सिँचाइ योजना अलपत्र
सल्यान — सिँचाइ योजना बीचैमा अलपत्र परेपछि ग्रामीण क्षेत्रका खेतीयोग्य जग्गा बाँझो हुन थालेका छन् । ठेकेदारको लापरबाहीले सिँचाइ योजना अलपत्र परेपछि किसानलाई जीविकोपार्जनमा समस्या भएको छ ।
सिँचाइ समस्याकै कारण स्थानीयवासी मजदुरीका लागि भारत जानुपर्ने बाध्यता भएको छ । छत्रेश्वरी गाउँपालिका ४ झिम्पेस्थित भुमकेज्युला, कारागिरी, बन्गाड कुपिण्डे नगरपालिकाका १ को देबस्थल–घाटगाउँ–बरेली, ढोडचौर गाउँपालिकाको बाँझकाडा सिँचाइ योजना लामो समयदेखि अलपत्र छन् ।
त्यस्तै शारदा नगरपालिकाको शीतलपाटी, कुमाख गाउँपालिकाको कालागाउँ, कालीमाटी गाउँपालिकाको हात्तीदमार र घुइँयाबारी सिँचाइ योजना अलपत्र परेपछि किसानलाई खेती गर्न समस्या भएको छ । पञ्चवर्षीय योजनाको रूपमा निर्माण सुरु गरिएको सिँचाइ योजना अलपत्र परेका कारण किसान समस्यामा परेका हुन् ।
आठ मझौला सिँचाइ योजना सम्पन्न नहुँदा करिब आठ सय हेक्टर खेतीयोग्य जग्गा पाखोबारीमा परिणत भएको छ । सिँचाइ समस्याको मारमा जिल्लाका करिब पाँच हजार घरधुरी छन् ।
२०४५ मा सुरु भएको देवस्थल–घाटगाउँ–सिँचाइ योजना ठेकेदारको लापरवाहीका कारण लामो समयदेखि अलपत्र छ । ठेकेदारले एक हजार मिटर नाला काटेर छोडेका थिए । चार किलोमिटर किलोमिटर लामो भुमकेज्युला सिँचाइ योजनासमेत एक हजार मिटर नाला काटेर अलपत्र पारिएको थियो ।
सिँचाई योजना अलपत्र परेपछि झिम्पे र त्रिबेणीको तीन सय हेक्टर जग्गा सिँचाइविहीन भएको स्थानीय हरिबहादुर बुढाथोकीले बताए । ‘झन्डै एक करोड खर्च भइसकेको योजना अलपत्र पर्दा पाँच सय घरधुरी किसानलाई बाली लगाउन समस्या भयो,’ उनले भने, ‘कतिपयका जग्गा बाँझै छन् ।’ सिँचाइ भए तीन बाली लगाउन सकिने खेतीयोग्य जग्गामा अहिले मकै र गहुँमात्र खेती गर्ने गरिएको उनको भनाइ छ ।
आर्थिक वर्ष २०६३/६४ मा सञ्चालित घुइँयाबारी सिँचाइ योजना ७५ प्रतिशत काम सकिएर अलपत्र परेको छ । त्यस्तै २०६१ मा सुरु भएको कालागाउँ सिँचाइ योजना एक वर्ष नबित्दै आएको बाढीले पुरिएको थियो । मर्मतका लागि स्थानीय किसानले विभिन्न निकायमा अनुरोध गरे पनि वेवास्ता भएपछि अलपत्र छ ।
सिँचाइ अलपत्र परेपछि किसान धान खेतमा मकै र गहुँबाली लगाउन बाध्य छन् । योजना अलपत्र परेपछि बाँझकाडाका नरबहादुर चलाउनेले तीन सय हेक्टर जग्गामा खेतीमा समस्या भएको बताए । उनका अनुसार योजनाको धेरै भाग पुरिएको छ । ‘आफ्नै जग्गामा उत्पादन भएको बालीले वर्षभरि खान पुग्ने किसान पसलबाट खाद्यान्न खरिद गरी ल्याउन बाध्य छन्,’ उनले भने, ‘घर परिवारको खाद्यान्नको जोहो गर्न अधिकांश किसानलाई मजदुरीका लागि भारत जानुपर्ने बाध्यता छ ।’
घाटा लागेको भन्दै ठेकेदारले सिँचाइ योजना अलपत्र पारेका हुन् । पञ्चवर्षीय योजनाको दोस्रो चरणका अधिकांश योजना अलपत्र परे पनि सरकारी निकायले ठेकेदारलाई कारबाही नगरेको देवस्थलका किसान दानबहादुर बुढाले बताए ।
‘सिँचाइको अभावमा खेती गर्ने जग्गा अन्य प्रयोजनमा प्रयोग भइरहेको छ,’ उनले भने, ‘योजना पुन: सञ्चालनका लागि बारम्बार माग गर्दै आए पनि सरकारी निकायले बेवास्ता गरिरहेका छन् ।’ उनले आफ्नै गाउँको पारिपट्टिको सुर्खेतको राकमका किसानले तीन बाली लगाउँदै आएकोमा आफूहरू एक बाली लगाउन नसक्ने स्थितिमा पुगेको बताए । उनका अनुसार आकाशेपानी पर्दामात्र बाली लगाउने गरिएको छ ।
सिँचाइ सवडिभिजन कार्यालयका निमित्त प्रमुख अमरसिं रावतले धेरै पुराना योजनाका बारेमा आफूलाई जानकारी नभएको बताए । उनले मर्मतका लागि थप बजेटको व्यवस्था हुन नसक्दा समस्या भएको जनाए । ‘सिँचाइ सुविधा नभएका गाउँमा सिँचाइ योजना निर्माणका लागि प्राथमिकीकरणको काम गरेका छौं,’ उनले भने, ‘त्यसबारेको प्राविधिक रिपोर्टसमेत माथिल्ला निकायमा पठाइएको छ, पास भएर आएपछि योजना निर्माणको कामले तीव्रता पाउँछ ।’
प्रकाशित : कार्तिक १०, २०७५ १०:०६