउने मुख्य कर्णाली राजमार्ग नै हो,’ उनले भने, ‘तत्काल सडकको मर्मत सुधार जरुरी छ ।’ उनले सडकको स्तरोन्नतिसँगै राजमार्गका दर्जन बढी अधुरा पुल निर्माण हुनुपर्ने बताए ।

कर्णालीको समृद्धिका लागि पर्यटक प्रमुख सम्भावना ठहर गर्दै प्रदेश सरकारले वैशाख १ गते मुगुको रारा, कालीकोटको पचालझरना, हुम्लाको हिल्सा र डोल्पाको शे–फोक्सुण्डोमा एकै साथ पर्यटक वर्ष शुभारम्भ भएको घोषणा गरेको थियो । मुगुको रारा, जुम्लाको चन्दननाथ, कनकासुन्दरी, सिँजा क्षेत्र, पाण्डव गुफा, कालीकोटको पचालझरना, तिलागुफा, चुलिकालिका, पुगमालिका, रुरुबन्चु पाटन, हुम्लाको कैलाश मानसरोवर, डोल्पाको फोक्सुन्डोलगायत पर्यटकीय स्थल पुग्न सडक मार्ग नै सहज माध्यम छ ।

तर हुम्ला र डोल्पामा अझै सडक पुगेका छैन । कालीकोट, जुम्ला र मुगु पुगेको सडक पनि भरपर्दो र सुरक्षित छैन । कर्णाली राजमार्गको राचुली, पिली भीर, मान्मको सुनार खोला, सेरिघाट, दैखोलालगायत ठाउँमा पिच नै नगरिएको नागरिक समाजका अगुवा मायाराम महताराले बताए । उनले कर्णाली आउने पर्यटकलाई अर्गानिक रातो चामल, रातो सिमी, फापर, कोदो उपहार दिने व्यवस्था मिलाउन पनि सरकारसँग माग गरे । सुर्खेतको बाङ्गेसिमलबाट सुरु भएर जुम्ला खलंगासम्म कर्णाली राजमार्गको दूरी दुई सय ३२ किमि छ ।

अझै बनेनन् पुल
कर्णाली राजमार्गअन्तर्गत ९ वटा निर्माणाधीन पुल अझै सम्पन्न भएका छैनन् । सबैभन्दा बढी कालीकोटमा ५, दैलेखमा ४ पुल ठेक्कापट्टा भएको वर्षौं भए पनि काम सकिएको छैन । कालीकोटको खल्लागाड पुल निर्माण सकिए पनि अझै केही काम बाँकी छ । छाप्रेमा पर्ने टाकुल्ला पुल ६ वर्षदेखि अलपत्र छ ।

दैलेखको आठबीसकोट नगरपालिकामा पर्ने घट्टेखोलामा वर्षा याममा सधैं यात्रुले दु:ख पाउने गर्छन् । दैलेखको जाक्सी खोला पुलको पनि अवस्था त्यस्तै छ । ढलान गर्न सेटिङ गरिएपछि कमसल खालका टेकाले गर्दा पुल पुरै भासिएको छ । पुलको ढलान हुन सकेको छैन । दैलेख खण्डमा पनि ६ वटा नयाँ पुल यस वर्ष निर्माण सुरु भएका छन् तर, काम सकिने ठेगान छैन ।

प्रकाशित : कार्तिक ९, २०७५ १०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?